नयाँ ब्रोकर र स्टक डिलर थपिने भएपछि नेप्सेमा नयाँ सुपरिवेक्षण विनियमावली मस्यौदा

बिजमाण्डू
२०८० जेठ २३ गते १३:१० | Jun 6, 2023
नयाँ ब्रोकर र स्टक डिलर थपिने भएपछि नेप्सेमा नयाँ सुपरिवेक्षण विनियमावली मस्यौदा

काठमाडौं। नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स वितरण गर्न थालेपछि नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले पनि सदस्यता सुपरिवेक्षण विनियमावली बनाउने भएको छ।

Tata
GBIME
Nepal Life

सदस्यता तथा सुपरिवेक्षण विनियमावली-२०८० बनाउने भएको हो। ब्रोकर कम्पनी तथा स्टक डिलर कम्पनीलाई कसरी प्रभावकारी रुपमा मार्गदर्शन गर्ने भन्ने विषय समेटेर विनियमावली बनाइने भएको हो।  

कसरी सदस्यता दिने, ती संस्थालाई अनुगमन र गाइड कसरी गर्ने भन्ने विषय विनियमावलीले समेट्ने नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले बताए। ‘पहिले सदस्यता र कारोबारको विनियमावली एउटै थियो। अब दुइटा बन्ने भयो,’ उनले भने।

अहिले मस्यौदा भइरहेको विनियमावली २०५५ सालमा बनेको भन्दा निकै परिष्कृत र समय सुहाउँदा प्रावधानसहितको रहेको उनले बताए। ‘त्यतिबेला जम्मा २३ जना ब्रोकर थिए। स्टक डिलर भन्ने थिएन। साथै म्यानुअली कारोबार हुँदाको समयमा बनेको हो। तर अहिले अटोमेडेड सिस्टम हुँदा ब्रोकरहरु कसरी परिचालित हुने भन्ने कुरा नयाँ विनियमावलीमा उल्लेख गरिएको छ,’ पराजुलीले भने।

उक्त विनियमावलीको मस्यौदा बनिसकेकाले अब बस्ने नेप्सेको बोर्डले पारित गर्दै छ। हाल नेप्सेमा अध्यक्ष पद रिक्त छ। नयाँ नियुक्तीपछि मात्र विनियमावली पास हुने छ।

हाल नेप्सेले ब्रोकर तथा स्टक डिलर कम्पनीहरुका लागि धितोपत्र सदस्यता तथा कारोबार विनियमावली-२०५५ को आधारमा सदस्यता दिने, अनुगमन र सुपरिवेक्षण गर्दै आएको छ।

अध्यक्ष नहुँदा ब्रोकरलाई सदस्यता दिने काम रोकिएको हो?

नेप्सेमा २०७८ जेठमा तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि अर्थमन्त्रालयले दीर्घराज मैनालीलाई जिम्मेवारी दिएको थियो। उनीपछि चक्रबहादुर बुढालाई जिम्मेवारी दियो। उनी हाल पर्यटन मन्त्रालय सरुवा भइसकेका छन्।

अर्थबाट तालुकदार मन्त्रालय पर्यटन भएपछि उनी नेप्सेको अध्यक्षको काममा फर्कने बाटो बन्द भएको छ।

उनको ठाउँमा अर्थले अहिलेसम्म नयाँ अध्यक्ष पठाएको छैन। अध्यक्ष नहुँदा नेप्सेका काम कारबाही प्रभावित भएको छ। अध्यक्ष नभएकाले गत वैशाख २६ पछि बोर्ड बैठक नै भएको छैन।  

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुली भने अध्यक्ष नहुँदा सदस्यता दिने काम प्रभावित नभएको बताउँछन्। सदस्यता नम्बर दिनु पूर्व निरीक्षणका कामहरु गर्नुपर्ने र त्यतिन्जेलसम्म नयाँ अध्यक्ष पनि आइसक्ने विश्वास उनले व्यक्त गरे।

‘सदस्यताका लागि पहिलोपटक लाइसेन्स प्राप्त गरेका सातैवटा ब्रोकरले निवेदन दिएका छन्। अरु अब थपिदै जान्छन् होला,’ उनले भने,’डकुमेन्टको पाटो र पूर्वाधार निरीक्षण गर्ने थुप्रै कामहरु गर्न समय लाग्छ। यी काम सक्दासम्म अध्यक्ष आइसक्नु हुन्छ।’

हाल धितोपत्र बोर्डबाट पहिलो चरणमा ब्रोकरको लाइसेन्स प्राप्त गरेका सात ब्रोकर कम्पनीहरुले सदस्यताका लागि निवेदन दिएका छन्।

नेप्सेका अनुसार भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज, हिमालयन ब्रोक्रेज लिमिटेड, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेप्रो सेक्युरिटिज र प्रोपर्टी सेक्युरिटिजले निवेदन दिएका हुन्।