उडान गरेको ११ मिनेटभित्रै दुर्घटना: सबै ठिकठाक हुँदाहुँदै पनि कसरी भयो दुर्घटना ?

वसन्तराज उप्रेती
२०८० असार २६ गते १४:३८ | Jul 11, 2023
उडान गरेको ११ मिनेटभित्रै दुर्घटना: सबै ठिकठाक हुँदाहुँदै पनि कसरी भयो दुर्घटना ?


काठमाडौं। मनाङ एयरको ९एन-एएमभी कलसाइनको हेलिकोप्टर सुर्के-काठमाडौं उडान गरेको ११ मिनेटमै दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। प्राधिकरण अन्तर्गतको उद्धार समन्वय समिति (रेस्क्यु कोर्डिनेसन सेन्टर)ले गरेको अध्ययनअनुसार उडान गरेको ८ मिनेटमै उक्त हेलिकोप्टर टावरसँगको सञ्चार सम्पर्कविहीन भएको थियो।

Tata
GBIME

प्राधिकरणको प्रारम्भिक विवरणअनुसार, यो हेलिकोप्टरको दुर्घटना प्रकृति कन्ट्रोल फ्लाइट इन्टु टेरेन ‘सिफिट’ अन्तर्गत रहेको छ। यो भनेको मौसम एक्कासि प्रतिकूल भएर नियन्त्रण गुमाउनु र त्यही बखत दुर्घटना हुनु हो।

‘हेलिकोप्टर, पाइलट र उडान संचालन सबै ठिक हुँदाहुँदै पनि मौसमी प्रतिकूलताका कारण अप्ठ्यारो भूगोलमा गएर दुर्घटना भएको छ,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘यसको थप विवरण आउँदै छ, त्यसबाट कारणहरु अझ प्रष्ट हुनेछ।’

दुर्घटना भएको स्थान सुर्केबाट ७ मिनेटको दुरीमा रहेको उनले जानकारी दिए। लुक्लाको मौसम प्रतिकूल भइरहने कारण अधिकांश हेलिकोप्टर कम्पनीले सुर्केको हेलिप्याड प्रयोग गर्दै आएका छन्।

लुक्ला टावरले १०:१३ मा यो उडान ह्‍याण्डओभर गरेको थियो। तर, त्यसपछि दोस्रोपटक सम्पर्क भएन, त्यसले हेलिकोप्टर सम्पर्कविहीन भएको पुष्टि गरेको थियो।

‘हामीले एरिया कन्ट्रोल ट्रान्सफरअन्‍तर्गत टीआइएलाई ट्रान्सफर गरेका थियौं। त्यसलगत्तै हेलिकोप्टर सम्पर्कविहीन भएको थियो,’ लुक्लाको तेन्जिङ हिलारी विमानस्थलका प्रमुख महेश श्रेष्ठले भने, ‘त्यसलगत्तै हामीले रामेछाप, फाप्लु लगायत क्षेत्रमा सर्च एण्ड रेस्क्यु गर्‍यौं। तर, केही पत्ता नलागेपछि आरसीसी (रेस्क्यु कोर्डिनेसन सेन्टर)मा सम्पर्क गरेका थियौं।’

प्राधिकरणका अनुसार यो हेलिकोप्टर करिब १२ हजार १ सय फीट उचाइमा रहेको लामजुरा पासको डाँडा ठोक्किएको थियो।

मनाङ एयरको दुर्घटनामा परेको हेलिकोप्‍टर १० वर्ष अगाडि भित्रिएको थियो। हेलिकोप्टर कमाण्ड गरेका वरिष्ठ क्याप्टेन चेतबहादुर गुरुङ अनुभवी पाइलट थिए।  

दुर्घटनामा सवार चालक र यात्रुसहित सबै ६ जनाको निधन भएको छ। घटनाको प्रारम्भिक अध्ययनका लागि प्राविधिक जनशक्ति नागरिक उड्डयन प्राधिकरणले घटनास्थलमा परिचालन गरिसकेको छ।