नाफा बुक गर्न कारोबारी सक्रिय, ब्याजदरको कार्टेल अन्त्य हुँदा पनि छैन सेयर बजारमा रौनक

बिजमाण्डू
२०८० असार २८ गते १५:४१ | Jul 13, 2023
नाफा बुक गर्न कारोबारी सक्रिय, ब्याजदरको कार्टेल अन्त्य हुँदा पनि छैन सेयर बजारमा रौनक


काठमाडौं। बिहीबार बैंकर्स संघले लामो समयदेखि ब्याजदरमा गर्दै आएको कार्टेलिङ अन्त्य गर्ने भएपनि सेयर बजारले भने नकारात्मक प्रतिक्रिया दिएको छ।

Tata
GBIME

अघिल्लो दिन कार्टेलिङ बन्द हुने चर्चामा २१ सय विन्दु नजिक पुगेको नेप्से सूचक बिहीबार २०८५ मा सीमित छ। त्यसैगरी हिजो फराकिलो फड्को मारेको जलविद्युत समूह आज दुई प्रतिशत घट्यो। प्राय सबै समूहमा भारी गिरावट आएको छ।

बैंकहरुले साउनदेखि भने प्रतिस्पर्धी ब्याजदर सार्वजनिक गर्नेछन्। निक्षेप अथवा कर्जाको ब्याजदरमा तीव्र प्रतिस्पर्धा हुन्छ। यसले गर्दा कर्जाको लागत सस्तो हुने बैंकमा ऋणी र मुद्दती दर धेरै हुने बैंकमा निक्षेपकर्ताको आकर्षण हुन्छ। 

यसले ग्राहकको रोजाइमा विविधता आउँछ। नभए कार्टेलिङका कारण यसअघि सबैले एकै दरमा कर्जा र निक्षेप उपलब्ध गराउँदै आएका थिए। तर सेयर बजारले भने यसबारे सकारात्मक संकेत दिएन। बजारमा दोहोरो अंकको गिरावट हुँदा समेत कारोबार सवा ३ अर्ब नाघेको छ। 

यसबीच नजिकिएको मौद्रिक नीतिले गर्दा अन्योलता बढेकाले भएको नाफा बुक गरेर ढुक्क बस्ने रणनीतिमा कारोबारी देखिन्छन्। पछिल्ला प्रत्येक वृद्धिमा प्रोफिट बुकिङ भइरहेको छ।