शैक्षिक सेवालाई डिजिटल बनाउँदै खल्ती वालेट, गर्‍यो बिमानसँग सम्झौता

बिजमाण्डू
२०७९ चैत्र १० गते १८:१७ | Mar 24, 2023
शैक्षिक सेवालाई डिजिटल बनाउँदै खल्ती वालेट, गर्‍यो बिमानसँग सम्झौता

काठमाडौं। डिजिटल वालेट खल्तीले ‘खल्ती- डिजिटल शैक्षिक सेवा’ सुरु गर्ने भएको छ। खल्तीले बीआईएम एशोसियसन अफ नेपाल (बिमान) सँगको सहकार्यमा यो सेवा सुरु गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

सो सम्बन्धमा दुई संस्थाबीच आधिकारिक रुपमा सम्झौता भएको छ। सम्झौतापत्रमा खल्तीका अफिसर रभिन्स पोखरेल र बिमानका संस्थापक अध्यक्ष सुरज भट्टराईले एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन्।

फी तिर्नकै लागि काम नै छाडेर बैंक तथा स्कुलमा लाइन बस्नुपर्ने समस्या अन्त्य गर्न सम्झौता गरेको खल्तीका अफिसर पोखरेल बताउँछन्।

शैक्षिक क्षेत्रमा आवश्यक डिजिटल सेवा सुविधा खल्तीले दिने संस्थाका बिजनेस हेड निरज कार्कीले बताए। ‘हामीले जुन तरिकाले हाम्रो डिजिटल स्कुल कलेजका लागि सिस्टम बनाएका छौं। यसले शतप्रतिशत सकारात्मक प्रभाव पार्नेमा हामी विश्वस्त छौं,’ उनले भने ।

सूचना प्रविधि व्यवस्थापन सम्बन्धित शैक्षिक संस्था भएकाले विगत केही समयदेखि डिजिटल प्रविधिलाई आत्मसात गरेको बिमानका संस्थापक अध्यक्ष सुरज भट्टराईले बताए।

के हो खल्ती- डिजिटल शैक्षिक सेवा ?

खल्ती- डिजिटल शैक्षिक सेवाअन्तर्गत कुनै पनि शिक्षित संस्थाले सिधै खल्तीको एप, वेब तथा आफ्नै अनलाइन प्लेटफर्ममा आफ्नो पेमेन्ट प्रोफाइल बनाई सजिलै भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क लगायत आफ्नो संस्था अनुरूप कस्टमाइज पेमेन्ट डिजाइन गर्न सक्नेछन्।

सजिलो पेमेन्टसँगै निःशुल्क स्प्यारो एसएमएस सिस्टम, रिजल्ट सिस्टम तथा बल्क टपअप, बैंक ट्रान्सफर तथा खल्तीबाट खल्ती ट्रान्सफरका लागि कर्पोरेट अकाउन्ट, क्युआर सिस्टम समेत प्रधान गरिने अफिसर पोखरेलले जानकारी दिए।

कम्पनीका अनुसार कुनै पनि शैक्षिक संस्थाले आफ्नो कम्पनी दर्ता प्रमाणपत्र, प्यान वा भ्याट प्रमाणपत्र र आधिकारिक लोगो सहित खल्तीमा सम्पर्क गरेमा बाँकी काम खल्तीबाटै प्रकृया अघि बढाइने छ। त्यस्तै, खल्तीको डिजिटल स्कुल कलेज सिस्टम इन्टिग्रेट गर्न कुनै शुल्क लाग्ने छैन।

हालसम्म सेन्ट जेभियर्स, ग्लोबल म्यानेजमेन्ट, सेन्ट म्यारिज, मदरल्याण्ड, हेटौंडा स्कुल अफ म्यानेजमेन्ट जस्ता अन्य थुप्रै स्कुल कलेजखल्तीमा आवद्ध भइसकेका छन्।

खल्तीका सहसंस्थापक अरबिन्द शाह शैक्षिक क्षेत्रलाई प्रविधियुक्त र पहुँचमा पुर्याउन कम्पनी निरन्तर लागिपरेको बताउँछन्। साथै, कलेज र विश्वविद्यालयको ढाँचा अनुरूप सिस्टमलाई कस्टमाइज गराउनु खल्तीको अर्को उद्देश्य रहेको उनले बताए।