अनिल अम्बानीका कम्पनी एकपछि अर्को टाट पल्टिँदै, राफाल डिल गरेको कम्पनी पनि लिलामीमा

बिजमाण्डू
२०८० असार २७ गते ०९:४२ | Jul 12, 2023
अनिल अम्बानीका कम्पनी एकपछि अर्को टाट पल्टिँदै, राफाल डिल गरेको कम्पनी पनि लिलामीमा


विश्वकै धनाढ्यमध्येका एक भारतीय अर्बपति मुकेश अम्बानीका भाइ अनिलको अर्को कम्पनी पनि टाट पल्टिएको छ। एक समय विश्वकै शीर्ष १० अर्बपतिमध्येका अनिल अम्बानी लामो समयदेखि एकदमै खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन्।

Tata
GBIME

उनको पूर्वाधार, संचार, बिजुली, उत्पादन तथा आपूर्ति, बन्दरगाह, निर्माण तथा वित्त क्षेत्रका सबै कम्पनीहरु ऋणमा डुबेका छन् । उनका धेरै कम्पनीहरु निकै सस्तोमा बिक्री भइसकेको छ।

केही समयअघि मात्रै रिलायन्स क्यापिटलको लिलामी प्रक्रिया सुरु भएपछि अनिलको अर्को एक कम्पनी पनि टाट पल्टिने क्रममा पुगेको छ। अनिलको रिलायन्स नेवल एण्ड इन्जिनियरिङ लिमिटेड (आरएनईएल) टाट पल्टिन लागेको हो। यो अनिलको त्यही कम्पनी हो जसमार्फत अनिलले डिफेन्स सेक्टरमा लगानी सुरु गरेका थिए।

आरएनईएलको माउ कम्पनी रिलायन्स इन्फ्रास्ट्रक्चर हो। अनिल अम्बानी समूहले सन् २०१५ मा पीपावाब डिफेन्स एण्ड अफसोर इन्जिनियरिङ लिमिटेडलाई किनेर त्यसको नाम परिवर्तन गरेको थियो।

यस समूहले पहिलो सम्झौताको रुपमा बहुचर्चित राफाल फाइटर एयरक्राफ्ट डिल गरेको थियो। राफाल बनाउने कम्पनी दसाँ एभिएसनले सन् २०१७ मा अनिल अम्बानीको रिलायन्स एरोस्ट्रक्चर लिमिटेडलाई आफ्नो अफसेट साझेदार बनाएको थियो।

यसलाई लिएर भारतमा ठूलै विरोध पनि भएको थियो। मुख्यरुपमा विपक्षी दलहरुले अनिल अम्बानीका कम्पनीहरु धमाधम लिलाम हुने अवस्था बन्दै गर्दा रक्षासँग सम्बन्धित कारोबारका लागि किन सरकारले अनिलकै कम्पनीसँग ३० हजार करोड रुपैयाँको यति ठूलो सम्झौता गरिँदैछ भनेर प्रश्‍न उठाएका थिए।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्न लागेको फ्रान्स भ्रमणका क्रममा फेरि सेनाका लागि राफाल खरिद सम्झौता हुन सक्ने अनुमान भइरहेकै बेला अम्बानीको यसै प्रयोजनका लागि बनेको कम्पनी भने लिलामीमा गएको खबर सार्वजनिक भएको हो। यसअघि भारतले फ्रान्ससँग वायु सेनाका लागि ३६ वटा राफाल फाइटर एयरक्राफ्ट खरिद गरिसकेको छ।

भारतमा रक्षा सामाग्री खरिद प्रक्रियाको नियमानुसार विदेशी कम्पनीले रक्षा सम्झौता गर्दा भारतकै कुनै कम्पनीमा लगानी गर्नुपर्ने हुन्छ। यसमा प्रविधि हस्तान्तरण, पार्टपुर्जाको भारतमा निर्माण तथा स्थानीय स्तरमा रोजगारी सिर्जनाको समेत सम्झौता गर्नुपर्ने कानुन छ। यसै कानुनअनुसार फ्रेन्च कम्पनी दस्याले रिलायन्ससँग जोइन्ट भेन्चरका रुपमा यो डिल सुरु गरेको थियो। कम्पनीलाई दस्सा रियायन्स एरोस्पेस लिमिटेडको नामबाट सुरुवात भएको थियो, जसमा रिलायन्सको ५१ प्रतिशतको साझेदारी थियो। यसमा फ्रेन्च कम्पनी दस्साको ४९ प्रतिशत सेयर थियो।

कम्पनीले नागपुरको विशेष आर्थिक क्षेत्रमा फ्याक्ट्री पनि खोलेको थियो, जसमा चरणबद्ध तरिकाबाट लडाकु जहाजका पार्टपुर्जा उत्पादन गरिने भनिएको थियो।

तर, अनिल अम्बानीको कम्पनी रिलायन्स नेवल डिफेन्स एण्ड इन्जिनियरिङ पनि ऋणको दलदलमा फस्न पुग्यो। ऋण तिर्न नसकेपछि केही ऋणदाताहरुले कम्पनीलाई नेसनल कम्पनी अफ ल ट्रिब्युनलमा लगे। ट्रिब्युनलले पनि यसको लिलामीको प्रक्रियामा जान स्वीकृति दिइसकेको छ।

अब आरएनईएल लिलामीमा गएपछि यसको असर भारत फ्रान्सको ज्वाइन्ट भेन्चर कम्पनी दसा रिलायन्स एरोस्पेस लिमिटेडमा पनि पर्ने बताइएको छ।

बम्बे स्टक एक्सचेन्जका अनुसार सन् २०२३ को मार्चसम्ममा आरएनईएलमा प्रमोटर्स अर्थात अनिल अम्बानीको कुनै पनि  सेयर हिस्सा देखिँदैन जबकी यसमा सरकारी बीमा कम्पनी एलआइसीको ७.९३ प्रतिशत सेयर छ।

विदेशी संस्थागत लगानीकर्तासँग ०.५ प्रतिशत सेयर छ भने बाँकी सेयर सर्वसाधारणसँग छ। कम्पनी लिलामीमा गएपछि सबैभन्दा धेरै घाटा सर्वसाधारण तथा एलआईसीलाई हुन जान्छ।

ज्वाइन्ट भेन्चरमा लगभग दुवै कम्पनीको लगानी बराबरजस्तो छ। यस्तोमा दसाँले आफ्नो सेयर लगानी गर्न सक्छ भने अनिल अम्बानीको सेयरबारे के हुन्छ भन्ने प्रश्‍न उठेको छ।

यतिबेला अनिल अम्बानीको नेटवर्थ शून्य छ। उनी आफैं टाट उल्टिएको अवस्थामा छन् यसकारण कुनै पनि ऋण चुक्ता गर्न सक्दैनन्। यस्तो अवस्थामा उनले राफाल खरिदका लागि बनेको ज्वाइन्ट भेन्चर कम्पनी कसरी संचालन गर्न सक्लान् भन्ने विश्लेषण भइरहेको छ। (बीबीसी हिन्दीबाट)