विद्युतीयको कर बढाउँदा पेट्रोल गाडी सस्तो, हेर्नुस्, इभी र इन्धन गाडीको मूल्य फरक

शुक्र गिरी
२०८० जेठ २३ गते १८:२१ | Jun 6, 2023
विद्युतीयको कर बढाउँदा पेट्रोल गाडी सस्तो, हेर्नुस्,  इभी र इन्धन गाडीको मूल्य फरक


काठमाडौं। सरकारले इभीमा करको दर हेरफेर गर्दा विद्युतीय गाडीभन्दा पेट्रोल इन्जिन गाडी सस्तो भएको छ। इन्धन भर्न झन्झट नहुने भन्दै विद्युतीयमा आकर्षित भइरहेका सवारी प्रयोगकर्तालाई इन्ट्री लेबलका गाडीको मूल्य बढेको छ।

Tata
GBIME
Nepal Life

सरकारले करका दर चलाउँदा अटोमोबाइल बजारमा हाल उपलब्ध १०० किलोवाटसम्मका विद्युतीय गाडीहरुको मूल्य ४ लाखदेखि १० लाखसम्मले बढ्ने भएको छ। निटा भी, टाटाको नेक्सन इभी, हुन्डाईको कोना, एमजीको जेडएस , बीवाइडीको इ-६ र एटो-३ लगायतका गाडीहरुको मूल्य बढ्ने भएको हो।

सरकारले पेट्रोल गाडीमा भने कुनै कर थपघट गरेको छैन। जसका कारण इभीभन्दा पेट्रोल इन्जिन गाडी सस्तो हुने देखिएको छ। बीवाइडीको एटो-३, एमजीको जेडएस इभी र टाटाको इभी म्याक्ससँग प्रतिस्पर्धा रहेका कियाको सेल्टोस, हुन्डाईको क्रेटा, सुजुकीको ब्रेजा र निसानको किक्सहरुको मूल्य भने यथावत नै छ।

यसमा अहिले क्रेटाको मूल्य ५० लाखदेखि भेरियन्ट अनुसार ७८ लाख रुपैयाँसम्म छ। क्रेटा-ई प्रिमियम लोडेडको ५१ लाख ९६ हजार छ। टप भेरियन्टको मूल्य ७८ लाख ९६ हजार रुपैयाँ छ।

यसैगरी, यही गाडीसँग प्रतिस्पर्धा गरिरहेको कियाको सेल्टोसको मूल्य पनि ५३ लाख ९० हजारदेखि ८२ लाख ९० हजार रुपैयाँ छ। यस्तै सुजुकीको ब्रेजा नेपालमा भेरियन्ट अनुसार ४४ लाख ९९ हजारदेखि ५६ लाख २९ हजार रुपैयाँ पर्छ।

तर, अब यी गाडीहरुसँग प्रतिस्पर्धी विद्युतीय गाडीहरुको भने धेरै मूल्य बढ्ने भएको छ। यही लेभलका गाडी एमजीको १०० किलोवाट जेडएस इभीको मूल्य अहिले ४८ लाख ४९ हजारदेखि ५२ लाख ४९ हजार रुपैयाँ थियो।

यस्तै टाटाको नेक्सन इभी म्याक्सको मूल्य ४६ लाख ५० हजार रुपैयाँ कायम भएको थियो। करको दर हेरफेर सँगै यसको पनि ५ लाखसम्म मूल्य बढ्ने भएको छ। अब यसको मूल्य ५१ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरिएको छ।

तर सरकारले कर बढाएपछि यो गाडीको मूल्य ४ देखि ७ लाखसम्म बढ्दा सुरुवाती मूल्य नै ५५ लाख रुपैयाँ पुग्ने भएको छ। यसको टप भेरियन्टको मूल्य अब लगभग ६० लाख रुपैयाँ हाराहारी कायम हुने भएको छ। यसले गर्दा यसको प्रतिस्पर्धी कियाको सेल्टोस, सुजुकीको ब्रेजा र क्रेटाहरु धेरै सस्तो हुने भएका छन्।  

यसैगरी, अहिले ६५ लाखमा आउने बीवाइडीको एटो-३ को मूल्य अब ७३ लाख रुपैयाँ कायम हुने भएको छ। यसो हुँदा एटो-३ भन्दा क्रेटा र ब्रेजाहरु लगभग २३ लाखसम्म सस्तो पर्छ। हुन्डाईको क्रेटा ५० लाखदेखि मूल्यमा नेपालमा उपलब्ध छ। यस्तै सुजुकीको ब्रेजाको पनि टप भेरियन्ट ५६ लाख पर्ने भएकाले एटो-३ को मूल्य भन्दा यसको मूल्य १८ लाख रुपैयाँ सस्तो पर्न जान्छ।

यस्तै निसानको लिफको ६४ लाख ९९ हजार हुँदा किक्सको मूल्य लगभग १४ लाख सस्तो छ। यी गाडीहरुको फिचर पावरहरु सबै उस्तै छन्। निटा भीको मूल्य अहिले ३७ लाख ९९ हजार रुपैयाँ छ। तर, अब करको दरले लगभग ४ लाख रुपैयाँ मूल्य बढ्दा ४२ लाख रुपैयाँ पर्न जान्छ। यसो हुँदा यसको प्रतिस्पर्धी निसानको म्याग्नाइट र कियाको सोनेटको मूल्य भने यथावत हुने भएको छ। यी गाडीहरुबीच पनि २ लाखदेखि ८ लाख रुपैयाँसम्म पेट्रोल गाडी सस्तो हुने भएको छ।

किया सोनेटको सुरुवाती मूल्य ३९ लाख ९० हजार र निसान म्याग्नाइटको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ छ। यसैगरी, बजारमा उपलब्ध टाटाको नेक्सन इभीको मूल्य पनि बढ्ने भएको छ। यसको प्रतिस्पर्धी महिन्द्राको एक्सयुभी ३०० को मूल्य अहिले ४२ लाख ९५ हजार रुपैयाँबाट सुरु छ।

तर पहिला ३८ लाख ९९ हजारदेखि ४२ लाख ९९ हजार रुपैयाँ मूल्यमा आउने नेक्सन अब भने केही मूल्य बढ्दा ३९ लाखको गाडी ४३ लाखदेखि ४७ लाख रुपैयाँसम्म पर्ने भएको छ।

यसरी हेर्दा बजारमा भएका इभीहरुले पेट्रोल गाडीसँग प्रतिस्पर्धा गर्न कठिन भएको एक व्यवसायी बताउँछन्। ती व्यवसायीका अनुसार सरकारले इन्ट्री लेभलका इभीको करको दर बढाएर पेट्रोल र विद्युतीय गाडीको मूल्यमा धेरै ग्याप राखेको छ। ‘सरकारले इभी र पेट्रोल गाडीमा बढ्दै गएको यो ग्यापले नेपालमा विद्युतीय गाडीको बिक्रीमा कमी आउने अवस्था सृजना गरेको छ,’ ती व्यवसायीले भने, ‘नेपालमा गाडी किन्ने ग्राहकहरुलाई मूल्यले धेरै फरक पार्छ।’

नेपालमा अहिलेसम्म पेट्रोल गाडीको मूल्यमा यस्तो किसिमको उतारचढाब छैन। तर, पछिल्लो तीन वर्षमा सरकारले इभीको कर अस्थिर रुपमा हेरफेर गर्दा हुन्डाईको एउटै गाडीमा ३ चोटी मूल्य घटबढ भएको छ। यसले ग्राहकहरु विद्युतीय गाडीको करमा आश्वस्त बन्न सकेका छैनन्।