खराब ऋण बढ्न थालेपछि बैंकहरुले ठूला बनाउन थाले ‘रिकभरी विभाग’, सक्रियता पनि बढ्यो

बिजमाण्डू
२०७९ चैत्र ९ गते १५:४१ | Mar 23, 2023
खराब ऋण बढ्न थालेपछि बैंकहरुले ठूला बनाउन थाले ‘रिकभरी विभाग’, सक्रियता पनि बढ्यो


काठमाडौं। कुनैबेला बैंक तथा वित्तीय संस्थाहरुको ‘रिकभरी विभाग’ कर्मचारी थन्क्याउने ‘जगेडा विभाग’ जस्तै हुन्थ्यो। प्रत्येक त्रैमासको अघिल्लो महिना ग्राहकलाई फोन गर्ने, ताकेता गर्ने काम विभागले गर्थ्यो, अरु बेला निष्क्रिय हुन्थ्यो।

Tata
GBIME
Nepal Life

अहिले अवस्था फेरिएको छ। बैंकको सक्रिय विभागमध्ये ‘रिकभरी’ हुन थालेको छ। रिकभरी विभाग सक्रिय हुन थालेको करिब ६ महिना नाघ्यो।

जब व्यापार व्यवसाय खस्कियो, उधारो उठ्न छाड्यो, ब्याज वृद्धिले नियमित आम्दानी हुनेहरुको बजेट बिग्रियो- अनि बैंकहरुको ऋण उठ्न छाड्यो।

अहिले हरेक दिन बैंक तथा वित्तीय संस्थाहरुले ‘ऋण तिर्न आउने ३५ दिने सूचना’ प्रकाशित गरिरहेका छन्। ऋण उठ्न छाडेपछि कानुनत: ऋण असुलीका लागि बैंकहरुले ३५ दिने सूचना जारी गरेका हुन्।

त्यसअघि फोन गरेर, घर अथवा कार्यालयमा भेट्न गएर बैंकका कर्मचारीहरुले ऋणीलाई पैसा भुक्तानी गर्न दबाब दिन्छन्। यो सबै काम रिकभरी विभागले गर्नुपर्छ।

ऋण उठ्न छाडेको तथ्यांकले नै देखाएको छ। पोहोर सवा एक प्रतिशत रहेको खराब ऋण अनुपात अहिले २.६३ प्रतिशत पुगेको छ। चैतमा अर्को एक प्रतिशत बिन्दुले बढेर साढे ३ प्रतिशत नाघ्ने बैंकहरुले बताउन थालेका छन्।

‘अहिले सक्रिय विभागमध्ये पर्छ रिकभरी,’ नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले भने, ‘महँगो ब्याजलगायतले ऋण उठ्न छाडेको छ। खराब ऋण अझै बढ्नेसक्ने देखिन्छ।’

ऋण उठ्न छाडेपछि बैंक तथा वित्तीय संस्थाहरुले रिकभरी विभागलाई ठूलो बनाउन थालेका छन्। जनशक्ति थपेर बैंकहरुले विभागलाई ठूलो बनाउन थालेका हुन्। यो विभागले बिहानैदेखि अबेर रातसम्म पनि काम गरिरहेका छन्।

‘अहिले नयाँ व्यापार व्यवसायभन्दा पनि ध्यान पुरानो ऋणमा दिनुपर्ने अवस्था छ,’ नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले भने, ‘व्यवसाय कम चलेका कारण कारोबार छैन। त्यसले गर्दा पुरानो ऋणमा समस्या पर्छ।’

पछिल्लो समय मर्जरमा गएका बैंकहरुले रिकभरी विभागलाई विस्तार गरेका छन्। यसबाहेकका अन्य ठूला बैंकले पनि रिकभरी विभागलाई विस्तार गरेका छन्।

सिभिललाई मर्जर गरेको हिमालयन होस् या नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) लाई मर्ज गरेको कुमारी, यी बैंकले रिकभरीलाई प्राथमिकतामा राखेका छन्, जुन कुरा उनीहरुको ३५ दिने सूचनाबाट पनि पुष्टी हुन्छ।

सेञ्चुरीलाई मर्ज गरेको प्रभु, मेगालाई गाभेको नेपाल इन्भेष्टमेन्ट, एनबि बैंकलाई गाभेको नबिलले पनि अहिले रिकभरीमा धेरै समय खर्चिरहेका छन्। बैंक अफ काठमाण्डूलाई गाभेको ग्लोबल आइएमइ बैंकले पनि रिकभरीलाई प्राथमिकतामा राखेको छ।

अहिले निर्माण क्षेत्र तहसनहस हुँदा ठेकेदार कम्पनीहरु कालोसूचीमा परिरहेका छन्। त्यो ऋण अहिले उठ्दैन। औद्योगिक उत्पादन घटेकाले त्यतातिरबाट पनि पैसा उठ्ने अवस्था कम भएर गएको छ। सिमेन्ट, डन्डीलगायत निर्माण क्षेत्रसँग सम्बन्धित रंग, धारा, बिजुलीका सामानजस्ता क्षेत्र पनि प्रभावित भएको छ।

विद्युतीय उपकरण, होम अप्लायन्स लगायतका क्षेत्र पनि प्रभावित भएको छ।

‘अहिले निर्माण बिग्रिएको छ। पर्यटक आएको जस्तो देखिए पनि त्यो क्षेत्रलाई धान्न सक्नेगरी आएका छैनन्। होटलहरु नै बिक्रीमा देखिन्छन्,’ बैंकर्स संघका एक पदाधिकारीले भने, ‘१/२ करोडका ऋण बिग्रिँदै आएकोमा असोजयता १०/१५ करोडका ऋणहरु बिग्रिरहेका छन्।’ उनका अनुसार, व्यापार क्षेत्र बिग्रिँदा समग्र क्षेत्र प्रभावित भएको छ। 

नियामक पनि कडा रूपमा प्रस्तुत भएको छ। ऋण नोक्सानी व्यवस्थापनमा राष्ट्र बैंक कठोर बन्दा खराब ऋण अनुपात बढ्न प्रोत्साहित भएको छ। नियमित ऋणमा मात्र होइन, राष्ट्र बैंकको टोली अनुगमनमा आउँदा पनि अनावश्यक हिसाबले विश्लेषण गरेर नोक्सानी व्यवस्थापन थपिदिइरहेका छन्। 

‘यसले त झन् गाह्रो हुने भयो,’ ती बैंकरले भने, ‘बजार पनि फेवरेबल छैन र नियामक पनि छैन।’

उनका अनुसार, ऋणको ब्याज सस्तो नहुन्जेलसम्म खराब ऋण बढ्ने अवस्था छ।

भर्खरै मात्र अन्तर्राष्ट्रिय मुद्रा कोषको टोलीले नेपालका १० ठूला बैंकको विदेशी कम्पनीबाट लेखारीक्षण गराउन सर्त राखेर गएको छ। त्यो टोलीले भनेजस्तो गर्दा खराब ऋणको मात्रा अझ बढ्ने छ।

‘अब त्यतातिरको पनि दबाब हुन्छ। त्यो दबाबले गर्दा नयाँ ऋण दिने होइन भएकै उठाउने तिर बैंकहरु फोकस हुनुपर्ने देखिन्छ,’ एक बैंकरले भने, ‘यसले गर्दा रिकभरी विभाग झनै सक्रिय हुन्छ र विस्तारित पनि।’