शैक्षिक परामर्श संघ इक्यानको चुनाव नजिकिँदै: अध्यक्षमा को-को भिड्दैछन् ?

बिजमाण्डू
२०८० असार २७ गते १८:३२ | Jul 12, 2023
शैक्षिक परामर्श संघ इक्यानको चुनाव नजिकिँदै: अध्यक्षमा को-को भिड्दैछन् ?

काठमाडौं। शनिबार नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को नयाँ नेतृत्वको लागि चुनाव हुँदैछ। इक्यानको निर्वाचन नजिकिएसँगै आकांक्षीहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

पूर्वअध्यक्ष विष्णुहरि पाण्डे आफैं नेतृत्वमा दोहोरिने दाउमा छन्। शेषराज भट्टराई, कृष्णहरि केसी र देविदास भट्टराईले पनि अध्यक्षका लागि प्रचार सुरु गरिसकेका छन्।

विष्णुहरि र शेषराज समूहसहित चुनावी मैदानमा उत्रिँदा देवीदास र कृष्णहरि भने अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारको रुपमा उठ्दै छन्। जसकारण यो निर्वाचनमा अध्यक्षका लागि विष्णुहरि र शेषराजबीच कडा भिडन्त हुने देखिन्छ। इक्यानका अनुसार यसपटकको चुनावमा देशभरबाट ४६८ जना प्रतिनिधिले भोट हाल्न पाउने छन्।

विष्णुहरिको समूहबाट उपाध्यक्षमा लक्ष्मण पौडेल, भुवनबहादुर क्षेत्री र प्रकाश श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। त्यसैगरि, महासचिवमा बासुदेव दाहाल, सचिवद्वयमा फिलिपकुमार डाँगी क्षेत्री तथा शिवप्रसाद त्रिपाठी, कोषाध्यक्षमा विनोदकुमार सुवेदी र सहकोषाध्यक्षमा हेमराज सिग्देल छन्।

सदस्यका लागि भने आशीष रायमाझी, सुरज सिलवाल, मञ्जित ढकाल, सतिन्द्र झा, शशीप्रसाद भट्टराई, साधना पुडासैनी, शिवप्रसाद अर्याल, शान्तकुमार शर्मा, श्रीराम गिरीले पाण्डे नेतृत्वको प्यानलबाट उम्मेदवारी दिने छन्।

यस्तै, वर्तमान उपाध्यक्ष शेषराज भट्टराई पनि प्यानलसहित अध्यक्ष पदको लागि प्रतिस्पर्धामा आएका छन्। उनी अर्बिट इन्टरनेसनल एजुकेसनका सीइओ समेत हुन्।

भट्टराईको प्यानलबाट उपाध्यक्षमा गीता सिवाकोटी, दयाराम थापा, श्रीराम पौडेल छन्। महासचिवमा भने दीपकराज भुषाल, सचिवमा भवनाथ हुमागाईँ, रत्न बहादुर भट्टाराई रहेका छन्। कोषाध्यक्षमा आशीष कार्की, सह-कोषाध्यक्षमा विकल्प राज पौडेलले चुनाव लड्ने छन्।

सुवर्ण बस्नेत, उमा खड्का, विजय कुमार बस्नेत, रमेश लुइँटेल, होमराज थापा, गोविन्द खनाल, विजयकुमार बस्नेत, वसन्त पाण्डे, राजेश श्रेष्ठ, मनोरथ साह भट्टराई समूहको सदस्यमा अटाएका छन्।

कसको एजेन्डा के?
विष्णुहरि अध्यक्षको दाबेदार उम्मेदवारको रुपमा छन्। यसअघि पाण्डेले २०७५/७६ मा इक्यानको अध्यक्ष पद सम्हालेका थिए। यसपटकको चुनावी एजेन्डामा नेपालको शिक्षा परामर्श व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने लक्ष्य राखेको सुनाउँछन् उनी।

‘हामीले अन्तर्राष्ट्रिय संघसंस्था र युनिभर्सिटीसँग काम गर्नुपर्ने भएकाले नेपालको छविलाई पनि ध्यान पुर्‍याउनुपर्छ। त्यसैले यसपटकको चुनावमा यो व्यवसायको शुद्धीकरणदेखि मर्यादित व्यवसाय स्थापित गर्नमा मेरो भूमिका रहनेछ,’ उनले भने।
नेपाललाई ‘एजुकेसन हब’ को रुपमा समेत विस्तार गर्ने योजना रहेको सुनाए उनले।

‘इक्यानले सन् २००९ देखि नै नेपाललाई एजुकेसन हब बनाउनुपर्छ भन्दै आइरहेको छ। सुरेन्द्र पाण्डे अर्थमन्त्री भएको बेला यो कुरा वाणिज्य नीतिमा समावेश पनि भएको थियो। तर, पछि कार्यान्वयनमा आउन सकेन। जसरी हामीले विदेशमा अध्ययनका लागि पठाइरहेका छौं। त्यसरी नै विदेशी विद्यार्थीहरुलाई पनि भाइसभर्सा नेपाल ल्याउन सकिन्छ। नेपाललाई एजुकेसन हब बनाउने लक्ष्यको कार्यान्वयन हाम्रो कार्यकालमा हुनेछ,’ पाण्डेले भने।

साथै विद्यार्थीले भोग्नुपरेको चर्को शुल्कदेखि हुण्डीको समस्याहरुलाई पनि आफूले न्यूनिकरण गर्ने उनको भनाइ छ।

‘इक्यान अन्तर्गतका सदस्यहरुले बढीमा ५ हजार अमेरिकी डलर (साढे ६ लाख रुपैयाँ) सेवा शुल्क रुपमा लिन पाउँछन्।त्योभन्दा बढी शुल्क उनीहरुले लिएको छ भने हामी कारवाही गर्ने ठाउँमा पुग्नेछौं। कन्सल्टेन्सीहरुले कुनै पनि विद्यार्थीको शुल्क बैंकबाट पठाउनुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘बैंकबाट शुल्क नपठाई अन्यबाट पठाउँदा विद्यार्थीलाई समस्या हुन्छ। हामीले बारम्बार परामर्शदाता र विद्यार्थीहरुलाई बैंकबाट शुल्क पठाउन अनुरोध गरेका छौं। यो कार्यकालमा पनि विद्यार्थीको हकहितको लागि काम गर्नेछौं।’

बुधबार साँझ नै पाण्डे समूहले चुनावी एजेन्डासहितको घोषणापत्र सार्वजनिक गर्दैछ। पाण्डेको बलियो प्रतिस्पर्धीका रुपमा रहेका शेषराज भट्टराईले पनि परामर्श व्यवसायलाई मर्यादित र व्यवस्थित बनाउने योजना रहेको बताए।

‘पहिलो योजना भनेको यो व्यवसायलाई मर्यादित र व्यवसायिक बनाउनु नै हो। त्यसमा धेरै त्यस्ता विषयवस्तुहरु छन् जो नेपालका कन्सल्टेन्सीहरुलाई सकरात्मक रुपमा रिफलेक्ट गराउन सक्छन्,’ भट्टराईले भने।

आर्थिक वर्ष २०७९/८० को जेठ मसान्तभित्र एक लाख जनाले विदेशमा पढ्नको लागि नो अब्जेक्शन सर्टिफिकेट (एनओसी) लिएको शिक्षा मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले बताए। अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२२ मा १ लाख १ हजार र सन् २०२३ मा ५३ हजार नेपाली विद्यार्थीहरु विदेश बाहिरिएको विभागका निर्देशक खिमराज भुषालले जानकारी दिए।