
काठमाडौं। सांसद विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सनले सन् २०२१/२२ मा ३ अर्ब ६३ करोड रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२१/२१ को तुलनामा २०२१/२२ मा कम्पनीको व्यापार २८ प्रतिशतले बढोत्तरी भएको छ।
अघिल्लो वर्ष कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँको कारोबार गरेको थियो। कोरोना महामारीका कारण विभिन्न परियोजना निर्माण पछि धकेलिँदा कम्पनीको व्यापार घटेको थियो।
कम्पनीले २०१९/२० मा ३ अर्ब ५५ करोड, २०१८/१९ मा ३ अर्ब ३३ करोड र २०१७/१८ मा ३ अर्ब ३५ करोड रुपैयाँको व्यापार गरेको थियो।
कम्पनीमा सांसद विक्रम पाण्डे र पार्वती पाण्डेको समान ४९.९८ प्रतिशत सेयर स्वामित्व छ भने बाँकी समान ०.०४ प्रतिशत चार कम्पनीसँग छ।
कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक रहेका विक्रम पाण्डे चितवन-३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय उपाध्यक्ष समेत हुन्।
क वर्गको निर्माण कम्पनी कालिकाले पुल, सडक, भवन, जलविद्युत, सिँचाइ, खानेपानी लगायतका पूर्वाधार निर्माण गर्दै आएको छ। कम्पनीले १२ अर्ब ७७ करोड रुपैयाँ बैंकिङ कर्जाका लागि इक्रा नेपालबाट रेटिङ पुन:पुष्टि गरेको छ।