एक वर्षमा नेपालमा फिल्मले गरे डेढ अर्बको व्यापार, सर्वाधिक कमाउने नेपाली फिल्म कुन-कुन?

लक्ष्मी बलायर
२०८० साउन ५ गते १४:२२ | Jul 21, 2023
एक वर्षमा नेपालमा फिल्मले गरे डेढ अर्बको व्यापार, सर्वाधिक कमाउने नेपाली फिल्म कुन-कुन?


काठमाडौं। गत आर्थिक वर्ष नेपालमा १३५ चलचित्र प्रदर्शन गरिए। तीमध्ये ५७ वटा स्वदेशी र ७८ वटा विदेशी हुन्। विदेशी चलचित्रले ७९ करोड ४३ लाख ४ हजार र स्वदेशी चलचित्रले ७६ करोड ७२ लाख ५७ हजारको व्यापार गरेको तथ्यांक चलचित्र विकास बोर्डले सार्वजनिक गरेको छ।

Tata
GBIME

सबैभन्दा धेरै व्यापार गर्ने चलचित्र कुन कुन हुन् त ? बोर्डले सबैभन्दा धेरै व्यापार गर्ने चलचित्रको नाम रकमसहित सार्वजनिक गरेको छ।

स्वदेशी चलचित्रतर्फ सर्वाधिक व्यापार गर्ने चलचित्रको सूचीमा पहिलो स्थानमा ‘छक्का पञ्जा ४’ छ। यो चलचित्रले ६ लाख २९ हजार ७५० टिकट बिक्रीबापत १७ करोड ५२ लाख ९९ हजार रुपैयाँ उठाएको छ। चलचित्र हेमराज विसीले निर्देशन गरेका हुन्।

सर्वाधिक कमाइ गर्ने दोस्रो स्थानमा उपेन्द्र सुब्बाद्वारा निर्देशित चलचित्र ‘जारी’ छ। शनिबार प्रदर्शनको १०० दिन पूरा गर्ने चलचित्रले असार ३१ सम्म ६ लाख १९ हजार २२१ टिकट बिक्रीबापत १७ करोड १७ लाख ९९ हजार रुपैयाँ संकलन गरेको छ।

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको ‘प्रेमगीत ३’ सर्वाधिक कमाइ गर्ने सूचीमा तेस्रो स्थानमा छ। हिन्दी भाषामा समेत प्रदर्शन भएको यो चलचित्रले ९ करोड ९७ लाख ६५ हजार रुपैयाँ व्यापार गरेको बोर्डले जनाएको छ।

७ करोड ३८ लाख ९१ हजार रुपैयाँको व्यापारसहित प्रदीप भट्टराईले लेखन तथा निर्देशन गरेको ‘महापुरुष’ चौथो नम्बरमा छ। यो चलचित्रको २ लाख ४७ हजार ७२८ टिकट बिक्री भएको थियो।

दीपेन्द्र लामाले लेखन तथा निर्देशन गरेको ‘दुई नम्बरी’ ३ करोड ८४ लाख ७५ हजार रुपैयाँको व्यापारसहित पाँचौं नम्बरमा छ।

विदेशी चलचित्रतर्फ शाहरुख खान स्टारर ‘पठान’ ले १३ करोड २८ लाख रुपैयाँ कलेक्सन गरेको छ। हलिउड चलचित्र ‘अवतार: द वे अफ वाटर’ ले ८ करोड ३० लाख ६७ हजार रुपैयाँ कमाएको छ। भारतीय चलचित्र ‘ब्रह्मास्त्र’ ले ४ करोड ४७ लाख ५ हजार, ‘दृश्यम २’ ले ३ करोड ४७ लाख २६ हजार र ‘उचाई’ ले २ करोड ९४ लाख ७० हजार रुपैयाँ कमाएका छन्।