प्रचण्ड र मोदीले गरे दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको शिलान्यास, लागत १७ अर्ब लाग्ने

बिजमाण्डू
२०८० जेठ १८ गते १४:२९ | Jun 1, 2023
प्रचण्ड र मोदीले गरे दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको शिलान्यास, लागत १७ अर्ब लाग्ने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले भारतको सिलुगडीदेखि झापा चारआली र चितवनको लोथरसम्म विस्तार गरिने पेट्रोलियम पाइप लाइनको शिलान्यास गरेका छन्।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीले आज संयुक्त पत्रकार सम्मेलनका क्रममा हरियो बटन थिचेर सिलिगुडीदेखि झापाको चारआलीसम्म र हालको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने परियोजनाको शिलान्यास गरेका हुन्।

यो परियोजनाले नेपालको पेट्रोलियम पदार्थको भन्डारण क्षमता बढाउने छ। यो झापाको चारआलीमा ४१ हजार किलोलिटरको भन्डारण क्षमताको हुने छ। यसमा दैनिक ४० ट्यांकर लोड गर्न सकिन्छ। यो परियोजना भारततर्फ ३५ र नेपालमा १५ किलोमिटर गरी करिब ५० किलोमिटर लम्बाइको हुनेछ।

यो दोस्रो फेजको पाइपलाइन परियोजना हो। जसको लागत अनुमानित भारु १ अर्ब ८३ करोड रुपैयाँ रहेको छ। यो पूर्ण रुपमा अटोमेटेड स्मार्ट ट्रमिनिल हुनेछ।

यो सँगै भारतले १७ अर्बको लागतमा दुई पेट्रोलियम पाइपलाइन र एउटा टर्मिनल बनाउने नेपाल र भारतबीच सम्झौता भएको हो। जसमा समझदारी पत्रमा भारतको सिलिगुडीदेखि नेपालको झापासम्म पेट्रोलियम पाइपलाइन र टर्मिनल निर्माण गर्ने उल्लेख छ।

त्यस्तै, मोतिहारी अमलेखगन्जसम्म रहेको हालको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्ने रहेको छ।

समझदारीपत्र अनुसार अबको ६ महिनाभित्र सबै गृहकार्य गर्नुपर्छ। निर्माणको काम थालेको ५४ महिनामा तीनवटै परियोजना सम्पन्न गर्ने उल्लेख छ। निर्माणको काम थालेको ५४ महिनामा तीनवटै परियोजना सम्पन्न गर्ने उल्लेख भएको नेपाल आयल निगमले जनाएको छ।