भारतको प्रतिबद्धताले नेपाली उद्यमीलाई लगानी बढाउन प्रोत्साहित गरेको छ, चन्द्र ढकालको अन्तर्वार्ता

बिजमाण्डू
२०८० जेठ १९ गते ११:१२ | Jun 2, 2023
भारतको प्रतिबद्धताले नेपाली उद्यमीलाई लगानी बढाउन प्रोत्साहित गरेको छ, चन्द्र ढकालको अन्तर्वार्ता


नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणमा छन्। प्रतिनिधिमण्डलमा नेपाली उद्योगीव्यवसायी पनि सहभागी छन्। बिहीबार केही महत्त्वपूर्ण सहमति वा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। त्यसले नेपालमा भारतीय लगानीको मार्गप्रशस्त गरेको छ। प्रधानमन्त्रीको भ्रमणमा यसपटक निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले नै समग्र निजी क्षेत्रलाई प्रतिनिधित्व गराएको छ।

Tata
GBIME
Nepal Life

महासंघ र भारतीय उद्योग परिसंघको आयोजनामा भएको नेपाल बिजनेस समिटका क्रममा दुवै देशका उद्योगी व्यवसायीले नेपालमा लगानीका सम्भावना र क्षेत्रका बारेमा चर्चा गरेका थिए। प्रधानमन्त्री प्रचण्ड, नेपालबाट भ्रमणमा सहभागी अर्थमन्त्री डा. प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत तथा भारतीय सङ्घीयमन्त्री पियुस गोयललगायत नेपाली उच्च सरकारी अधिकारीको पनि सहभागिता रहेको समिट आफैँमा उदाहरणीय नै बन्न पुगेको थियो। 

प्रधानमन्त्रीको भ्रमण, निजी क्षेत्रको अपेक्षा र नेपालमा भारतीय लगानीको आयाममा केन्द्रित रहेर नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नयाँ दिल्लीमा रमेश लम्सालले सोधे- प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्षको तर्फबाट कसरी हेर्नुभएको छ? 

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा निजी क्षेत्रको तर्फबाट सबैभन्दा ठूलो प्रतिनिधिमण्डल यसपटक सहभागी छ। यो आफैँमा पनि महत्त्वपूर्ण छ। भ्रमणमा भएका केही सहमतिहरू आफैँमा पनि महत्वपूर्ण छन्। भारत सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली लिने निर्णय स्वयं प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गर्नुभयो, यो आफैंमा महत्त्वपूर्ण छ। यसले निजी क्षेत्रलाई पनि थप लगानीका लागि मार्गप्रशस्त गरेको छ भन्ने हाम्रो बुझाइ हो। यसले नेपालको समग्र क्षेत्रको लगानीलाई थप विविधिकरण गर्ने छ भन्ने हामीले अनुमान गरेका छौँ। यसले लगानीको सुनिश्चितता पनि गर्नेछ। समग्र अर्थतन्त्रमा यसले ठूलो सहयोग गर्नेछ। 

सँगसँगै भ्रमणका क्रममा भएका अन्य सहमति तथा समझदारीले नेपालको विकास र समृद्धिको प्रक्रियालाई पनि गति दिनेछ। नेपाल र भारतका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनामा अभिव्यक्त भएका धारणा आदिबाट पनि यो भ्रमण सफल भयो भन्ने मेरो ठहर छ। जलविद्युत् क्षेत्रको विकासका कुरा, सडक सञ्जालको विकास, डिजिटल भुक्तानीको विषयका अलावा रेल्वे लाइन विस्तार, एकीकृत जाँचचौकीको निर्माण, सञ्चालन लगायतका विषयले पनि थप स्पष्ट पारेको छ। यी विविध कारणले गर्दा भ्रमण सफल भयो भन्ने मेरो ठहर छ।

महासंघ र भारतीय उद्योग परिसंघले आयोजना गरेको बिजनेस समिटको अन्तर्य के थियो? 

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नै हामीले यस खालको उद्योगी–व्यवसायीको साझा प्रयासबाट नेपाल बिजनेस समिटको आयोजना गर्‍यौं। यो आफैंमा महत्त्वपूर्ण अवसर पनि हो। यसबाट दुवै देशका उद्योगी व्यवसायीको साझा मत, साझा चासोलाई एकै ठाउँमा राख्‍ने अवसर पनि पायौं। भारतका उद्योगी व्यवसायीलाई पनि एकै स्थानमा भेला गरायौं। समिटमा हाम्रा प्रधानमन्त्रीका अलावा भारतका उद्योगमन्त्री पियूष गोयलको पनि सहभागिता रह्यो। उहाँले सो कार्यक्रममा दिनुभएको अभिव्यक्ति पनि हाम्रा लागि महत्वपूर्ण छ। नेपालमा लगानीका लागि भारतीय निजी क्षेत्रलाई उहाँले गर्नुभएको आग्रह निकै सकारात्मक र अर्थपूर्ण छ। भारतीय व्यवसायीहरूलाई नेपालमा लगानीका लागि उहाँले सार्वजनिकरूपमा अभिप्रेरित गर्नुभएको विषय हामी नेपाली व्यवसायीहरूका लागि पनि महत्त्वपूर्ण छ। 

सोही अवसरमा प्रधानमन्त्रीले नेपालमा लगानी गर्ने अवसर छ, त्यसमा सरकारले जुन खालको सहयोग गरेको छ र सहजीकरण गरेको छ भनेर प्रस्तुत गर्नुभएका धारणाले मलाई लाग्छ भारतीय साथीहरूलाई केही न केही प्रभावित पारेकै होला। सरकारले निजी क्षेत्रलाई लगानीका लागि अभिप्ररित गरेको छ र निजी क्षेत्रबिना विकासको प्रक्रिया अगाडि बढ्न सक्दैन भनेर हामीलाई उत्साहित गर्ने काम पनि प्रधानमन्त्रीज्यूले गर्नुभएको छ। यो पक्ष दुवै देशका व्यवसायीका लागि खुसीको विषय हो। 

निजी क्षेत्रको ८० प्रतिशतभन्दा बढी जुन योगदान छ, त्यसले पनि हाम्रो भूमिका के–कति हदसम्म महत्वपूर्ण छ भन्ने देखाएको छ। आन्तरिक र बाह्य लगानीलाई थप सहजीकरण नगर्दासम्म मुलुकको विकास र समृद्धिले अपेक्षित गति लिन सक्दैन भन्ने कुरा त स्पष्ट नै छ र यो बुझाइ आमरूपमा नै सतहमा आएकै छ। यसबाट हामी उत्साहित पनि छौँ र देश निर्माणमा हामीले आफूलाई जिम्मेवार महसुस पनि गरिरहेकै छौँ। प्रधानमन्त्री प्रचण्डले बिजनेस समिटमा भारतीय लगानीकर्तालाई जसरी खुल्ला हृदयका साथ नेपालमा लगानी गर्न आउनुहोस् भन्नुभयो, त्यसले मलाई लाग्छ पक्कै पनि केही न केही प्रभावित पारेको छ भन्ने लागेको छ। कतिपय भारतीय व्यवसायी साथीहरूले यस विषयमा हामीसँग पनि जिज्ञासा राखेका छन् र हामीले पनि विश्वस्त तुल्याउने प्रयास गरिरहेका छौँ।

यहाँले हिजो समिटमा सम्बोधनका क्रममा नेपालमा लगानी गरेका भारतीय कम्पनीले राम्रो नाफा कमाएको दृष्टान्त प्रस्तुत गर्दै नेपालमा लगानीका लागि आमन्त्रण गर्नुभयो। यसबाट भारतीय लगानीकर्ता कत्तिको आश्वस्त हुनसके भन्ने ठान्नुहुन्छ? 

पक्कै पनि नेपालमा लगानी गरेका भारतीय कम्पनीले गरेको प्रगति सबैले थाहा पाएकै विषय हो । मैले त यहाँका उद्योगी, व्यवसायीहरूलाई त्यो उदाहरण प्रस्तुत गरेर नेपालमा आउनुहोस् र लगानी गरेर नाफा कमाउनुहोस् भनेको हो। निजी क्षेत्रको छाता सङ्गठनको हिसाबले पनि यो विवरण हामी आफैँमा पनि उदाहरणीय छ र हुनुपर्छ। सबैभन्दा बढी कर तिर्ने नेपालका पाँच ठूला कम्पनीमध्ये तीनवटा भारतीय लगानीकै छन्। भारतीय लगानीका कम्पनीले राम्रो प्रतिफल दिएका छन्, नेपालमा ठूला करदाता नै भएका छन्। त्यसमा एभरेष्ट बैंक, नेपाल एसबीआई बैंक, डाबर नेपाल, युनिलिभरलगायत छन्। कुल राजस्वमा योगदान गर्नेमा पनि विदेशी कम्पनी छन्। यसबाट के देखिन्छ भने नेपालमा लगानीका लागि अवसरै अवसर छन्। यो भावना त हिजोको कार्यक्रममा भारतीय उद्योगमन्त्रीले दिनुभएको अभिव्यक्तिमा पनि देखिन्छ। 

मलाई के लाग्छ भने नेपालमा अवसरै अवसर, धेरै सम्भावना छ। हरेक क्षेत्रमा सहजै लगानी गर्न सकिन्छ भन्ने स्पष्ट छ। जलविद्युत्, पर्यटन, सेवा क्षेत्र, भौतिक पूर्वाधार जहाँ लगानी गरे पनि हुन्छ। कृषि वा सेवा क्षेत्र जताततै लगानी गर्न सकिन्छ। वास्तवमा भन्ने हो भने हाम्रोमा जलविद्युत् क्षेत्रमा जुन खालको लगानीको अवसर छ, त्यसमा हालसम्म एक प्रतिशत पनि काम भएको छैन। हाम्रो वातावरणमा पनि उत्तिकै विविधता छ। 

प्रकृतिले दिएको अवसर पनि उत्तिकै महत्वपूर्ण छ। धार्मिक तथा सांस्कृतिकरूपमा पनि हामी उत्तिकै सम्पन्न छौँ । पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनीजस्ता क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउन सकिन्छ। अर्कातर्फ भारतबाट नेपालमा सामान बिक्री गर्ने हिसाबले हेर्दा पनि ११औँ ठूलो देशका रूपमा हामी छौँ। नेपाल र भारतबीचको जुन व्यापार तथा पारवहन सम्बन्ध छ, त्यो अर्को विशिष्ट पाटो छ। नेपालमा सामान उत्पादन गरेर भारतमार्फत निर्यात गर्दा पनि विश्वबजारमा प्राप्त भएका अनेकन लाभका हिसाबले पनि सहज छ। ड्युटी फ्रिका हिसाबले पनि उत्तिकै विशिष्ट छ। भारतीय लगानीकर्ताले नेपालमा लगानी गरे भने त असाध्यै ठूलो अवसर छ नि। यो कुरा हामीले उनीहरूलाई पनि बुझाउन सक्नुपर्छ। यी सम्भावनाका कुरा यहाँका लगानीकर्ताहरूलाई पनि थाहा दिनुपर्छ। यस्तै कार्यक्रमहरूबाट नै वातावरण बन्दै जान्छ भन्ने मलाई लाग्छ।  

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा उद्योगी व्यवसायीका के–कस्ता अपेक्षा थिए, ती सम्बोेधन भए? 

सबैभन्दा ठूलो विषय भनेकै व्यापार घाटाको विषय थियो। जुन विषयलाई पछिल्लो भएको सहमतिले ठूलो राहत दिन्छ। यस्तै जलविद्युत् क्षेत्रमा जुन खालको सहमति भयो त्यसले अन्ततः निजी क्षेत्रको माग सम्बोधन गर्छ भन्ने लाग्छ। भारत सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली ल्याउने जुन सहमति गरेको छ, त्यसले समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको छ। अन्तरदेशीय प्रसारण लाइनको निर्माणका हिसाबले एकदमै राम्रो भयो। यस्तै हवाई सञ्जाल र मार्गका विषयमा पनि कुरा राम्रैसँग उठान भएको मैले बुझेको छु र त्यसको परिणाम पनि राम्रै निस्किएला भन्ने नै लाग्छ। त्यसमा दुवै देशका प्रधानमन्त्री सहमत हुनुभएको सूचना मैले पाएको छु। यस्तै डिजिटल पेमेन्टका सम्बन्धमा भएको सहमतिले अर्को आयाम स्थापित गरिदिएको छ। एकीकृत जाँचचौकी, रेलमार्ग, पाइप लाइन, झुलाघाटमा पुल बनाउने सहमतिले धेरै राम्रो परिणाम दिन्छ र निजी क्षेत्रको मागलाई पनि यसले सम्बोधन गर्छ भन्ने लाग्छ।

नेपालको विद्युतीय भुक्तानी सेवा प्रदायक र भारतीय कम्पनीबीच भएको सहमतिले विद्युतीय भुक्तानीमा के–कस्तो सहयोग पुग्छ भन्ने यहाँलाई लाग्छ? 

अन्तरदेशीय रूपमा भुक्तानीमा जुन खालको जटिलता थियो, त्यसलाई यस खालको सहमतिले सहज बनाइदिएको छ। यसभन्दा पहिले निजी क्षेत्रका अन्य कम्पनीसँग यस खालको सहमति भए पनि सरकारीस्तरमा नहुँदा त्यसले गति लिनसकेको थिएन। आगामी दिनमा निजी क्षेत्रका अन्य कम्पनीलाई पनि यसमा थप काम गर्न सहज बनाएको छ। समग्रमा डिजिटल भुक्तानीका लागि सहज भएको छ। भारतमा अध्ययन गर्न आउने विद्यार्थी, उपचारका लागि आउने बिरामी, भ्रमणमा आउने नेपाली तथा यहाँ काम गरिरहेका नेपाली नागरिकलाई थप सहज बनाउने छ। हाम्रो प्रधानमन्त्री र भारतीय मन्त्रीले समेत यसको महत्वका बारेमा स्पष्ट पार्नुभएको छ। यसले पनि समग्ररूपमा सीमानाकामा नगद लिएर हिँड्दा भोग्नुपर्ने जटिलता हटाइदिएको छ। यो सहमतिले ठूलो भूमिका प्रदान गर्छ। प्रधानमन्त्रीज्यूको भ्रमणको यो अर्काे महत्वपूर्ण उपलब्धि हो भन्ने मलाई लाग्दछ। 

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा निजी क्षेत्रको स्थान तथा सरकारले दिएको महत्वलाई कसरी लिनुहुन्छ? 

नेपालका प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा नेपाली उद्योगी व्यवसायीलाई पनि राख्ने त पहिलेदेखि नै गरिएकै हो। हामी पनि कैयौँपटक आएका छौँ यस्ता भ्रमणमा। तर मलाई लाग्छ यसपालि सम्भवतः पहिलोपटक यति ठूलो प्रतिनिधिमण्डल सहभागी भएको हो। यो सबै प्रक्रियाको नेतृत्व नेपाल उद्योग वाणिज्य महासङ्घका तर्फबाट हामीले गरेका थियौँ। यो हिसाबले पनि जति पनि निजी क्षेत्रका छाता सङ्गठन छन्, त्यसलाई संयोजन गरेर निजी क्षेत्रको प्रतिनिधिमण्डलका रूपमा लिएर आउनु पनि आफैमा महत्वपूर्ण छ। 

हामीले यहाँ राखेको धारणा, हामीले प्रस्तुत गरेका योजना र एजेण्डाका हिसाबले पनि यो भ्रमण दीर्घकालीन सोचसहितको छ र भयो भन्ने लाग्छ। अर्काे कुरा हामी आफैँले पनि यहाँका उद्योगी, व्यवसायी तथा लगानीकर्ताहरूसँग भेटेरै प्रत्यक्ष अन्तक्र्रिया गर्न पाउँछौँ र आफ्ना तर्फबाट लगानीका कुरा पनि गर्न पाउँछौँ। उहाँहरूसँग बसेर नेपालमा लगानीका लागि आवश्यक सूचना तथा वातावरण सेयर गरेर आश्वस्त पनि पार्न सक्छौँ। यो सब आखिर हामीले देशमै लगानीका लागि गरिरहेको प्रयास न हो। त्यसैले प्रतिनिधिमण्डल ठूलो भएर के फरक पर्छ र? म त झनै राम्रो हुन्छ भन्ने ठान्छु। 

नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि आह्वान त गरियो, तर हामीले लगानीको वातावरण बनाउन आन्तरिकरूपमा के–कस्ता विषयमा सुधार गर्नुपर्ने  छ? निजी क्षेत्रको नेतृत्वको रूपमा के भन्नुहुन्छ?  

हेर्नुहोस् हामीकहाँ धेरै ठूलो झन्झट कागजी प्रक्रियामै छ। यो प्रक्रियागत झन्झटलाई तत्काल हटाइहाल्नुपर्छ। प्रक्रियामा अल्झिएर बस्दा हामी कहीँ पनि पुग्न सक्दैनौँ। हामीले बाहिर नभने पनि केही निश्चित जटिलता छन्, अप्ठ्यारा छन्। त्यसलाई सच्याउनुपर्छ। हाम्रो समग्र व्यवस्थामा सुधार गर्नुपर्छ। लगानीकर्ताले सहजरूपमा वातावरण बनोस् र बिनाझन्झट काम होस् भन्ने चाहन्छ। सरकारका निकायले पनि स्पष्टसँग बुझ्नुपर्छ। सरकारको पूर्ण संयन्त्रले धारतलीय यर्थाथलाई बुझ्नुपर्छ। तीनवटै तहका सरकारले लगानीका लागि अभिप्ररित गर्नुपर्छ, सहयोग गर्नुपर्छ। त्यसो भएमात्रै मुलुकको समग्र प्रगति हुनसक्छ। 

हाम्रोमा लगानीको अवसर पनि छ, निजी क्षेत्र तयार पनि छ। वैदेशिक लगानी पनि ल्याउन सकिन्छ भनेपछि त सहजीकरण त हुनुपर्‍यो नि। त्यसैले हाम्रो सरकारी संयन्त्र सहज र सहयोगी बन्नुपर्छ। यसबाट छोटो समयमा धेरै काम गर्न सकिन्छ। जस्तो कि हेर्नुस् न हामीले कुनै संरचना निर्माण गर्दा नै भोगेका छौँ कि हामीले भौतिकरूपमा निर्माण थालेपछि वर्ष दिन, दुई वर्षमा सकिने कामका लागि कम्तीमा पाँच–सात वर्ष प्रक्रियागत झन्झटमै समय खेर फाल्नुपर्छ। हामीले वैदेशिक लगानीलाई आकर्षित गर्ने हो भने हो यस्ता प्रावधान हटाउनै पर्छ। यस्तो उनीहरू सहन सक्दैनन्, जुन हामीले सहिरहेका छौँ।  

यतिबेला मुलुकको अर्थतन्त्र संकटमा छ। यस्तो बेला निजी क्षेत्रको साझा सङ्गठनको प्रमुखको हैसियतले भन्नुपर्दा अब हाम्रा प्राथमिकतालाई कसरी निर्धारण गर्नुपर्ला भन्ने ठान्नुहुन्छ?

हाम्रो अर्थतन्त्रमा समस्या देखिनुको पछाडि कोभिड, रसिया युक्रेन युद्धजस्ता समस्या प्रमुख कारणका रूपमा रहेको छ। नीति निर्माणमा रहेको समस्याका कारण पनि जटिलता छ। यसबाट बाहिर निस्कनका लागि सरकार, निजी क्षेत्र दुवैले सहकार्य गर्नु जरुरी छ। निजी क्षेत्र र सरकारका तर्फबाट, नियामक केन्द्रीय बैंक सबैले ध्यान दिनुपर्छ। कुनै एउटा संस्था राम्रो भएर मात्र भएन, समग्र क्षेत्रले यसमा ध्यान दिनुपर्छ। समग्र प्रणालीले इमान्दार प्रयास गर्नुपर्छ। 

समग्र क्षेत्र ठीक भए मात्र मुलुक ठीक दिशामा अगाडि बढ्छ। साझा समस्या हो भन्ने ठानेर अगाडि बढे मात्र समस्याको समाधान छोटो समयमा गर्न सकिन्छ भन्ने लाग्छ। यो संकटबाट मुक्ति पाउनका लागि हामीले महासङ्घमार्फत केही भिजन अघि सारेका पनि छौँ। निजी क्षेत्रको आत्मबल थप उकास्नका लागि हामीले भिजनमार्फत काम गरिहेका पनि छौँ। त्यसमा सरकारको अझै धेरै साथ र सहयोग अपेक्षित छ।