विदेश घुम्‍न जाँदा ५ प्रतिशत कर कसले तिर्नुपर्छ ? यस्तो छ बजेटले गरेको व्यवस्था

उन्नत सापकोटा
२०८० जेठ १९ गते १२:३७ | Jun 2, 2023
विदेश घुम्‍न जाँदा ५ प्रतिशत कर कसले तिर्नुपर्छ ? यस्तो छ बजेटले गरेको व्यवस्था


काठमाडौं। बजेटमा विदेश घुम्न जाने नेपालीले ५ प्रतिशत कर तिर्नुपर्ने प्रावधान आएको छ। यो प्रावधानपछि धेरैमा अन्योल थपिएको छ। के विदेश घुम्न जाने सबैले कर तिर्नैपर्छ?

Tata
GBIME
Nepal Life

आन्तरिक राजस्व विभागले भने विदेश जाने सबैलाई नभइ केहीलाई मात्रै उक्त करले दायरामा ल्याउने जनाएको छ। विभागका महानिर्देशक दीर्घराज मैनालीले टुर एण्ड ट्राभल कम्पनीबाट प्याकेज किनेर जाने नेपालीले ५ प्रतिशत कर तिर्नुपर्ने बताए। उनले छिमेकी भारतमा समेत यो शीर्षकमा १४ प्रतिशतसम्म कर लाग्‍ने बताए।

‘वैदेशिक पर्यटन शुल्कको रुपमा भारतमा १४ प्रतिशतसम्म कर लाग्‍छ। विभिन्‍न कम्पनीहरुले करोडौं रुपैयाँ खर्च गरेर आफ्नो डिलर र कर्मचारीहरुलाई टुर प्याकेज खरिद गरेर घुम्‍न लगिरहेका छन्। त्यसमा हामीले ५ प्रतिशत लगाएका हौं। हामीले गलत ढंगले कहाँ ट्याक्सेसन गरेको छ र। सकेसम्म हामीले फेयर र इक्‍विटी हेरेरै यसलाई ल्याएका छौं,’ मैनालीले भने।

प्याकेज किनेर जाने व्यक्ति वा कर्पोरेट कम्पनीले ५ प्रतिशत कर तिर्नुपर्छ। विभिन्न कम्पनीले आफ्ना डिलरलाई विदेश घुमाउन लैजाने गरेका थिए। पछिल्लो समयमा यो क्रम बढ्दो थियो।

यसले विदेशी मुद्रा सञ्चितिमा समेत चाप परेपछि सरकारले कर लगाएर निरुत्साहित गर्न खोजेको हो।

वैदेशिक भ्रमणको प्याकेज बिक्रेताले प्याकेज बिक्रीको बेला नै उक्त वैदेशिक पर्यटन शुल्क असुल गर्ने व्यवस्था गरिएको छ। यस्तै, फर्म वा कम्पनीले व्यवसाय प्रवर्द्धनका सिलसिलामा आफू सम्बद्ध प्राकृतिक व्यक्तिलाई वैदेशिक भ्रमणमा लैजाँदा लाग्‍ने खर्च लेखांकनका बखत नै ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क असुल गर्ने व्यवस्था गरेको छ।

अर्थात् उदाहरणका लागि तपाईं कुनै ट्राभल एजेन्सीमार्फत थाइल्यान्ड भ्रमणमा जाँदै हुनुन्छ। त्यो पनि पर्यटक बनेर। अहिले विभिन्न ट्राभल एजेन्सीहरुले न्यूनतम प्याकेज एकजनाको औसत ७५ हजार रुपैयाँबाट उपलब्ध गराउँदै आएका छन्। पैसा खर्चिन सक्नेहरुले आफ्नो आवश्यकताअनुसार यो प्याकेजलाई अझै महँगो बनाउन सक्छन्।

तपाईं थाइल्यान्ड जाँदै हुनुहुन्छ र प्रति व्यक्ति प्याकेज ७५ हजार रुपैयाँमा डिल गर्नुभयो। पहिला ७५ हजार रुपैयाँमै आउने यो प्याकेजमा अब थप ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क जोडिने छ। अब ७५ हजारको थाइल्यान्ड प्याकेजमा ५ प्रतिशत कर थपिँदा सो व्यक्तिले ३७ सय ५० रुपैयाँ थप तिर्नुपर्ने हुन्छ। त्यसपछि सो प्याकेज कुल ७८ हजार ७५० रुपैयाँ हुन आउँछ।

वैदेशिक भ्रमण शुल्कका कारण सबैभन्दा बढी असर कर्पोरेट कम्पनीहरुलाई परेको छ। आफ्ना कर्मचारीदेखि डिलरलाई रिफ्रेसमेन्ट तथा प्रोत्साहनस्वरुप अम्बे समूहले समेत विदेश भ्रमणमा लग्दै आएको छ। अम्बे समूहका निर्देशक शिवाज न्यौपानेले थोरै संख्यामा कर्मचारी वा डिलरलाई विदेश पठाउँदा समस्या नहुने भएपनि २०-२५ जनाको टोली पठाउँदा भने केही आर्थिक भार थपिने बताए।

‘थाइल्यान्डका लागि एक डेढ लाख रुपैयाँको प्याकेज हुन्छ। त्यसमा ५ प्रतिशत थपिँदा कम्पनीलाई खासै धेरै दायित्व थपिँदैन। सानो समूहमा पठाउनु पर्दा धेरै समस्या पर्दैन। तर, अलिकति ठूलो समूह भयो भने केही असर पक्कै पर्छ। एक दुई जना डिलरलाई पठाउँदा त्यति समस्या हुँदैन,’ न्यौपानेले भने

त्यसैगरी, देशमा संचालित एउटा रंग उद्योगले आफ्ना उत्कृष्ट डिलरलाई प्रोत्साहनस्वरुप मनोरञ्जनात्मक यात्रामा विदेश भ्रमणमा लैजाने गरेको छ। त्यसका संचालकले सरकारले ५ प्रतिशत वैदेशिक पर्यटन शुल्क लगाउने भएपछि आफूहरुको खर्च बढ्ने भन्दै त्यसमा पुनर्विचारसमेत गर्नुपर्ने हुन सक्ने बताए।

नेपालीहरु थाइल्यान्ड, इन्डोनेसिया, माल्दिभ्स, दुबई, युरोप लगायतका मुलुक घुम्न जान्छन्। प्याकेज ५५ हजारदेखि ७५ हजार रुपैयाँबाट सुरु हुन्छ। आवश्यकताअनुसार उनीहरुले ट्राभल प्लान फेरबदल गर्छन्। त्यसपछि बढी मूल्य पर्छ।

‘हामीले १५-२० जनाको टोली बनाएर विदेश भ्रमणमा लग्‍ने गरेका छौं। अब प्रतिव्यक्ति मै ५ प्रतिशत कर थपिएपछि हाम्रो कस्टिङ बढ्छ। अबदेखि विदेश भ्रमण लैजाने कि स्वदेशमै घुमाउने भन्‍ने बारे विचार गर्दैछौं। यसले पक्कै पनि विदेश भ्रमणलाई निरुत्साहित गर्न खोजेको हामीले बुझेका छौं,’ ती संचालकले भने।

नेपाली नागरिकहरुलाई विभिन्‍न देशको टुर प्याकेज बिक्री गर्दै आएको सिलिङ ट्राभल्सका संचालक राजु ढकालले प्राय नेपालीहरुले ५०० देखि ७०० अमेरिकी डलरको प्याकेज खरिद गर्ने गरेको बताए। यो रेन्ज नै सुरुवाती प्याकेज भएको उनले जानकारी दिए।

नेपालबाट वार्षिक करिब ५ लाख नेपाली विभिन्‍न देश पर्यटक बनेर घुम्‍न जाने गरेको तथ्यांक उनले दिए।

‘धेरै रुचाइएको प्याकेज भनेको ५५ हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँबाट सुरु हुन्छ। आफ्नो आवश्यकताअनुसार उनीहरुले ट्राभल प्लान फेरबदल गर्न गर्छन्। त्यसपछि मूल्य बढ्दै जाने हो,’ ढकालले भने, ‘नेपालीहरु थाइल्यान्ड, इन्डोनेसिया, माल्दिभ्स, दुबई, युरोपलगायतका देशहरु घुम्‍न जाने गरेका छन्।’

सरकारले विदेशी मुद्रामा चाप पर्ने सक्ने देखेरै आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्दै वैदेशिक भ्रमण शुल्क लगाएको देखिन्छ।
वैदेशिक पर्यटन शुल्कबापत संकलन गरेको रकम अर्को महिनाको २५ गतेभित्र राजस्व खातामा जम्मा गरेर सम्बन्धित राजस्व कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरिएको छ। ट्राभल एजेन्सी वा कुनै कम्पनीले वैदेशिक भ्रमण शुल्क बापतको रकम असुल नगरेमा सो रकमको २५ प्रतिशत शुल्क लगाउने व्यवस्था गरेको छ।

यदि कुनै व्यक्तिले वैदेशिक पर्यटन शुल्कबापतको रकम जम्मा नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लगाएर असुल उपर गरिने अर्थ मन्त्रालयले जनाएको छ।

कुनै व्यक्तिको विवरण पेस नगरेमा त्यस्तो व्यक्तिलाई विवरण पेस गर्नुपर्ने मितिबाट दाखिला नभएको मितिसम्मको वार्षिक २.५ प्रतिशत रकम शुल्क लाग्नेछ।

साथै, यदि कुनै व्यक्तिले वैदेशिक पर्यटन शुल्कबापतको रकम जम्मा नगरेमा वार्षिक १५ प्रतिशतका दरले ब्याज लगाएर असुल उपर गरिने अर्थ मन्त्रालयले जनाएको छ।

प्राय: नेपालीहरु बिदा मनाउन, कुनै कम्पनीले लैजाने रिफ्रेसमेन्ट टुर, हनिमुन, डेस्टिनेसन वेडिङ क्रममा थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेसिया, माल्दिभ्स, श्रीलंका, भारत, युएई (दुबईसहित) युरोपदेखि अमेरिकालगायतका देशहरु घुम्‍न जाने गरेका छन्।