खराब ऋण बढ्न थालेपछि राष्ट्र बैंकले सोध्यो- अवस्था के छ? व्यवस्थापन कसरी हुन्छ?

बिजमाण्डू
२०७९ चैत्र १३ गते ११:२२ | Mar 27, 2023
खराब ऋण बढ्न थालेपछि राष्ट्र बैंकले सोध्यो- अवस्था के छ? व्यवस्थापन कसरी हुन्छ?

काठमाडौं। चालु वर्ष लागेयता खराब ऋण निरन्तर बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको वासलातमा चासो राखेको छ।

Tata
GBIME
Nepal Life

राष्ट्र बैंकले आइतबार सबै बैंकहरुलाई पत्राचार गर्दै खराब ऋणका बारेमा चासो राखेको हो।

‘अहिले सबै बैंकको खराब ऋण बढिरहेको छ। त्यो कुरा राष्ट्र बैंकलाई पनि थाहा छ, त्यही भएर के कस्तो अवस्था छ भनेर लिखित रूपमा सोधिएको हो,’ एक बैंकरले बिजमाण्डूसँग भने, ‘राष्ट्र बैंकले मुख्यत: दुइटा विषयमा बढी चासो राखेको छ।’

गत आर्थिक वर्षको तुलनामा यसपाली बैंकहरुको खराब ऋण अनुपात दोब्बरले बढेर २.६३ प्रतिशत नाघेको छ। यो पुससम्मको तथ्यांक हो। चैतसम्म आइपुग्दा खराब ऋण अनुपात करिब साढे ३ प्रतिशत नाघ्ने बैंकरको अनुमान छ। केही बैंकको योभन्दा माथि पुग्ने छ।

व्यवसायीदेखि सर्वसाधारणसम्म ऋण तिर्न सकिएन भनेर हात उठाउन थालेको पृष्ठभूमिमा चैतमा खराब ऋण माथि जाने निश्चित छ। खराब ऋण बढ्दा वित्तीय क्षेत्रप्रतिको विश्वासमा समेत असर गर्छ।

उच्च ब्याज दरका कारण अहिले खराब ऋण बढेको छ। राष्ट्र बैंकले विश्व अर्थतन्त्रलाई हेरेर एकांकी ढंगले ब्याज माथि पुर्‍याउँदा समस्या थोपरिएको छ। अर्कोतर्फ कोभिडकालमा दिइएको सुविधा सबै कटौती भएका छन्।

‘एकातिर आर्थिक संकट नजिक पुगेका बेला राष्ट्र बैंक पनि कडा हुँदा समस्या दोब्बरले बढेको हो,’ अर्का एक बैंकरले भने, ‘अवस्थालाई सहजीकरण गर्नेभन्दा जटिल बनाउनेतर्फ लागेका कारण वित्तीय क्षेत्रमा समस्या देखिन थालेको छ।’

राष्ट्र बैंकले आइतबार ‘खराब कर्जाको अवस्था के छ?’ र ‘त्यसलाई व्यवस्थापन गर्न के गरिरहेका छौं?’ भनेर सोधेको छ। उसको मुख्य चासो खराब ऋण नियन्त्रणभन्दा बाहिर पो जान्छ कि भन्नेमा छ।

विगतमा राष्ट्र बैंकले असल ऋणको पनि नोक्सानी व्यवस्थापन १ प्रतिशतबाट बढाएर १.३ प्रतिशत गर्नुपर्ने व्यवस्था गरेको थियो। राष्ट्र बैंकले बैंकहरुमा स्थलगत सुपरिवेक्षण टोली पठाएर नोक्सानी व्यवस्थापनलाई निक्कै कडाइ गरेको थियो। त्यसबेला कतिपय बैंकले चार अर्ब रुपैयाँसम्म नोक्सानी व्यवस्थापन गर्नु परेको थियो।

‘सबै लथालिंग भएको राष्ट्र बैंककै कारणले थियो। अब उ पनि आत्तिएजस्तो देखिन्छ,’ ती बैंकरले विश्लेषण सुनाए, ‘पुरानो नीति गलत पो थियो कि भनेर राष्ट्र बैंकभित्रै छलफल भएको मैले थाहा पाएको छु।’ उनका अनुसार पहिलो चाहिनेभन्दा बढी गराएको नोक्सानी व्यवस्थापनका बारेमा राष्ट्र बैंकभित्र समीक्षा भएको हो।

राष्ट्र बैंकका अधिकारीहरु पनि यसपाली खराब ऋण बढेर जाने बताउँछन्। ‘५ प्रतिशत त ननाघ्ला तर हाराहारी पुग्न सक्छ,’ ती अधिकारीले सुनाए।

अहिले‍ बढेको खराब ऋण अनुपातलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले भने पत्याएको छैन। उसले विदेशी फर्म लगाएर १० ठूला बैंकको लेखा परीक्षण गराउन राष्ट्र बैंकलाई लगाएको छ।

‘यसपछि खराब ऋण अझ एक्सपोज हुन सक्छ,’ अर्का एक बैंकरले सुनाए, ‘अवस्था जटिल छ। यसमा राष्ट्र बैंक नै गम्भीर हुनु पर्छ।’ उनका अनुसार विगतमा राष्ट्र बैंकले लिएको गलत नीतिकै कारण समस्या थपिएको हो। 

‘अझै पनि नसुध्रिने हो भने समस्या बढेर जान्छ,’ उनले भने, ‘ब्याज घटाउन कसरी सकिन्छ त्यो गर्नै पर्छ। त्यो भएन भने अवस्था जटिल हुन्छ।’