काठमाडौं। सेयर बजारमा ‘इन्साइडर ट्रेडिङ’ मा संलग्न रहेको दाबी गर्दै धितोपत्र बोर्डले जलविद्युत उद्यमी गुरु न्यौपानेविरुद्ध मुद्दा हालेको छ।
काठमाडौं जिल्ला अदालतमा ३ करोड २३ लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको हो। सरकारी वकिलको कार्यलयमार्फत् बोर्डले मुद्दा दर्ता गराएको छ।
रिडी पावर कम्पनीमा तत्कालीन अध्यक्ष रहँदा न्यौपानेले अनधिकृत ‘भित्री कारोबार गरेको’ बोर्डले आन्तरिक अनुसन्धानमार्फत् पत्ता लगाएको थियो। जसलगत्तै बोर्डले उनलाई ७५ हजार रुपैयाँ जरिवाना र १० वर्ष कुनै पनि सूचीकृत संगठित संस्थाको सञ्चालक हुन नपाउने गरी कारबाही गरेको थियो।
तर, दोस्रो चरणमा भने बोर्डले उनीमाथि अदालतमा मुद्दा नै दर्ता गराएको हो। अदालतमा कसुर साबित भए न्यौपानेलाई बिगो जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुने सम्भावना छ ।