बर्सेनि डुबानको समस्या भोग्ने मोरङका उद्योगमा चार दिनदेखि पानी पर्दा पनि पसेन भेल

अनन्तराज न्यौपाने
२०८० असार २९ गते १९:०० | Jul 14, 2023
बर्सेनि डुबानको समस्या भोग्ने मोरङका उद्योगमा चार दिनदेखि पानी पर्दा पनि पसेन भेल


विराटनगर। चार दिनयता निरन्तर वर्षा भइरहे पनि मोरङ र सुनसरीका अधिकांश उद्योगहरू सुरक्षित चलिरहेका छन्।

Tata
GBIME

उद्योगीले विगत वर्षका वर्षा र त्यसको असरको अनुभवबाट आवश्यक पूर्वतयारी गरेका कारण धेरै उद्योगमा भेल पस्न नपाएको हो। दुई वर्षअघि २०७८ कात्तिक १ देखि ३ गतेसम्म अविरल झरी पर्दा मोरङ-सुनसरीका अधिकांश उद्योग जलमग्न भएका थिए।

त्यस बेला उद्योग संगठन मोरङले गरेको सर्वेक्षणमा ४१ वटा ठुला उद्योगमा भेल पसेको थियो। जसबाट ७ दिनसम्म २७ वटा उद्योगको, २ हप्तासम्म ७ वटाको र ४ हप्तासम्म ३ वटा उद्योगको उत्पादन अवरूद्ध भएको थियो।

चार उद्योगको उत्पादन पुनः सुरु हुन चार हप्ताभन्दा बढी समय लागेको थियो। त्यो बेला मिलमेसिनरी, कच्चा पदार्थ र तयारी वस्तु गरी २ अर्ब ५० करोडको क्षति भएको थियो।

उद्योग संगठनका महानिर्देशक चूडामणि भट्टराई यस पटकको बर्खाको सबै विवरण आउन बाँकी रहेको उल्लेख गर्दै मोरङ र सुनसरीमा गरी बढीमा १० वटा उद्योगमा उत्पादन रोकिएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको जानकारी दिए। ‘दुई वर्षअघिको त्यो बाढीबाट हामीले धेरै सिक्यौं,’ क्वालिटी ग्रुपका सञ्चालक एवम् संगठनका उपाध्यक्ष विपिन काबराले भने, ‘सरकारको मुख ताकेर केही नहुने रहेछ, आफ्नो सुरक्षा आफैं गर्नुपर्ने रहेछ भन्ने ज्ञान पनि त्यही बेला प्राप्त भयो। त्यो कात्तिकको बाढीपछि सबै जसो उद्योगले पानीको व्यवस्थापन गरे।’

मोरङको कटहरीमा काबराको सञ्चालनमा एकै ठाउँ रहेका ३ उद्योग क्वालिटी आयल, क्वालिटी केम (साबुन उद्योग) र क्वालिटी थाई फुड्स (चाउचाउ र स्न्याक्स उद्योग)भित्र हरेक वर्षामा भेल पसेर उत्पादन रोकिने गरेको थियो। तर यस पटकको वर्षाले यी तीन वटै उद्योगलाई असर गरेको छैन।

त्यस्तै सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्समा पनि उत्पादनको कार्य रोकिएको छैन। यसअघि २०८० को भेलले यस उद्योगभित्र ठूलो क्षति पुर्‍याएको थियो। रिलायन्सका प्रबन्धक महेश पोखरेलले भने, ‘उद्योग परिसरभित्र पानी पसेको छ तर कारखानाभित्र छिर्न पाएको छैन। ठूलो झरी निरन्तर भइरह्यो भने चाहिँ के हुन्छ भन्न सकिन्न।’

राजकुमार गोल्छाको सञ्चालनमा रहेको अरिहन्त मल्टिफाइबर्स (जुट उद्योग) पनि ठूलो पानी परेपछि टेङ्ग्रा खोलाको पानी पसेर समस्याग्रस्त हुँदै आएको थियो। यस पटक आँगनमा पसे पनि कारखानाभित्र छिरेको छैन। खनारमा रहेको बाबा फ्लोर मिल (मैदा उद्योग) मा भने भेल पसेर तयारी र कच्चा पदार्थलाई क्षति गरेको छ।

‘बाबा फ्लोरमा कहिल्यै पानी पसेको थिएन’, उद्योगका सञ्चालक भावेश राठीले भने, ‘तर यस पटक अनायास पस्यो। हामीले यस्तो होला भनेर सोचेका नै थिएनौँ।’ सञ्चालक राठीले कतिको क्षति भएको भन्ने विवरण अहिले नआएको बताए।

त्यस्तै एसियन थाई फुड्स, एसियन बिस्कुट, पशुपति खाद्यतेल उद्योग, पायनियर वायर, प्रिमियर वायर, स्वस्तिक रोलिङ, स्वस्तिक प्लास्टिक, स्वस्तिक राइस, पशुपति आइरन, क्वालिटी बिस्कुट, हिमगिरि सोप, आरती स्ट्रिप्स, हुलास वायर, प्रिमियर स्टिल, आरती स्ट्रिप्स लगायतका ठुला उद्योग पनि हालसम्म भेलको समस्यामा परेका छैनन्।

नेपाल उद्योग परिसंघको कोशी प्रदेशका उपाध्यक्ष नबलकिशोर काबराको भनाइ छ, ‘सुनसरी करिडोरका उद्योगहरूमा राजमार्गपूर्वका उद्योग बढी जोखिममा छन्। किनकि उद्योग र राजमार्गका माझमा टेङ्ग्रा नदी बगेको छ। अहिले जोगबनी–धरानको राजमार्गलाई अग्लो पारेर ६ लेनमा विस्तार गरिएकाले टेङ्ग्राको पानीले सडक पार गर्न सक्तैन। त्यसैले राजमार्गपूर्वका उद्योगहरू हरेक वर्षामा त्रासमा हुन्छन्।’

कटहरी क्षेत्रको वाग्मती आयलको कारखानामा पानी पसेको उद्योगका सञ्चालक मनोज तापडियाले बताए। ‘ठूलो पानी परेका बेला उद्योगभित्र छिर्छ’, तापडियाले भने, ‘सफा गर्न ३/४ घण्टा लाग्छ। सफा गरेर उद्योग चलायो फेरि पानी पसिहाल्छ।’
कटहरीमा लोटस इन्डस्ट्रीबाट प्लास्टिकका फर्निचरहरूको उत्पादन गरिरहेका साकेत राठीले उद्योगभित्र पानी पसिसके पनि कारखानाभित्र नछिरेको जानकारी दिए।

‘राजमार्गको विस्तार गर्दा नै गल्ती’
उद्योग संगठनका महानिर्देशक भट्टराईका अनुसार औद्योगिक क्षेत्र भएका ठाउँमा राजमार्गको विस्तार गर्दा नै अर्बौं लगानीका उद्योगलाई जोखिममा पार्ने काम गरिएको छ।

भट्टराईले राजमार्गको विस्तार गर्दा एकीकृत विकासको अवधारणा अपनाइएको भए बस्ती र औद्योगिक क्षेत्र जोखिममा पर्दैनथ्यो भन्ने धारणा राखे।

‘दसौं-बिसौं वर्षदेखि चलेका उद्योगहरूलाई अत्यन्त तल पारेर राजमार्ग अग्लो बनाउने काम भएको छ,’ भट्टराईले भने, ‘यसका कारण उद्योगभित्रको पानी सडकको नालामा निकाल्न सकिएको छैन र बाहिरको पानी उद्योग परिसरभित्र पसिरहेको छ। यो समस्या हुलाकी राजमार्ग रहेको कटहरी औद्योगिक क्षेत्र र ६ लेनको सडक भएको जोगबनी–धरान राजमार्गका दायाँबायाँका उद्योगलाई परेको छ। तर न स्थानीय तह, न प्रदेश वा संघीय सरकार कसैले केही गरेका छैनन्। उद्योगहरू पानीको व्यवस्थापन आफैँ गरेर चलिरहेका छन्।’

पहिलेदेखि नै चलिरहेका उद्योगलाई अब नयाँ बनेको राजमार्गभन्दा अग्लो बनाउन असम्भव भएको उनले बताए। ‘राजमार्गको विस्तार गर्दा वरपरका उद्योगको सुरक्षालाई पनि ध्यान दिइयोस् भनेर संगठनले बारम्बार भनेको हो तर सम्बन्धित निकायले कहिल्यै सुनेन,’ उनले भने।