
काठमाडौं। दक्षिण कोरियाले १ अर्ब २५ करोड रुपैयाँ लगानीमा मध्यपुर थिमिमा १५० शैयाको अस्पताल बनाउने भएको छ।
मंगलबार अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदूतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिबहरूका लागि विश्वव्यापी स्वास्थ्य पहुँच पुर्याउन हिसाबले चिकित्सा सेवाको क्षमता अभिवृद्धि परियोजनाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो।
अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल र नेपालस्थित कोरियाली राजदूतावासका राजदूत महामहिम पार्क ते-योङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सह-सचिव कमलप्रसाद भट्टराई, मध्यपुरथिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठ, कोरिया अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको प्रतिनिधिहरुको समेत उपस्थिति रहेको अर्थ मन्त्रालयले जनाएको छ।
गुणस्तरीय अस्पताल व्यवस्थापन, संक्रमण नियन्त्रण र सुधारका लागि चिकित्सा पूर्वाधार, कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने र भक्तपुरमा विश्वव्यापी स्वास्थ्य पहुँचको लक्ष्य हासिल गर्ने योजना रहेको छ। जसमा सार्वजनिक स्वास्थ्य बीमा लक्ष्यका साथ कोइका मार्फत यो अस्पताल निर्माण गर्ने काम ५ वर्ष अर्थात सन् २०२७ सम्ममा पूरा हुनेछ।
यस योजनाका लागि ९.५ मिलियन अमेरिकी डलर अर्थात नेपाली १ अर्ब २५ करोड २६ लाख रुपैयाँ खर्च गरिनेछ। यो परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको सहकार्य र समन्वयमा कोइका, मध्यपुरथिमि नगरपालिका र नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले कार्यान्वयन गर्नेछन्।
कोइकाले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल छेउको जग्गामा १५० शैयाको अस्पताल निर्माण गर्ने, आवश्यक स्वास्थ्य उपकरण उपलब्ध गराउने र अस्पतालका मेडिकल तथा प्रशासनिक कर्मचारीको क्षमता विकास गर्नेछ। प्रभावकारी सेवा प्रवाहका लागि पुराना र नयाँ अस्पतालका भवनहरू आपसमा जोडिनेछन्।

हस्ताक्षर समारोहमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपालले कोरियाली सरकारको सहयोग स्वीकार गर्दै विगतका वर्षहरूमा कोरिया नेपालको निकै नजिकको विकास साझेदारका रूपमा विकास भएको बताउँदै दुई देशबीचको जनस्तरको सम्बन्धको प्रशंसा गरे।
सोही समारोहमा कोइकाका निर्देशक कोङ मूहओनले कोइकाले नेपालमा विभिन्न स्वास्थ्य परियोजनाहरू कार्यान्वयन गरेको र हरेक परियोजनाको आफ्नै विशिष्ट उपलब्धि रहेको बताए।
उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको दोस्रो चरणले सर्वसाधारण जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने र भक्तपुर लगायत आसपासका जिल्लाका गरिब तथा जोखिममा परेका जनतालाई विशेषीकृत स्वास्थ्य सेवामा सहज पहुँच हुने बताए।
त्यसैगरी, नेपालका लागि कोरियाली राजदूत पार्कले नयाँ अस्पताल सर्वसाधारणका लागि निकै उपयोगी हुने बताए। उनले परियोजनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सरकारको तर्फबाट पूर्ण सहयोगको अपेक्षा गरेको बताए। उनले नेपाल र कोरियाबीचको द्विपक्षीय कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठ मनाउन इच्छुक भएको बताए।