
काठमाडौं। बैंकहरुको लागत सस्तिएसँगै कर्जा ब्याजदर उल्लेख्य रुपमा घट्दै जाने बैंकरहरुले तर्क गरेका छन्। कर्जाको ब्याजदर कोभिडकै अवस्था नजिक पुग्ने बैंकर संघका अध्यक्ष सुनिल केसीले बताएका छन्।
गत पुसमा १०.९१ प्रतिशतको उच्चतम विन्दुमा पुगेको आधार दर क्रमश: घटेर चैतसम्म १०.४८ प्रतिशत पुगेकाले कर्जाको ब्याजदर पनि सस्तिने केसीले बताए।
‘माघमा १३ प्रतिशत रहेको कर्जाको भारित औसत दर चैतसम्म १२.८४ प्रतिशतमा सीमित छ,’ केसीले भने, ‘निरन्तर घटाउँदै लगेको निक्षेप ब्याजदरले गर्दा बैंकहरुको लागत सस्तिएको छ। असारमा कर्जाको ब्याजदर अझै घट्छ।’
पछिल्लो तीन महिनाको औषत आधार दर पनि १०.४६ प्रतिशतमा ओर्लिसकेको छ। चैतसम्म ४ प्रतिशतमा कायम गर्नुपर्ने स्प्रेड दरले पनि कर्जाको ब्याजदरमा केहि गिरावट अवश्य आउने उनको तर्क रह्यो। यसै गतिविधि जारी रहे कर्जाको ब्याजदर ११ प्रतिशत हाराहारी आइपुग्नेछ। जुन कोभिडको समयमा थियो।
कर्जाको ब्याजदर सस्तिएपनि माग भने उल्लेख्य नहुने बैंकरहरुको टिप्पणी छ। राष्ट्र बैंकले लिएको १२.६ प्रतिशतको कर्जाको वृद्धिदर साँघुरिएर आधामा सीमित हुने उनीहरुको बुझाइ छ। त्यहीँ आर्थिक वर्षको अन्त्यसम्म निक्षेपमा भने १० देखि ११ प्रतिहतसम्मको वृद्धि हासिल गर्न सकिने उनीहरुको अनुमान हो।
बैंकर्स संघले सोमबार पत्रकार सम्मेलन गर्दै ब्याज घट्ने जनएको हो।
बैंकरहरुले कर्जा-निक्षेप अनुपात सुबिधाजनक स्थितमा रहेको बताउँदै लगानीयोग्य रकमको उपलब्धिता बढेको बताएका छन्। पछिल्लो तथ्याङ्क अनुसार कर्जा-निक्षेप अनुपात ८४.८८ प्रतिशत कायम छ। झन् असारे खर्चले तरलताको स्थितिमा थप सुधार हुने उनीहरुको अनुमान छ।
यद्दपी सरकारले तीव्र रुपमा उठाएको आन्तरिक ऋणले कायम तरलतालाई पुन क्षयीकरण गर्न सक्ने बैंकरहरुको टिप्पणी छ। नीतिगत दर ८.५ प्रतिशत हुँदा आन्तरिक ऋणको ब्याजदर ९ प्रतिशत छ। त्यसैले सतर्क हुनुपर्ने अवस्था भने अझै पनि विद्यमान रहेको केसीले बताए।