काठमाडौंमा असार ८ र ९ गते डिजिटल नेपाल कन्क्लेभसँगै मोबाइल नेपाल कंग्रेस आयोजना हुँदै

बिजमाण्डू
२०८० असार ५ गते ०८:५१ | Jun 20, 2023
काठमाडौंमा असार ८ र ९ गते डिजिटल नेपाल कन्क्लेभसँगै मोबाइल नेपाल कंग्रेस आयोजना हुँदै

काठमाडौं। आगामी असार ८ र ९ गते ‘हुवावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ आयोजना हुने भएको छ। आइसिटी फाउण्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभसँगै हुवावेले मोबाइल नेपाल कंग्रेस (एमएनसी) को पनि आयोजना गर्दैछ।

Tata
GBIME
Nepal Life

कन्क्लेभमा विभिन्न देशका आइसिटी विज्ञसहित ७० बढी स्रोत व्यक्तिको सहभागिता रहने जनाइएको छ। आयोजकका अनुसार कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढी सेसनहरु संचालन हुनेछ।

दुई दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिति रहनेछ। ‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारासहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको क्षमता र आवश्यक नीति र कार्यान्वयनमा जोड दिने आयोजकको भनाइ छ।

असार ८ गते उद्‍घाटन कार्यक्रममा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरुको चारवटा की-नोट र संचारमन्त्री रेखा शर्मासँगको पावर संवाद सेसन हुनेछ। यसैगरी पहिलो दिनको सेसनमा डिजिटल पूर्वाधार, डिजिटल आइडेन्टिटी र डिजिटल गभर्नेन्स सम्बन्धि सेसनहरु संचालन हुने आयोजकले जनाएको छ।

कन्क्लेभको दोस्रो दिन डिजिटल इनोभेसन र उद्यमशीलता, टेक स्टाक र डिजिटल सक्षमता, डिजिटल इकोनोमी र फिनटेक सक्षमताको सेसनहरु आयोजना गरिने बताइएको छ। यसैगरी कन्क्लेभमा डेटा गभर्नेन्स र डिजिटल सेक्युरिटी, डिजिटल लिडरसिप र डिजिटल सक्षमताको लागि अबको बाटो सेसनहरु संचालनको तालिका छ।

हुवावेले मिनी मोबाइल वर्ल्ड कंग्रेसको रुपमा मोबाइल नेपाल कंग्रेसको आयोजना गर्नेछ। सहभागीले फाइभजी, एआइसँगै नयाँ प्रविधिहरुको जानकारी मोबाइल कंग्रेसमा पाउने आयोजकको भनाइ छ।