
काठमाडौं। नेपाल आयल निगमलाई भारतबाट आउने नयाँ मूल्यसूची अनुसार एलपीजी ग्यासको खरिद दरमा यो पटक प्रति सिलिन्डर ८६ रुपैयाँ घटेर आएको छ।
इन्डियन आयल कर्पोरेसनले १५/१५ दिनमा पठाउने मूल्यको नयाँ सूची अनुसार एलपीजी ग्यासको मूल्य घटेर आएको निगमले जनाएको हो।
पछिल्लो समय ग्यासमा प्रति सिलिन्डर ३३९ रुपैयाँले मूल्य बढेर आएको थियो। त्यसले गर्दा ग्यासमा निगमले बेहोर्दै आएको घाटा चुलिएको थियो। तर, यसले भने केही राहत मिल्ने भएको छ।
आइओसीले पठाएको उक्त मूल्यसूची अनुसार पेट्रोल लिटरमा १.७५ रुपैयाँ र डिजल लिटरमा ७ रुपैयाँ मूल्य घटेर आएको छ। यो सँगै यही मूल्य कायम भइरहेमा निगम मासिक रुपमा ३ अर्ब बराबर नाफामा जाने देखिएको छ। बितेको १५ दिनमा निगमलाई ५८ करोड रुपैयाँ बढी नाफा थियो।
अब निगमका अनुसार अगामी १५ दिनमा निगम १ अर्ब ५० करोड नाफामा जानेछ।