काठमाडौं उपत्यकामा बढ्यो मूल्यवृद्धि, खाद्य तथा पेय पदार्थको भाउ ५.६४ प्रतिशतसम्म महँगियो

बिजमाण्डू
२०७९ चैत्र २८ गते १५:३४ | Apr 11, 2023
काठमाडौं उपत्यकामा बढ्यो मूल्यवृद्धि, खाद्य तथा पेय पदार्थको भाउ ५.६४ प्रतिशतसम्म महँगियो


काठमाडौं। गत वर्षको फागुनको तुलनामा यो वर्ष काठमाडौं उपत्यकामा मुद्रास्फीति बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको फागुनमा काठमाडौं उपत्यकामा मूल्यवृद्धि ७.९५ प्रतिशत छ। अघिल्लो वर्षको फागुनमा मूल्यवृद्धि ६.३१ प्रतिशत थियो।

Tata
GBIME
Nepal Life

यस्तै, फागुनमा तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ फागुनमा तराईमा ७.३६ प्रतिशत, पहाडमा ७.६९ प्रतिशत र हिमालमा ७.५६ प्रतिशत मुद्रास्फीति थियो।

राष्ट्र बैंकको तथ्यांकअनुसार फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८७ प्रतिशत रहेको जनाएको छ।

फागुनमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत खाद्य तथा खाद्यजन्य पदार्थ उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १४.३५ प्रतिशत, रेस्टुरेन्ट तथा होटलको खानाको १४.०९ प्रतिशत, मरमसलाको १०.८८ प्रतिशत, सुर्तीजन्य पदार्थको १०.८३ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.७८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ।

गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात उपसमूहको मूल्य सूचकांक १३.२३ प्रतिशत, स्वास्थ्यको १०.३९ प्रतिशत, घरायसी उपयोगका वस्तुहरुको ९.७२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.८१ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरुको ८.७९ प्रतिशतले बढेको बताइएको छ।