
काठमाडौं। हुन्डाई मोटर्स ग्रुपले निर्माण गरेको फ्ल्यागसीप इलेक्ट्रिक कार आयोनिक ६ ले वर्ल्ड कार अफ द इयर २०२३ अवार्ड जितेको छ।
हुन्डाई आयोनिक ६ लाई न्यूयोर्क इन्टरनेसनल अटो शोमा २०२३ को वर्ल्ड कार अफ द इयर घोषणा गरिएको हो।
बुधबार घोषणा गरिएको उक्त अवार्डमा आयोनिक ६ ले वर्ल्ड कार अफ द इयर २०२३ अवार्ड जितेको हो। यो अवार्ड हरेक वर्ष घोषणा गरिन्छ। गत वर्ष पनि हुन्डाईको आयोनिक ५ ले उक्त अवार्ड जितेको थियो।
हुन्डाईको आयोनिक ६ इभीले २०२३ को विश्व इलेक्ट्रिक भेहिकल र वर्ल्ड कार डिजाइन अफ द इयर अवार्ड जित्दै ह्याट्रिक गरेको छ।
यस वर्षको सुरुमा हुण्डाई र जेनेसिस ग्लोबल डिजाइन सेन्टर हुण्डाई मोटर कम्पनी (एचएमसी) का कार्यकारी उपाध्यक्ष साङ्गयुप ली पनि २०२३ को वर्ल्ड कार पर्सन अफ द इयर घोषित भएका थिए।
यसैबीच लुसिड एयरले २०२३ वर्ल्ड लक्जरी कार अवार्ड, किया इभी ६ जीटी २०२३ वर्ल्ड पर्फमेन्स कार अवार्ड जितेका छन्। यस्तै, सिट्रोन सी३ २०२३ वर्ल्ड अर्बन कार अवार्ड जितेको छ। प्रत्येक विजेतालाई गत महिना घोषणा गरिएको शीर्ष तीनको सूचीबाट छनोट गरिएको थियो।
हुन्डाईले भारतमा आयोनिक ५ को लागि योजना घोषणा नगरेको भए पनि यो वर्ष दिल्लीमा भएको अटो एक्स्पोमा कार प्रदर्शन गरेको थियो।
सबै वर्ल्ड कार अफ द इयर २०२३ विजेताहरू ३२ देशका १०० अटोमोटिभ पत्रकारहरू सम्मिलित निर्णायकहरूले चयन गरेका थिए।
समग्र विश्व कार अफ द इयर अवार्डका लागि योग्य सवारीसाधनहरू कम्तीमा १० हजार युनिट वर्षिक भोल्युममा उत्पादन हुनुपर्छ। उनीहरूको प्राथमिक बजारमा लक्जरी कार स्तरभन्दा कम मूल्य हुनुपर्छ।
हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि यसलाई छिट्टै नेपाल ल्याउने तयारी थालेको जनाएको छ।