राजस्व सिमराले वैशाखसम्म १२ अर्ब असुली गर्‍यो, ८०% राजस्व एउटै उद्योगबाट

बिजमाण्डू
२०८० जेठ २५ गते १५:२७ | Jun 8, 2023
राजस्व सिमराले वैशाखसम्म १२ अर्ब असुली गर्‍यो, ८०% राजस्व एउटै उद्योगबाट

वीरगंज। देशभरमा उत्कृष्ट पाँचौं नम्बरमा पर्ने आन्तरिक राजस्व कार्यालय, सिमराको राजस्व संकलन प्रभावित भएको छ । चालू आवको पछिल्लो १० महिनामा अर्थात वैशाख मसान्तसम्म आन्तरिक राजस्व कार्यालय, सिमराले पाएको लक्ष्यको तुलनामा करीब १०.६३ प्रतिशत कम राजस्व संकलन गरेको छ ।

Tata
GBIME
Nepal Life

कार्यालयले चालू आवको वैशाख मसान्तसम्म १३ अर्ब ० करोड ५५ लाख ७१ हजार राजस्व लक्ष्य पाएकोमा ८९.३७ प्रतिशत अर्थात् १२ अर्ब ३३ करोड ७९ लाख १ हजार मात्रै राजस्व संकलन गरेको छ ।

जबकी सो कार्यालयले गतवर्ष सोही अवधिमा रु १० अर्ब ३१ करोड ८२ लाख ९९ हजार लक्ष्य पाएकोमा लक्ष्यको १०२.३१ प्रतिशत अर्थात् १० अर्ब ५५ करोड ७१ लाख ५७ हजार राजस्व संकलन गरेको थियो ।

गत आवको १० महिनामा संकलित राजस्वभन्दा १६ प्रतिशतले अर्थात् रु १ अर्ब ७८ करोड ७ लाख ६१ हजार बढी राजस्व संकलन गरे तापनि चालू आवको राजस्व लक्ष्य नभेट्टाएको कार्यालयले जनाएको छ ।

गत आवभन्दा सरकारले दिएको लक्ष्य बढी आएको र आर्थिक तरलता बाराको पनि व्यवसायमा देखिएकोले लक्ष्य अनुसारको राजस्व संकलन हुन नसकेको कर अधिकृतहरुको विश्लेषण छ ।

कार्यालयले चालू आवको पछिल्लो १० महिनामा आयकरतर्फ ७१ करोड ४२ लाख ५९ हजार लक्ष्य लिएकोमा ६७.०४ प्रतिशत अर्थात् ४७ करोड ८ लाख २० हजार, घरबहाल करतर्फ २ करोड १२ लाख ४६ हजार लक्ष्य पाएकोमा ४१.५४ प्रतिशत अर्थात् ८ लाख २६ हजार संकलन गरेको छ।

यस्तै ब्याजकरतर्फ २ करोड ६४ लाख ६२ हजार लक्ष्य पाएकोमा ८४.०४ प्रतिशत अर्थात् दुई करोड २२ लाख ५० हजार राजस्व संकलन भएको थियो ।

त्यसैगरी मूल्य अभिवृद्धि करर्तफ ७४ करोड २४ लाख ३६ हजार लक्ष्य पाएकोमा ७१.४० प्रतिशत अर्थात् ५३ करोड १ लाख २१ हजार तथा अन्तशुल्क सबैभन्दा बढी ९ अर्ब ४३ करोड १६ लाख ३२ हजार लक्ष्य पाएकोमा ९.४२ प्रतिशत अर्थात् ८ अर्ब ४३ करोड ३९ लाख १७ हजार संकलन भएको छ।

स्वास्थ्य सेवा करतर्फ २ अर्ब ८६ करोड ९५ लाख १ हजार लक्ष्य पाएकोमा ९९.८१ प्रतिशत २ अर्ब ६ करोड ३९ लाख ८४ हजार गरी कुल १२ अर्ब ३३ करोड ७९ लाख १ हजार राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारीसमेत रहेका कर अधिकृत मनिष मानन्धरले बताए ।

सूर्य नेपाल सिमरामा भएकोले आन्तरिक राजस्व कार्यालय बाराको ८० प्रतिशतभन्दा बढी राजस्व एउटै उद्योगबाट उठ्ने गरेको छ । कार्यालयका सूचना अधिकारी मानन्धरका अनुसार आयकर, मूअकर, अन्तःशुल्क बक्यौता राख्ने बारा र रौतहटका १७९ करदाताको बैंक खाता रोकेर कारबाही गरिएको छ।

पटक–पटक ताकेता गर्दा पनि बक्यौता नबुझाएपछि करदाताहरुको बैंक खाता रोक्का, एवं भन्सार आयात–निर्यात रोक्का गरिएको उनले बताए । यसपश्चात् पनि बक्यौता कर नतिरे तीन पुस्ते, तथा घर जग्गा रोक्का प्रक्रिया अगाडि बढाउने आन्तरिक राजस्व कार्यालयको तयारी छ ।
यसैबीच गत साउनदेखि वैशाखसम्म  ७८३ व्यावसायिक एवं ३४६७ गरी कूल ४२५० जना नयाँ करदाता थपिएको आन्तरिक राजस्व कार्यालय, सिमरा बाराले जनाएको छ ।