पाँचखाल खानेपानी आयोजनाको काम ८५% सम्पन्न, सात हजार घरमा पानी पुर्‍याइने

बिजमाण्डू
२०८० जेठ ११ गते ०९:५७ | May 25, 2023
पाँचखाल खानेपानी आयोजनाको काम ८५% सम्पन्न, सात हजार घरमा पानी पुर्‍याइने


काभ्रे। सात हजारलाई खानेपानी पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजना थपिएको निर्धारित समयमा सम्पन्न गर्न निर्माणका कामलाई तीव्र बनाइएको छ। विविध कारण आयोजनाको समायावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र नगरका सात हजार घरमा खानेपानी पुर्‍याउने लक्ष्य लिइएको जनाइएको छ।

Tata
GBIME
Nepal Life

विसं २०७६ भदौ १२ गते सम्झौता गरिएको परियोजनाको २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबिच सम्झौता गरिए पनि कोरोना महामारीलगायत सामग्री अभाव तथा विविध कारणले एक वर्ष समयावधि थपिएको हो। सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमा २०७९ सालभित्र पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम सक्नेसमेत उल्लेख गरिए पनि आयोजना लम्बिएको हो।

नगरको १३ मध्ये १० वटा वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ एक अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको थियो। आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख रुपैयाँ उपभोक्ताले जम्मा गरिसकेका छन्। जसअनुसार प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा १८ हजार रुपैयाँजम्मा गरेका छन्।

हाल खानेपानी आयोजनाको काम ८५ प्रतिशत सकिएको जनाउँदै केही स्थानमा पानी परीक्षणसमेत गरिएको छ। परीक्षणबाट मुहानमा लगातार चार पम्प प्रयोग गरी चार कलेक्टर वेलबाट सङ्कलन भएर दुईवटा सम्वेलमा जम्मा भएको पानी २४ घण्टा तान्दा पानीको सतहबाट ८० सेन्टिमिटरमात्रै घटेको पाइएको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताए।

उनका अनुसार योजना प्रारम्भिक लक्ष्यअनुसार प्रतिसेकेन्ड ८४ लिटर पानी तान्न सफल भएको छ। प्रतिघण्टा तीन लाख दुई हजार चार सय पानी तान्न सहज ढङ्गबाट सकिने भएको छ। यस्तै दैनिक लगातार २० घण्टा पानी तान्दा ६० लाख ४८ हजार लिटर पानी उपभोग गर्न सकिने भएको हो।

योजना लागू भएको क्षेत्रमा हाल छ हजार ३७ धारा जडान हुने भएको छ। हालको अवस्थामा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने छ। जसमध्ये दैनिक प्रतिव्यक्ति १९२.५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको छ।

समिति अध्यक्ष लामिछानेले आयोजनामा हाल दैनिक एक सय ३० जना कामदार खटिरहेको बताए। आयोजनाका सुपरभाइजर इन्द्रमानसिं बस्नेतका अनुसार आयोजनामा चारवटा कलेक्टर-वेल, दुईवटा सम्प-वेल, १६ वटा भुई ट्याङ्की बनाउने काम भैरहेको छ।

यसैगरी ६ वटा ब्रेक प्रेसर ट्याङ्की, पानी प्रशोधन प्लान्टका साथै अन्य निर्माण पनि चलिरहेको छ।

प्रसारण लाइन, शाखा प्रसारण लाइन, वितरण लाइनका साथै कार्यालय भवन बन्दैछ। गार्ड भवन, जेनेरेटर भवनका साथै अन्य सरसफाइका संरचना तथा शौचालय निर्माणका काम अन्तिम चरणमा पुगेका छन्।

पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका-१० विमिरेस्थित सुनकोसी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माणसँगै ढलान तथा ग्राभेल गरी सडक पुर्‍याउने काम भइसकेको छ।

यस्तै मूल र रिजर्भ ट्याङ्कीसम्म पहुँचमार्गको काम भइरहेको छ भने करिब चार हजार घरमा धारा जडानकार्य सकिएको लामिछानेले बताए। उनका अनुसार कोरोना संक्रमणको लहर तथा गत असार-साउनमा सुनकोसी नदीको बाढीले मुहान क्षेत्रका संरचनामा क्षति पुर्‍याएका कारण पनि आयोजनाको काम केही पर धकेलिएको हो। (रासस)