
काठमाडौं। फोटो सेयरिङ एप इन्स्टाग्राम सोमबार बिहान दुई घण्टाभन्दा बढी समय बन्द भएको छ। इन्स्टाग्राम बिहान करिब साढे ३ बजेतिर ‘डाउन’ भएको थियो।
एकाएक एपमा पोस्टहरू देखिन छोडेपछि संसारभरका धेरै प्रयोगकर्ताले यसबारे गुनासो गरेका थिए।
डाउन डिटेक्टर वेबसाइटका अनुसार बिहान ४ः३१ बजे सबैभन्दा बढी अर्थात १ लाख ८८ हजार प्रयोगकर्ताको एप डाउन भएको थियो। इन्स्टाग्रामले बिहान ६ बजे ट्वीट गर्दै प्राविधिक गडबडीका कारण ‘सर्भर डाउन’ भएको जानकारी दिएको थियो।
‘बग फिक्स गरिएको छ र इन्स्टाग्राम अब चलिरहेको छ,’ इन्स्टाग्रामले विज्ञप्ति जारी गर्दै भनेको छ।
इन्स्टाग्राममा यस्तो समस्या पहिलो पटक आएको भने होइन। चार दिनमा इन्स्टाग्राम डाउन भएको यो दोस्रो घटना हो।
यसअघि पनि मे १८ मा विश्वभरका धेरै प्रयोगकर्ताहरूले एप नचलेको गुनासो गरेका थिए। यसैबीच मार्चको सुरुमा पनि प्रयोगकर्ताहरूले यस्तै समस्या भोग्नु परेको थियो। नेपालमा इन्स्टाग्रामका २० लाखभन्दा बढी प्रयोगकर्ता छन्।
ट्वीटरलाई टक्कर दिन इन्स्टाग्रामको नयाँ एप
मेटाको सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्रामले ट्वीटरसँग प्रतिस्पर्धा गर्न नयाँ माइक्रोब्लगिङ टेक्स्ट-आधारित एप ल्याउने तयारी गरिरहेको छ। रिपोर्टका अनुसार इन्स्टाग्रामको यो नयाँ एप जुन अन्त्यसम्ममा लन्च गर्दैछ।
स्रोतका अनुसार कम्पनीले अहिले यो परियोजनाको परीक्षण गरिरहेको छ। परीक्षणको लागि कम्पनीले यो एप केही सेलिब्रेटी, इन्फ्लुएन्सर र कन्टेन्ट क्रियटरलाई केही महिनादेखि गोप्य रूपमा दिएको छ।