
काठमाडौं। ३५ मेगावाटको न्यासिम खोला जलविद्युत आयोजनाको लापरवाहीका कारण बालिकाले ज्यान गुमाएको स्थानीयले आरोप लगाएका छन्।
मंगलबार पत्रकार सम्मेलन गर्दै आयोजनाका लागि आवश्यक विद्युत प्रवाह गर्ने लाइनका तारहरु लापारवाही छाडेका कारण दुर्घटना भएको बताएका हुन्। नांगो तारबाट पटकपटक धुवाँ निस्कदा समेत मर्मत नगरी हेलचेक्र्याइ गर्दा यस्ता दुर्घटना जोखिम रहेको सीता हाइड्रोपावर पीडित संघर्ष समितिले जनाएको छ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका सीता हाइड्रोपावरले न्यासिम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको थियो। फागुन १५ गते आयोजनाको लाइनले बारीमा काम गरिरहेकी १४ वर्षिया किशोरी नोर्जी वाङ्मु लामाको मृत्यु भएको थियो। उनको दाइ राजमान लामा र आमा सोमरानी तामाङ घाइते भएका थिए।
आक्रोशित स्थानीयले आयोजनामा गएर तोडफोड समेत गरेका छन्। कम्पनीले विज्ञप्ति जारी गर्दै १२ करोड रुपैयाँको क्षति भएको जनाएको छ। त्यसयता निर्माणाधीन आयोजनाको काम ठप्प छ।

आयोजनामा भएको दुर्घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कमिटी बनेको थियो। उक्त कमिटीले दिएको प्रतिवेदनका आधारमा स्थानीय २२ जनाविरुद्ध मुद्धा दर्ता भएको छ।
स्थानीयले भने मृतकको क्षतिपूर्ति र स्थानीय लगाइएको मुद्दा फिर्ता लिन माग गर्दै आएका छन्। फागुन ६ गते आयोजनाकै लापरवाहीका कारण कार्यरत मजदुर सरोज थारुको मृत्यु भएको थियो। स्थानीयले आयोजना सुधार गरेर मात्र संचालन गर्न माग गरेका थिए। तर, १४ गते पुन: लाइन मर्मत नै नगरी संचालनमा ल्याइयो। जसका कारण १५ गतेको दुर्घटना हुन पुगेको स्थानीयको भनाइ छ।
सीता हाइड्रोपावरले राजनीतिक आडमा जलविद्युत आयोजना तोडफोड गरेको एकतर्फी आरोप लगाइ करोडौं बिगोसहित उल्टो मुद्दा लगाएको स्थानीयले आरोप लगाए। मृत्यु भएकाको परिवारलाई क्षतिपुर्ति र मुद्दा नि:सर्त फिर्ता लिन माग गरेका छन्।
जाहेरी दर्ता भएको ५ दिनपछि जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकमा कम्पनी संचालक सीताराम तिमल्सिना र छोरा प्रल्हाद तिमल्सिना पुगेका थिए। उनीहरुले हाइड्रोपावरको कुनै दोष नभएको गैर जिम्मेवारीपूर्ण जवाफ दिएको स्थानीयले बताए। संचालक तिमल्सिनाले डेढ लाख रुपैयाँ क्षतिपूर्ति र परिवारका एक जनालाई रोजगारी दिने आश्वासन दिएका थिए। बारम्बार आश्वासन दिने तर कार्यान्वयन केही नहुने भएपछि बाध्य भएर पत्रकार सम्मेलन गरिएको संघर्ष समितिले जनाएको छ।
सत्ताको आडमा सोझासिधा गाउँले माथि डण्डा चलाउने क्रियाकलाप नरोकिए त्यसको सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी स्थानीयले दिएका छन्।