दलहरुबीच भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, सोमवारसम्म पूर्णता दिने तयारी

बिजमाण्डू
२०७९ चैत्र ११ गते १४:०९ | Mar 25, 2023
दलहरुबीच भागबण्डा नमिल्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ, सोमवारसम्म पूर्णता दिने तयारी

काठमाडौं। एमाले र राप्रपाले सरकार छाडेसँगै अपूर्ण रहेको मन्त्रिपरिषद् विस्तारको लागि दलहरु छलफलमा छन्। राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गरेसँगै दुई दल सरकारबाट बाहिरिएका थिए। तर, अझैसम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताएका थिए। उनले तयारी गरेको भए पनि कस-कसले कति मन्त्रालयको नेतृत्व लिने भन्नेमा अहिलेसम्म सहमति जुट्न सकेको छैन। सत्ता गठबन्धनमा माग व्यवस्थापन हुन नसक्दा अलमल भएको हो।

अहिले सत्ता साझेदार १० दल छन्। धेरै दल, धेरै आकांक्षी भएकै कारणले पनि भागबण्डा टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारमा सहमति जुट्न नसकेको हो।

प्रमुख दल कांग्रेस, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी लगायतका नेताहरु अहिले आन्तरिक छलफलमा छन्।

अहिले माओवादीबाट प्रधानमन्त्रीसहित ६ जना र जनमत पार्टीका एक जनाको मन्त्रिपरिषद् छ। सरकारमा कांग्रेसले ९ जना मन्त्रीको माग गरिरहेको छ। यसैगरी एकीकृत समाजवादीले २ मन्त्रालयको दाबी गरिरहेको छ।

रास्वपाले यसअघि गृहसहित ३ मन्त्री र एक राज्यमन्त्री पाएको थियो। जसपा, लोसपा, नागरिक उन्मुक्ति लगायतको दललाई पनि मन्त्रालय बाँड्दा भागबण्डामा सहमति जुट्न नसकिरहेको बालुवाटार स्रोतले जनायो। २५ जनामात्र मन्त्री बनाउने व्यवस्था भएकाले १० दललाई मन्त्रालयको टुंगो लगाउन मुस्किल परिरहेको छ।

कांग्रेस सभापति शेरबहादुर देउवा निकट स्रोतका अनुसार भागबण्डाको टुंगो आइतवारसम्म लाग्ने र सोमवार मन्त्रिपरिषद् विस्तार हुने छ। ‘भागबण्डाको टुंगो लागेपछि पार्टी-पार्टीमा छलफल हुन्छ। सोमवारसम्म मन्त्रिपरिषद् विस्तार होला,’ स्रोतले भन्यो।

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पनि एक-दुई दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन्। माओवादी उपाध्यक्षसमेत रहेका श्रेष्ठले शनिबार ललितपुर चेम्बर अफ कमर्सले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा भने, ‘एक-दुई भित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ।’