व्यवसाय सुनिश्चित भएपछि पुनर्बीमा कम्पनीको मनपरी, कमिसन घटाएपछि निर्जीवन कम्पनीको बहिष्कार



बिजमाण्डू
२०८० साउन ५ गते ०८:३५ | Jul 21, 2023
व्यवसाय सुनिश्चित भएपछि पुनर्बीमा कम्पनीको मनपरी, कमिसन घटाएपछि निर्जीवन कम्पनीको बहिष्कार

काठमाडौं। सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनीले जसरी पनि व्यवसाय पाउने भएपछि दिँदै आएको कमिसन घटाइदिएको छ। कम्पनीले कमिसन घटाएपछि निर्जीवन बीमा कम्पनीले साउन १ गतेबाट व्यवसाय दिन बन्द गरेका छन्।

Tata
GBIME
Zonsen

पहिले दिएको भन्दा निक्कै कमिसन कटौतीपछि पुनर्बीमा र निर्जीवन बीमा कम्पनीबीच द्वन्द्व सुरु भएको छ। निर्जीवन बीमा कम्पनीहरुले यसबारेमा अर्थमन्त्री डा. प्रकाश शरण महतलाई गुनासो सुनाउन खोजे पनि उनले वास्ता गरेनन्। त्यही भएर पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरुलाई पेल्न थालेको हो।

चालु आर्थिक वर्षको सम्झौता प्रस्तावमा दुबै पुनर्बीमा कम्पनीहरुले प्रत्यक्ष हिस्साको कमिसन दर १४ प्रतिशतसम्म घटाएको नेपाल बीमक संघको दाबी छ। 

पुनर्बीमा कम्पनीहरुले पोहोर सम्पत्ति बीमामा ३७.५० प्रतिशतसम्म दिँदै आएको कमिसन दर यसपालीबाट २५ प्रतिशतभन्दा बढी नदिने प्रस्ताव गरेको हुन्। 

तर संघले भने गत आर्थिक वर्षकै कमिसन दरमा आगामी बिहीबारसम्म सम्झौता नवीकरण नगरे स्वयं जोखिम व्यवस्थापन गर्ने चेतावनी दिएको छ। बिहीबार पत्र काट्दै संघले पुनर्बीमा सम्झौता करार भएको र करार एकतर्फी नहुने तर्क गरेको छ।  

पोहोर पुनर्बीमा कम्पनीले मोटर बीमाको ३० र २५ प्रतिशत कमिसनलाई यसपाली २० प्रतिशत प्रस्ताव गरेका हुन्। इञ्जिनियरिङ बीमाको २५ प्रतिशत कमिसनलाई १५ प्रतिशत र कृषि बीमाको १८ देखि २५ प्रतिशतसम्मको कमिसनलाई १५ देखि २२ प्रतिशतसम्म झार्ने प्रस्ताव गरेका छन्।

जसको विरोधमा नीर्जीवन बीमा कम्पनीहरुले नयाँ आर्थिक वर्षदेखि व्यवसाय पनि दिएका छैनन्।

‘कमिसन रेटमा नेगोसिएसन हुँदैछ। दुबै पक्ष राजी नभएसम्म नयाँ सम्झौता तयार हुँदैन। त्यतिबेलासम्म बिजनेस होल्ड छ,’ एक नीर्जीवन बीमा कम्पनीका उच्च पदाधीकारीले भने,’ कन्ट्याक्ट रिन्यू भएपछि भने साउन १ गतेदेखि कै गणना गर्न पाउँछन्।’