एडीबी र विद्युत प्राधिकरणको टोली तनहुँ जलविद्युत आयोजनामा, समयमै काम सक्न दियो निर्देशन

बिजमाण्डू
२०७९ चैत्र ८ गते १३:२१ | Mar 22, 2023
एडीबी र विद्युत प्राधिकरणको टोली तनहुँ जलविद्युत आयोजनामा, समयमै काम सक्न दियो निर्देशन


काठमाडौं। एसियाली विकास बैंक (एडीबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन गरेको छ।

Tata
GBIME
Nepal Life

एडीबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाको बाँध, भूमिगत विद्युत गृह, मुख्य सुरुङलगायतका संरचनहरुको निर्माण कार्यको अनुगमन गरेको हो।

टोलीले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवर्क्स), प्याकेज–२ (विद्युत गृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरु) र प्याकेज-३ (दमौली–भरतपुर २२० केभी प्रसारणलाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरुसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो।

निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ। आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ।
आयोजनामा सहुलितपूर्ण ऋण प्रवाह गरेको एडीबीको नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए।

‘मुख्यरुपमा प्याकेज–१ को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकाले निर्माण विधिमा ध्यान दिएर उपकरण तथा जनशक्ति थप गर्नुपर्ने आवश्यकता देखिन्छ,’ उनले भने।

प्राधिकरणका प्रबन्ध निर्देशक एवम् आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका अध्यक्ष घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकाले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिए।

‘बाँध निर्माणका लागि नदी फर्काउने तथा स्लोप कटान चुनौतीपूर्ण देखिन्छ। यसका लागि दक्ष जनशक्ति र उपकणहरु थप गरी कामलाई तीव्रताका साथ अगाडि बढाउनु पर्छ। आयोजनका तर्फबाट गर्नुपर्ने सहयोग र सहजीकरणमा हामी सधैं तयार छौं,’ घिसिङले भने।

तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए।
आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोंङ दा कर्पोरेसन, भियतनाम कालिका कन्स्ट्रक्सन नेपाल जेभीले गरिरहेको छ।

जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुईवटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्यहरु भइरहेका छन्। ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२ को वारपार गरी (ब्रेक थ्रू) कंक्रिट लाइनिङको काम भइरहेको छ।

प्योकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युत गृह, मुख्य सुरुङ, र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका काम गरिरहेको छ। विद्युत गृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ कार्य गरिरहेको बताइएको छ। टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ। पेनस्टक पाइप जडान तथा सर्ज ट्यांक निर्माण कार्य जारी रहेको छ। १४५६ मिटर मुख्य सुरुङमध्ये ७९० मिटर खन्ने कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ।

प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारणलाइन निर्माण गरिरहेको छ। प्रसारणलाइनका ९४ वटा टावरमध्ये ५१ वटा टावरको जग हालिएको छ। साथै, ३२ वटा टावर जडान, ०.९८८३ किमि तार तान्ने र ८ वटा टावरको जग संरक्षणको काम सकिएको छ। एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण कार्य र ६ स्थानमा जग हाल्ने काम भइरहेको बताइएको छ।

आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरेको छ।