
काठमाडौं। नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदमा आवेदन खोलेको छ। लिमिटेडले रिक्त रहेको महाप्रबन्धक पदमा खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट नियुक्ति गर्न लागेको हो।
उक्त पदको लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित जनस्वास्थ्य, फार्मेसी विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुनमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र कुनै संस्था वा निकायको व्यस्थापकीय जिम्मेवारीको पदमा कम्तीमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्ति तथा मनोनयन सम्बन्धी निर्देशिका, २०७८ को दफा ४ बमोजिम अयोग्य नरहेको हुनुपर्ने सूचनामा उल्लेख छ। महाप्रबन्धक पदका लागि उम्मेदवारको उमेर ३५ वर्ष पुगेको र ६५ वर्ष ननाघेको हुनुपर्ने बताइएको छ।
यसअघि काम गरेको संस्थाको नाम, काम गरेको कुल समयावधि खुलाई स्वयंले प्रमाणित गरी उम्मेदवारले ५ हजार रुपैयाँको दरखास्त दस्तुर राष्ट्रिय वाणिज्य बैंकमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
उक्त पदको लागि नेपाल सरकारको विशिष्ट श्रेणी वा सो सरहको सुरु तलब स्केल तथा अन्य सुविधा सम्बन्धित संस्थाको नियमानुसार हुने लिमिटेडले जनाएको छ।