
काठमाडौं। मंगलबार बिहान काठमाडौं-धनगढी उडानका क्रममा प्राविधिक समस्या आएको श्री एयरलाइन्सको जहाज दिउँसो रिलिज भएको छ।
करिब ८० जना यात्रुसहित धनगढी उडान गरेको ९एन-एएनएफ कलसाइनको टर्बोप्रोप जहाजको ढोकामा ‘इन्डिकेशन’ आएपछि यो जहाज उडेको केही बेरमै काठमाडौं डाइभर्ट गरिएको थियो।
‘काठमाडौंबाट ३० नर्टिकल माइल उडान गरेको जहाजको ढोकामा इण्डिकेशन देखाए लगत्तै पाइलटले जहाज काठमाडौं डाइभर्ट गरेका हुन् ।’- कम्पनीका प्रवक्ता अनिल मानन्धरले भने,’ जहाज रिलिज भइसकेको छ।’
नेपाल उड्डयन प्राधिकरणको प्राविधिक टोलीले उक्त जहाजलाई निरीक्षण गरेपछि जटिल समस्या नभएको भन्दै रिलिज गरेको उनले बताए।
जहाज डाइभर्ट भएलगत्तै कम्पनीले करिब ८० जना यात्रुलाई अर्को जहाज व्यवस्था गरेर बिहानै धनगढी पठाइसकेको उनले जानकारी दिए।
‘ठूलो समस्या आएको छैन। सामान्य इन्डिकेशन आएपछि १३ हजार फिटमा उडान भइरहेको जहाजलाई डाइभर्ट गरिएको हो।’ प्रवक्ता मानन्धरले भने।
कम्पनीले क्यु-४००, सिरआरजे-२००, सिआरजे-४०० लगायत सिरीजको जहाजमार्फत देशका बिभिन्न गन्तब्यमा नियमित उडान अवतरण गर्दै आएको छ।