एनआरएनलाई दोस्रो बजारमा भित्र्याउन कार्यदल, तीन महिनाभित्रै पुँजी बजारमा ल्याइने



२०८० बैशाख २६ गते १८:२१
एनआरएनलाई दोस्रो बजारमा भित्र्याउन कार्यदल, तीन महिनाभित्रै पुँजी बजारमा ल्याइने


काठमाडौं। गैर आवासीय नेपाली(एनआरएन)लाई दोस्रो बजारमा प्रवेश गराउन धितोपत्र बोर्डले तयारीमा सुरु गरेको छ। बोर्ड अध्यक्ष रमेशकुमार हमालले कार्यदल बनाएर एनआरएनको लगानी भित्र्याउन पहल गरेको जानकारी दिए।

Tata
GBIME

‘संचालक समितिका सदस्यको संयोजकत्वमा टास्क फोर्स बनेको हो,’ अध्यक्ष हमालले बिजमाण्डूसँग भने। बोर्डले नेपाल चार्टड एकाउन्टेन्ट संस्थाको प्रतिनिधित्व गरेका संचालक सुजनकुमार काफ्लेको संयोजकत्वमा समिति गठन गरेको हो। 

काफ्लेबाहेक समितिमा संचालक बोर्डका विज्ञ सदस्य भोलानाथ ढुंगाना पनि छन्। कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डकी उपकार्यकारी निर्देशक दीपा दाहाल छिन्। बोर्डको गत चैत १९ गते बसेको बैठकले समिति गठन गरेको हो।

समितिले आगामी तीन महिनाभित्रै एनआरएनलाई पुँजी बजारमा भित्र्याउने प्रावधान निर्माण गर्ने छ। उनीहरुको सहभागितालाई प्रोत्साहन गर्नेगरी नियमावली निर्माण गर्नेछ। 

कानुनी प्रावधान र विद्यमान व्यवस्थालाई समितिले अध्ययन गरेर प्रक्रिया सुझाउनेछ। नियमावली कार्यान्वयनमा हुनसक्ने कठिनाई पहिचान गरी सोको लागि आवश्यक कार्यविधि पनि तयार पार्नेछ।