तरलता सहज बनाएर ब्याज घटाउनेतर्फ सरकारको पहल, मौद्रिक नीतिको कडाइले भएको अप्ठेरो चाँडै फुक्ने

बिजमाण्डू
२०७९ चैत्र २८ गते १२:३१ | Apr 11, 2023
तरलता सहज बनाएर ब्याज घटाउनेतर्फ सरकारको पहल, मौद्रिक नीतिको कडाइले भएको अप्ठेरो चाँडै फुक्ने

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको आर्थिक समस्याको समाधान गर्न सरकारका सबै निकाय एकै ठाउँमा रहेको बताएका छन्।

Tata
GBIME
Nepal Life

उनले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच आर्थिक गतिविधि चलायमान बनाउन सघन छलफल भइरहेको बताए। उनले तरलता समस्या समाधान गर्नेतर्फ सरकार अगाडि बढेको भन्दै बाह्य क्षेत्रमा सुधार देखिएको बताए।

प्रधानमन्त्रीले बैंक ब्याजदर कम गर्ने र राजस्व संकलन गर्ने बढाउने सन्दर्भमा छलफल भइरहेको बताए। ‘अहिलेको चुनौतीको सामना गर्ने गरी सरकारले मेहनत गरिरहेको छ,’ उनले भने।

अर्थमन्त्री डा. प्रकाशशरण महतले लगानीको मनोबल बढाउन अल्पकालीन र दीर्घकालीन हिसाबले काम सुरु भएको बताएका छन्।

उनले अहिलेको संकट मौद्रिक नीति कडा हुँदा भएकोतर्फ संकेत गर्दै मौद्रिक नीतिका कारण ऋण विस्तार नभएको, ब्याजदर बढेको, आर्थिक गतिविधि घटेर राजस्वमा दबाब परेको बताए।

उनले राजस्व कम उठेका कारण पुँजीगत खर्च बढाउने इच्छा हुँदाहुँदै गर्न नसक्ने अवस्था रहेको बताए।

‘मौद्रिक उपकरणले बैंकको ब्याज बढ्यो। अन्य खाले समस्या पनि आएको छ। अहिले अरु परिवेश ठिकठाक भएको छ। त्यसैले अब मौद्रिक नीतिलाई सहज बनाउनु पर्छ,’ उनले भने, ‘कर्जा लिएर अप्ठेरोमा परेका व्यवसायी हुनुहुन्छ उहाँहरुलाई सहजीकरण गर्नुपर्छ। पुनर्तालिकीकरण दिने कुरा, ब्याज घटाउने कुरामा हामी सहमत छौं।’

अर्थमन्त्री डा. महतले बैंकको स्प्रेडदर घटाउने बारेमा कुराकानी भइरहेको बताए। ‘औपचारिक/अनौपचारिक रुपमा सघन कुराकानी भइरहेको छ,’ उनले भने, ‘मलाई विश्वास छ चाँडै नै तपाईंहरुको समस्या समाधान हुन्छन्।’

उनले लगानी सम्बन्धी समस्या हल गरेर अर्थतन्त्र चलायमान बनाउन लागिपरेको बताए। ‘ऋण लगानी विस्तारै विस्तारित हुने छ। नयाँ ऋण पनि विस्तार गर्ने र पुरानोले पनि फिर्ता गर्न सक्ने गरी कोसिस भइरहेको छ,’ उनले भने।

उनले अहिले जग्गामा कित्ताकाटले गर्दा पनि समस्या भएको बताए। यसलाई सहजीकरण गर्न पनि प्रधानमन्त्रीसँग कुराकानी भइरहेको बताए।

‘घरजग्गाको मन्दी, निर्माण क्षेत्रको मन्दीलाई कम गरेर अर्थतन्त्रलाई चलायमान बनाउने काम हुने छ। हामी हाम्रोतर्फबाट रातदिन काम गर्ने छौं। अर्थतन्त्रलाई चलायमान बनाउने गर्छौं,’ उनले भने।

उनले अहिले जुन खालको नकारात्मक सेन्टिमेन्ट छ त्यसलाई चिरेर अगाडि बढ्ने तिर सरकार लागि परेको बताए।

‘निरासालाई अस्थायी बनाएर स्थायी रुपमा सकारात्मक बनौं। बजेट बन्दैछ। मौद्रिक नीति, राजस्वका विषयमा हामी कुराकानी गरौं। त्यसलाई मध्यनजर राखेर अगाडि बढौं,’ उनले भने।

अर्थमन्त्री महतले अर्थतन्त्रमा केही दबाब र अप्ठेरा भएपनि गम्भीर समस्या भने नरहेको बताएका छन्।

‘अहिले पुँजी निर्माणको समस्या छ, लगानीको समस्या छ। यो समस्यालाई हल गरेर सकारात्मक आर्थिक वातावरण बताउन हामी प्रतिबद्ध छौं,’ उनले भने।

उनले सरकारले अल्पकालीन नीति अनुसार पुँजीगत खर्चको प्रभावकारिता बढाउनेतर्फ रहेको भन्दै साधारण खर्चमा निर्मम ढंगले कटौती गर्नुपर्ने आवश्यकता रहेको बताए।

‘साधारण खर्चमा तलब भत्ता मात्र छैन, यसमा सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य शिक्षाको खर्च पनि छन्। तर, यसभित्रका अनावश्यक खर्च भने घटाउनै पर्छ,’ उनले भने।

पुँजीगत खर्च बढाएर अर्थतन्त्र चलायमान बनाउने भन्दै उनले आर्थिक विकासमा ठूलो योगदान उद्यमी व्यापारीको र उनीहरुको लगानीका कारण आर्थिक गतिविधि भएको बताए।

नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाको अवसरमा विशेष अतिथिका रुपमा बोल्दै अर्थमन्त्रीले सबै खाले समस्या समाधान गर्न सरकार अगाडि बढिरहेको बताए।