
काठमाडौं। आन्तरिक राजस्व विभागले गत आर्थिक वर्षमा लक्ष्यको ७७ प्रतिशत मात्र राजस्व असुली गरेको छ।
आयातमा नियन्त्रण, आयकरको सीमा वृद्धि, आर्थिक मन्दी र बैंकको ब्याजमा भएको वृद्धिले कारोबार पर्याप्त नहुँदा राजस्व असुलीमा असर परेको हो।
आन्तरिक राजस्व विभागका अनुसार, ६ खर्ब २८ अर्बको लक्ष्यमा ४ खर्ब ८१ अर्ब रुपैयाँ असुली भएको छ।
विभागका एक अधिकारीले संकलन सकिए पनि जिल्ला-जिल्लाबाट तथ्यांक आउने क्रम जारी रहेको बताए। उनले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को असुली बराबर २०७९/८० को असुली पुग्ने विश्वास व्यक्त गरे।
अघिल्लो आर्थिक वर्षमा विभागले ४ खर्ब ८३ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो।
विभागले गत आर्थिक वर्ष आयकरबाट २ खर्ब ४८ अर्ब, मूल्य अभिवृद्धि करबाट १ खर्ब १७ अर्ब, अन्तःशुल्कबाट १ खर्ब ४ अर्ब तथा स्वास्थ्य र शिक्षाबाट ९ अर्ब संकलन गरेको छ।
यता भन्सार राजस्वको पनि लक्ष्य पुरा भएको छैन। भन्सार विभागले गत आर्थिक वर्षमा ३ खर्ब ९२ अर्ब रुपैयाँ मात्र राजस्व संकलन गरेको छ।
विभागलाई ६ खर्ब ६८ अर्ब राजस्व संकलनको लक्ष्य दिइएको थियो। विभागले लक्ष्यको ६० प्रतिशत मात्रै राजस्व उठाएको हो।
विभागका महानिर्देशक शोभाकान्त पौडेलले आयात प्रतिबन्ध र केही वस्तुमा कर छुट दिँदा राजस्व असुली कम भएको बताए।
‘विदेशी मुद्रा सञ्चिति घटेपछि आयात प्रतिबन्ध लाग्यो। त्यसबाट धेरै राजस्व उठ्ने गाडीको आयात हुन सकेन,’ उनले बिजमाण्डूसँग भने, ‘फलाम लगायतका केही वस्तुको कर पनि घटाउँदा त्यसको प्रत्यक्ष प्रभाव पनि पर्यो।’
आयात प्रतिबन्ध र आर्थिक मन्दीका कारण सवारी साधनको बिक्रीमा भारी गिरावट आएको छ। आर्थिक मन्दीका कारण विभिन्न गाडी बिक्रेता कम्पनीले ल्याएका सवारी साधन भन्सार यार्डमा थन्किएर बसेका छन्।
स्रोतका अनुसार, तीन तहको निर्वाचनका कारण चोरी पैठारी पनि अस्वभाविक रुपमा बढ्यो। केही वस्तुको आयात हेर्दा नै चोरी पैठारी कुन हदसम्म बढेको छ भन्ने स्पष्ट हुन्छ।
चिनीको आयात अघिल्लो आर्थिक वर्ष ९६ हजार टन भएको थियो। तर, गत आर्थिक वर्षमा घटेर २६ हजार टन भएको छ।
गत वर्ष स्वदेशी उद्योगबाट चिनीको उत्पादन बढेको तथ्यांक पनि देखिँदैन। विभागका एक कर्मचारीका अनुसार चामल भन्दै चिनी आयात गरेर ल्याएको हुनसक्ने अनुमान छ।
‘चिनीमा ३० प्रतिशत भन्सार छ। आयातकर्ताले चिनीको ठाउँमा चामल ल्याए। चामलमा १० प्रतिशत मात्रै भन्सार छ,’ विभागका ती कर्मचारीले भने, ‘चिनीबाट मात्रै ४०/५० करोड राजस्व गुमेको छ।’
उनका अनुसार चामलजस्तै गरेर धेरै सामान आयात भएको अनुमान विभागले गरेको छ।
‘चुनावताका कर्मचारीकै मिलेमतोमा यस्ता धेरै काम भएका छन्। यसले राजस्वमा गम्भीर असर गरेको छ,’ उनले भने, ‘अहिले त्यो भ्वाङ टाल्ने काम भइरहेको छ।’ ती कर्मचारीका अनुसार भन्सारमा परेको भ्वाङकै कारण आन्तरिक राजस्वमा पनि परेको हो।
‘भन्सारमा कडाइ नहुँदा त्यसको असर आन्तरिक राजस्वमा पनि पर्यो। यसरी भ्वाङ नपरेको भए आन्तरिक राजस्वसँगै गैरकर लगायतले राजस्वको लक्ष्य नजिक पुग्न सकिन्थ्यो,’ उनले भने, ‘राजस्व प्रशासनका लागि गत आर्थिक वर्ष सबैभन्दा कालो वर्ष हो।’