
काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीतिको तयारी सुरु गरेको छ। सरकारले गत जेठ १५ गते आगामी बर्षको बजेट सार्वजनिकपछि राष्ट्र बैंकले पनि मौद्रिक नीतिको तयारी थालेको हो।
बजेटमार्फत सरकारले लिएको नीतिलाई अगाडि बढाउन मौद्रिक पक्षबाट सहयोग गर्ने काम मौद्रिक नीतिले गर्छ। सरकारले ६ प्रतिशतको आर्थिक बृद्धि लक्ष्य राखेको छ। यसका लागि आवश्यक सहयोग मौद्रिक पक्षबाट राष्ट्र बैंकले गर्नु पर्छ।
राष्ट्र बैंकले आम सर्वसाधारण तथा सरोकारवालासँग सुझाब संकलन लिन थालेको छ। उसले असार १० गतेभित्र आफ्नो सुझाव उपलब्ध गराउन आह्वान गरेको छ। सुझाबहरु आरुथिक अनुसन्धान विभागमा पठाउनु पर्ने हुन्छ।
यद्यपी यो सुझाब कर्मकाण्डी हो। राष्ट्र बैंकको गभर्नर र त्यहाँका उच्च अधिकारीलाई के लाग्छ त्यही आधारमा मौद्रिक नीति तर्जुमा हुने गरेको छ। मौद्रिक नीतिसँग प्रत्यक्ष सरोकार राख्ने बैंकरकै मागसमेत राष्ट्र बैंकले समेट्ने गरेको छ। पछिल्ला समीक्षाहरुमा बैंकरले सुझाबसमेत दिन छाडेका थिए।
राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्ने सम्बन्धि एक कार्यविधि बनाएको छ। त्यस अनुसार साउन ७ गतेभित्र उसले मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ।