बुद्ध एयरका दाजुभाइबीच कर्पोरेट वार, भाइ शिवेन्द्रले भने- ‘कहाँ गयो हाम्रो ४०% भाग ?’

बिजमाण्डू
२०८० बैशाख २७ गते १५:५९ | May 10, 2023
बुद्ध एयरका दाजुभाइबीच कर्पोरेट वार, भाइ शिवेन्द्रले भने- ‘कहाँ गयो हाम्रो ४०% भाग ?’


काठमाडौं। बुद्ध एयरका संचालक विरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्ति विवाद चर्किएको छ। बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको निधनसँगै उनका दुई छोराहरु वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुरबीच बुद्ध एयरको सम्पत्तिलाई लिएर विवाद चुलिएको हो।

Tata
GBIME
NLIC

बुधबार पत्रकार सम्मेलन नै आयोजना गरेर सुरेन्द्रबहादुरका कान्छा छोरा शिवेन्द्रले आफू बुद्ध एयरको ४० प्रतिशत हिस्सेदार भएको बताउँदै वीरेन्द्रबहादुरले कुनै पनि हरहिसाब पारदर्शीरुपले उपलब्ध नगराएको बताएका छन्। शिवेन्द्रले माग गरेको हिसाबकिताब माग्दा नदिनुले ६० प्रतिशत सेयर स्वामित्व हुनेले ठुलै आर्थिक घोटला गरेको आरोप लगाएका छन्।

‘बुद्ध एयरलाइन्समा बुबा सुरेन्द्रबहादुर बस्नेतको ८० प्रतिशत सेयर स्वामित्व र दाजु वीरेन्द्रबहादुर बस्नेतको नाममा २० प्रतिशत सेयर कायम थियो। पछि बुबाले आफ्नो नाममा रहेको ८० प्रशित सेयरमध्ये ४० प्रतिशत दाजु वीरन्द्रबहादुर बस्नेतसहित उहाँको परिवारका सदस्यको नाममा र बाँकी ४० प्रतिशत सेयर मेरा परिवारका सदस्यको नाममा गरिदिनु भएपछि पछिल्लो समय वीरेन्द्रबहादुर बस्नेतको ६० प्रतिशत र मेरो परिवारका सदस्यका नाममा ४० प्रतिशत सेयर स्वामित्व छ,’ शिवेन्द्रले भने।

शिवेन्द्रले आफू पाइलट नै भएको बताउँदै कामको सिलसिलामा अमेरिकामा बसोबास तथा व्यवसाय सञ्चालन गर्न थालेपछि बुद्ध एयरमा प्रत्यक्ष संलग्नता नरहेको बताएका छन्।

‘मैले हिसाब मागें बुबा स्वर्गे भएपछि। तर जवाफ आएन। अर्को पटकको साधारणसभामा दिने भनेर टारिएको छ। ऐनको अधिकार खोसियो। मलाई किन जवाफ दिइएन त? किन भन्दा त हिसाब गोलमाल छ। २०७४ सालदेखि नै हामीलाई डाकिएको छैन। एजीएम भएको पनि थाहा छैन। २०७५ देखि आउन थालेको हो मेरो परिवारमा सेयर,’ शिवेन्द्रले भने, ‘त्यतिबेलादेखि डिभिडेन्ट पनि आएको हो तर, कति सेयरमा भन्ने मलाई थाहा छैन। बुद्ध एयरको ब्रान्ड बिगार्न मैले खोजेको होइन, आफ्नो अधिकार खोजेको हो। उहाँहरूको सम्पति जताततै देखिएको छ व्यक्तिको नाममा। काठमाडौंमै ६ वटा घर छ। यो सम्पत्तिको कमाइको स्रोत के हो त?’

कम्पनीमा ४० प्रतिशत सेयरको प्रतिनिधित्व गर्ने सेयरधनीहरुको तर्फबाट आफूले बुद्ध एयरले गरिरहेका काम कारबाही, आर्थिक हिसाबकिताब हेर्ने, योजनाहरुका बारेमा जान्ने र संस्थाको छविलाई अझै कसरी माथि उठाउन सकिन्छ भनेर वास्तविक अवस्थाबारे आफूले बुझ्ने प्रयास गरेको शिवेन्द्रले बताएका छन्।

‘यसको लागि ४० प्रतिशत सेयर स्वामित्वको अख्तियार प्राप्त व्यक्तिको नाताले कानून बमोजिम लिखित रुपमा सम्बन्धित कागजात माग्ने काम भयो। तर, हाम्रो त्यो मागअनुरुप कम्पनीबाट कुनै आधिकारिक हिसाबकिताब दिइएन। उल्टै हिसाबकिताब माग्न थालेपछि विभिन्न बहानामा ४० प्रतिशतको हिस्सेदार माथि नै विभिन्न आरोप लगाउन थालियो। फलस्वरुप ४० प्रतिशतको हिस्सेदारको अख्तियार प्राप्त व्यक्तिलाई कम्पनीको कार्यालयमा जान समेत दिइएन,’ शिवेन्द्रले भने।

त्यसैगरी थप आशंका हुनुमा कम्पनीसँग रहेका नौवटा वीच एयरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशतको हिस्सेदारसँग कुनै समन्वय र सहमति नलिएको शिवेन्द्रको दाबी छ।

‘यो बीचमा ६० प्रतिशत हिस्सेदारको नाममा काठमाडौंमा चारवटा घर, पोखरामा एउटा घर, रामेछाप, भैरहवा र भर्खरै खुलेको आरजु राइस मिलमा केही प्रतिशत बैंक ऋणसहित ५० करोड रुपैयाँ लगानी भएको छ। साथै आरजु राइस मिलमा बुद्ध एयरको इन्जिनियरलाई फुलटाइम स्टाफको रुपमा काम गर्ने जिम्मेवारी दिएको र एयरलाइन्सको इन्जिनियरलाई चामल मिलको जिम्मेवारी दिनुले यसमा अर्को आशंका गर्न सकिन्छ,’ शिवेन्द्रले भने।

उनले यी सबै सम्पत्तिका स्रोतका अतिरिक्त यस्तै अन्य लुकेका वा लुकाइएका स्रोतको खोजी पनि भइरहेको बताउँदै उनले यो सबै आर्थिक स्थिति हेर्दा कम्पनीले दिएको नाफा, बोनस लगायतबाट हुने आम्दानीको स्रोतसँग सम्पत्ति नमिलेको आरोप शिवेन्द्रको छ।

‘यसबाट पनि आर्थिक रुपमा तलमाथि भएको आशंका हामीलाई लागेको छ। यसरी आर्थिक हिसाबकिताबमा तलमाथि पर्न गएको हुन सक्ने र यो कामको लागि कम्पनीको फाइनान्स कन्ट्रोलरको पनि सहयोग वा संलग्नता रहेको हुन सक्ने हाम्रो आशंका छ,’ शिवेन्द्रले भने, ‘४० प्रतिशत हिस्सेदरालाई पुरै बेवास्ता गरिएको छ भने पछिल्लो समय हिमालयन बैंक समेतको ऋण लगानीमा बुद्ध एयर प्रालिले दुईवटा जहाज खरिद गर्ने प्रक्रियामा रहेको तथा सोको निमित्त केही अग्रिम रकमहरु समेत भुक्तानी भएको जानकारी प्राप्त भएको छ।’

उक्त जहाज खरिद गर्ने सम्बन्धमा समेत सहमति तथा जानकारी नगराइएको गुनासो शिवेन्द्रको छ। उनले उक्त कारोबारका सम्बन्धमा भएको आवश्यक प्रक्रियाहरुलाई स्थगित गरेर सहयोग गर्न समेत बैंकलाई आग्रह गरेकोमा बैंकले कुनै जवाफ नदिएपछि राष्ट्र बैंकमा पनि उजुरी दिएको बताएका छन्।

‘कम्पनी रजिष्टारको कार्यालयमा पनि कम्पनीको वास्तविक अवस्था र त्यहाँ पेस गरिएका काजगपत्रका विषयमा जानकारी माग गरिएको छ,’ उनले भने।

बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको गत पुस १० गते निधन भएको थियो। भोजपुर दिङ्लाको साल्मामा जन्मिएका बस्नेतले उमेर ७० वर्ष पुगेपछि बुद्ध एयरको सुरुवात गरेका थिए। उनको निधन ९५ वर्षको उमेरमा भएको थियो। उनको निधनपछि नै दुई छोराबीचको विवाद थप चुलिँदै गएको छ।

बनारस हिन्दु विश्वविद्यालयबाट एमए एलएलबी अध्ययन गरेका उनले नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए। उनी सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, विभिन्न कालखण्डमा कानुन तथा न्याय, शिक्षा, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत भएका थिए।

देशमा परिआएको विभिन्न समस्या छानबिन तथा निरूपणका लागि शाही आयोगहरूमार्फत सेवासमेत प्रदान गरेका थिए।
हवाई उडानलाई सहज र सरल बनाई सर्वसाधारणका लागि खुला गर्ने श्रेय उनैलाई जान्छ। बस्नेतका २ छोरा र एक छोरी छन्।

उनै सुरेन्द्रबहादुरका जेठा छोरा हुन् वीरेन्द्रबहादुर बस्नेत। बुद्ध एयरको प्रबन्ध निर्देशक। उद्यम र व्यापारमा सधैं रुचि राख्ने वीरेन्द्रले निर्यात कम्पनी आरजु इन्टरनेसनल खोलेका थिए।

सुरेन्द्रबहादुरका कान्छा छोरा शिवेन्द्रबहादुर बस्नेत भने सन् १९९४ मा युक्रेनबाट हेलिकोप्टर पाइलटको अध्ययन तथा तालिम सकेर स्वदेश फर्किएका थिए।

त्यसपछि सुरेन्द्रबहादुरसहित उनका दुई छोरा वीरेन्द्रबहादुर र शिवेन्द्रबहादुरले नेपालमा बढ्दो हवाई सेवाको मागलाई मध्यनजर गर्दै औपचारिक रुपमा सन् १९९७ मा बुद्ध एयर संचालनमा ल्याएका थिए।

वीरेन्द्रका भाइ शिवेन्द्रले भने सिद्धिदा राणासँग मिलेर छुट्टै माउन्टेन एयर संचालनमा ल्याएका थिए। सँगै शिवेन्द्रले फ्लाइङ स्कुल संचालन गर्ने भन्दै शिवानी एयर खोलेका थिए। तर, यी दुवै कम्पनी राम्रोसँग चल्न सकेनन्। तीन वर्षमा ६ जनालाई प्रशिक्षण दिने भनेको शिवानी एयर सन् २०१० बाटै बन्द भएको थियो। संचालकमा सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत संचालक छन्।

बुद्धको व्यापार कोरोनाअघि कै अवस्थामा
बुद्ध एयरले कोरोना अघिको व्यापारलाई उछिनिसकेको छ। रेटिङ एजेन्सी इक्रा नेपालमा सार्वजनिक पछिल्लो वित्तीय अवस्थाअनुसार कम्पनीले सन् २०२१/२२ को नौ महिनामा ७ अर्ब ६९ करोड ३० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ। अघिल्लो वर्ष २०२१ मा कम्पनीको व्यापार ३ अर्ब ३३ करोड ६० लाख रुपैयाँ थियो।

कम्पनीले २०२१/२२ को नौ महिनामा औसत व्यापार ८५ करोड ५० लाख रुपैयाँ गरेको रेटिङ विवरणमा उल्लेख छ। कोरोनाअघि कम्पनीको मासिक औसत व्यापार ५६ करोड ७० लाख रुपैयाँ थियो।

कम्पनीले २०२० मा ४ अर्ब ९४ करोड २० लाख, २०१९ मा ६ अर्ब ८० करोड ८० लाख र २०१८ मा ६ अर्ब आठ करोड रुपैयाँको कारोबार गरेको थियो। २०२१ मा ५८ प्रतिशत रहेको बुद्धको बजार हिस्सा २०२१/२२ को नौ महिनामा घटेर ५६ प्रतिशतमा ओर्लिएको छ। २०२२ जुलाईमध्यसम्म बुद्धको शिखर इन्योरेन्समा ६ प्रतिशत सेयर स्वामित्व छ।

बुद्ध एअरले १७ वटा अत्याधुनिक विमानहरुबाट सेवा दिइरहेको छ। बुद्धले दैनिक ७० देखि ८० हाराहारी उडान गर्दै आएको र बजार हिस्सा हाल ६१ प्रतिशत रहेको दाबी कम्पनीको छ।