समय घर्किने बेला भटाभट हाई प्रोफाइल पक्राउ पर्दा अनुसन्धानमा प्रहरीमाथि चर्को दबाब !

सविन ढकाल
२०८० बैशाख २९ गते १७:१२ | May 12, 2023
समय घर्किने बेला भटाभट हाई प्रोफाइल पक्राउ पर्दा अनुसन्धानमा प्रहरीमाथि चर्को दबाब !


काठमाडौं। कांग्रेस केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवा बुधबार साइबर ब्युरोमा उजुरी दिन पुगिन्।

Tata
GBIME
Nepal Life

नेपालीलाई भुटानी शरणार्थी बनाएको प्रकरणमा उनको नाम जोडेर आएको अडियोमाथि सत्यतथ्य छानबिन गर्न माग गर्दै उनले ब्युरोमा उजुरी दिएकी हुन्। सामाजिक सञ्जालमा फैलिएको उक्त अडियो साइबर ब्युरोका लागि मात्र होइन, भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको टिमकै लागि टाउको दुखाइको विषय बनेको छ।

आरजुको नाम जोडिएपछि स्वत: अनुसन्धानको विषय बन्नु स्वाभाविक हो प्रहरीका लागि।

जिल्ला प्रहरी परिसर काठमाडौंले यस घटनाको अनुसन्धान गरिरहेको छ। अहिलेसम्म विभिन्न हाई प्रोफाइल व्यक्तिसमेत गरेर १२ जना यस प्रकरणमा समातिएका छन्। त्यस्तै, केही व्यक्ति फरार र केही अनुसन्धानको दायरामा रहेको प्रहरीले जनाएको छ।

आरोपमा पोलिएकामा सामान्यदेखि हाई प्रोफाइलसम्म छन्। केहीको नाम खुल्ने क्रममा छ। यता हाइ प्रोफाइल जोडिन थालेपछि अनुसन्धानमा जटिलता थपिँदो छ भने अनुसन्धान गर्ने समयसीमा भने घर्किँदै छ।

‘हामीले हाम्रा विभिन्न विज्ञ व्यक्तिको समूह बनाएर अनुसन्धान गरिरहेका छौँ,’ परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले भने।

आरजुसँगै अडियोमा अर्की सांसद मञ्जु खाँणको पनि नाम आएको छ। मञ्जु पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी हुन्। प्रहरीले मञ्जुमाथि पनि अनुसन्धान थालेको छ। प्रमाण संकलन तथा निगरानी बढाएको छ।

हाइ प्रोफाइल व्यक्ति समातिँदै एकपछि अर्को नाम आउन थालेपछि प्रहरीको अनुसन्धान त्यतातिर मोडिने देखिएको छ। तर, पोलिएका व्यक्ति प्रमाणको दायरामा छन् वा छैनन् भन्नेमा प्रहरीको ध्यान केन्द्रित छ। त्यही पहिचान गर्नु नै मुख्य चुनौती बनेको छ। अनुसन्धानमा लिएका नाम प्रहरीले सामान्य झैं सिधै गएर समातेर ल्याउने हैसियत बनाएका भने पक्कै होइन। प्रधानमन्त्री र गृहमन्त्रीबाट ग्रीन सिग्नल पाएरै अनुसन्धानले गति लिएको छ।                            पक्राउ परेका पूर्वगृहमन्त्री खाँण प्रहरी कार्यालयमा

‘अडियोको आधारमा नै समात्ने भन्ने हुँदैन। थप प्रमाण भेटियो भने उनीहरुलाई समात्छौं,’ एक उच्च प्रहरी अधिकृतले भने।

बयान र केही पीडितको बयानका आधारमा घटना नेता सम्ममात्र होइन, संवैधानिक निकायका प्रमुखसम्म पनि तानिने संकेत गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईको नाम यस प्रकरणमा तानिएको छ। तर अहिलेसम्म उनीविरुद्ध प्रहरीले गतिलो प्रमाण भेटाएको छैन। प्रहरीको अनुसन्धान राईतिर पनि सोझिएको छ। राई गृह सचिव भएकै समयमा नक्कली शरणार्थी प्रकरण सुरु भएको थियो। यस प्रकरणमा उनको नाम मुछिएपछि कांग्रेस नेताहरुले उनीमाथि महाभियोग लगाउनुपर्ने माग गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा २०७६ जेठमा भुटानी शरणार्थी समस्या समाधानका लागि पूर्व सहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन भएको थियो। कार्यदलले केही शरणार्थीको प्रमाणीकरण गर्न छुटेको प्रतिवेदन बुझाएपछि ठगी गिरोहले ठाउँ बनाएको थियो।

गृह मन्त्रालयका सचिवदेखि मन्त्रीसम्म तानिँदा त्यहीको जिम्मेवारी सम्हालेका राई संदेहको घेरामा पर्नु अस्वाभाविक देखिँदैन। २०७४ चैत २६ गतेदेखि २०७६ माघ २० गतेसम्म उनी गृह सचिवका रुपमा कार्यरत थिए। पक्राउ परेका अभियुक्तहरूले सबै प्रकरण गृह मन्त्रालयका कर्मचारीको सहयोगमा भएको बयान दिएका छन्। त्यसैका आधारमा प्रहरीले पूर्व गृह सचिव टेकनारायण पाण्डे र पूर्व गृह मन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेको छ। उनीहरूले गिरोहबाट नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा लाखौं रकम बुझेको प्रमाणसमेत भेटिएको छ।            अभियुक्त सन्दीप रायमाझी जिल्ला अदालतमा

राई गृह सचिव रहेकै अवधिमा रामबहादुर थापा बादल पनि गृहमन्त्री भएका थिए। त्यतिखेर गृह मन्त्रालयका सल्लाहकार इन्द्रजीत राई उनका छोरा नीरज राईसमेत घटनामा संलग्न भएको खुलिसकेको छ। वैशाख १९ गते इन्द्रजीतलाई प्रहरीले पक्राउ गरेको थियो। उनका छोरा भने फरार छन्। त्यस्तै, बादलका छोरा प्रतीक पनि यस घटनामा संलग्न भएकाले अनुसन्धान गरिएको छ। शरणार्थी प्रकरणबारे अख्तियारमा उजुरी पर्दा पनि उनले कारबाहीको लागि पहल नगरेको आरोप पनि उनी माथि लाग्छ।

यतिमात्र होइन, पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको नामसमेत प्रकरणमा जोडिएको छ। यसले प्रहरीलाई अन्तिम समयमा अनुसन्धानमा झन् प्रेसर दिएको छ। त्यसो त बिहीबार ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा नगद समाउनेलाई पक्राउ नगरेको तर रायमाझीलाई समाउन खोजेकोबाट आफू आश्चर्यचकित भएको बताएका छन्। रायमाझीको सन्दर्भले ओलीको सक्रियता मात्र बढाएको छैन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवासँगको संवादमा सघनता पनि थपेको छ। ओलीले प्रहरीको अनुसन्धानमा पनि शंका व्यक्त गरेका छन्। यस प्रकरणमा ओलीको सक्रियताले थप संदेह पैदा गरेको छ।

प्रहरीले यस घटनामा वैशाख २७ गते पूर्व गृहमन्त्री बालकृष्ण खाँण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई पक्राउ गरिसकेको छ। अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यस्तै खाँण पक्राउ र बयानपछि अरूको पनि नाम आउन सक्ने प्रहरीको अनुमान रहेको छ।

गत चैत ११ गते प्रहरीले ललितपुर घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङ पथरी शनिश्चरे घर भएका केशवप्रसाद दुलाल र ललितपुरमा बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। ठगीमा अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरमा बुझाएको थियो। त्यसपछि यसमा अरूको संलग्नता र हाई प्रोफाइल व्यक्ति देखिएपछि ठगीबाट संगठित अपराधमा अनुसन्धान सुरु गरिएको थियो।                      नक्कली शरणार्थी प्रकरणमा समातिएका अभियुक्त

संगठित अपराधमा प्रहरीले ६० दिनसम्म अनुसन्धान गर्न पाउँछ। ठगीमा मात्र भए २५ दिनभित्र फाइल सरकारी वकिल कार्यालयमा बुझाएर अदालतमा पुग्नुपर्छ। तर, संगठित अपराधमा ६० दिन समय हुन्छ। अनुसन्धानको अन्तिमतिर भने हाई प्रोफाइलको संलग्नता खुल्नु र समय घर्किँदै जाँदा अनुसन्धान छिटो सक्नुपर्ने दबाब बढ्दै गएको छ। अब प्रहरीले ठगी, संगठित अपराध र सरकारी कागजपत्र किर्तेमा समेत मुद्दा दायर गरेर सजाय माग गर्दै राय प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ। गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस प्रकरणलाई राज्यविरुद्धको अपराध नै भनेका छन्।

‘यो भ्रष्टाचार मात्रै होइन, माथिदेखि तलसम्म मिलेर चलाइएको संगठित अपराध हो। यो यतिमा मात्रै सीमित नभएर आफ्नो देशका नागरिकलाई अनागरिक बनाउने राज्यविरुद्धकै अपराध हो,’ उनले भने।

त्यस्तै, घटनामा जोडिएका एमाले सचिव (हाल निलम्बित) एवम् पूर्व प्रधानमन्त्री टोपबहादुरलाई खोजी गरेर पक्राउ गर्नु पनि उतिकै चुनौती छ। वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन्। उनका छोरा सन्दीपलाई भने प्रहरीले सोही दिन बुटवलबाट पक्राउ गरेको छ। अहिले सबै जिल्लाका प्रहरीले टोपबहादुरको खोजी गरिहरेका छन्। फाइल अदालतमा बुझाउनुभन्दा पहिले नै रायमाझी समातिए प्रहरीको अनुसन्धानमा थप सहयोग हुने देखिन्छ।