
ट्वीटरको व्यापार ५० प्रतिशतले घटेको यसका मालिक इलन मस्कले बताएका छन्। उनले ट्वीट गर्दै विज्ञापनको कारोबार ५० प्रतिशतले खस्किएको सार्वजनिक गरेका हुन्। ट्वीटर अझै पनि नेगेटिभ क्यास फ्लोमा रहेको उनले बताए।
ट्वीटरमा एक फलोअरले आफूलाई दिएको सुझावको उत्तर दिँदै मस्कले ट्वीटको व्यवसायमा गिरावट आएको खुलासा गरेका हुन्।
टेस्लाका समेत मालिक रहेका विश्वकै धनाढ्यमध्ये एक इलनले ट्वीटर किनेदेखि नै विज्ञापनबाट प्राप्त हुने आम्दानी घट्न थालेको थियो। विज्ञापनदाताहरु ट्वीटरको कन्टेन्ट, कर्मचारी कटौती तथा यसको भविष्यलाई लिएर देखिएको अनिश्चितताप्रति धेरै नै सशंकित थिए।
गत अप्रिल १ देखि मेको पहिलो सातासम्म अमेरिकाभित्रैबाट प्राप्त हुने विज्ञापन वापतको आयमा पनि अघिल्लो वर्षभन्दा ५९ प्रतिशत घटेको तथ्यांकले देखाएको छ। मस्कले ट्वीट किन्नु अघि कायम एक हजार प्रमुख विज्ञापनदाताहरुमध्ये हाल ४३ प्रतिशतले मात्र यसमा विज्ञापनलाई निरन्तरता दिएको गत अप्रिल महिनाको तथ्यांकले देखाएको छ।
मस्कले भने- ‘यो वास्तवमै एकदमै कठिन अवस्थामा छ। खासगरी हाम्रो आम्दानी आधाले नै घटेको छ। ब्रेक इभनमा पुग्नका लागि पनि हामीले निकै कडा संघर्ष गर्नुपर्ने देखिन्छ।’
मेटाको थ्रेडले सार्वजनिक भएको एक साता नबित्दै १० करोड प्रयोगकर्ता पाइसकेको अवस्थामा ट्वीटरको लागि अझै दबाब बढाइदिएको छ।
मस्कले हाल ट्वीटरको लागत कटौती तथा आम्दानीको स्रोत बढाउने उपायहरु खोजिरहेको समेत बताएका छन्।