
काठमाडौं। बिजमाण्डू प्रालिले संचालनमा ल्याएको सामाजिक राजनीति केन्द्रित समाचार साइट पहिलोपोस्टडटकम प्रकाशन स्थगित भएको छ।
अबदेखि पहिलोपोस्टमा प्रकाशन हुँदै आएका सामाग्रीहरु बिजमाण्डू डटकममै पढ्न सकिनेछ।
बिजमाण्डू प्रालिका प्रमुख कार्यकारी अधिकृत ओम थापाले एउटै मिडिया हाउसबाट दुई फरक समाचार अनलाइनभन्दा एउटै प्रकाशनबाट बहुआयामिक सामाग्री उपलब्ध गराउने उद्देश्यले यो निर्णय लिएको जानकारी दिए।
पहिलोपोस्टमा आबद्ध सबै पत्रकार तथा कर्मचारीहरु बिजमाण्डू प्रालिमा नै रहेर काम गर्ने उनले बताए।
प्रमुख कार्यकारी अधिकृत थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ -‘हुर्कँदो नेपाली अनलाइन पत्रकारितामा पहिलोपोस्टको योगदान के रह्यो यहाँहरुले मूल्यांकन गर्नु नै हुनेछ। हाम्रा समाचार सामाग्रीमा ताली र कमजोरीमा गाली दिने सबैप्रति हामी कृतज्ञ छौं। पहिलोपोस्टका संस्थापक सम्पादक उमेश श्रेष्ठसहित यसमा जोडिनु भएका सबै पत्रकार साथीहरुप्रति यहाँहरुको योगदानको उच्च मूल्यांकन गर्दै धन्यवाद प्रकट गर्दछ। ‘