चन्द्र ढकाल साथै राखेर उमेशलाल श्रेष्ठले भने, ‘चन्द्रजीको सारथी भएर उम्मेदवारी दिँदैछु’

बिजमाण्डू
२०७९ चैत्र ५ गते १३:०८ | Mar 19, 2023
चन्द्र ढकाल साथै राखेर उमेशलाल श्रेष्ठले भने, ‘चन्द्रजीको सारथी भएर उम्मेदवारी दिँदैछु’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले आफूले साना, मझौलादेखि ठूला व्यवसायीका समस्या सूक्ष्म तरिकाबाट बुझेकोले आफुले उम्मेदवारी दिन लागेको बताएका छन्।

Tata
GBIME
Nepal Life

‘महासंघको विधान अनुसार चैत २९ गतेपछि महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष हुनुहुन्छ,’ गोरखा उद्योग वाणिज्य संघको ४७ औं साधारणसभामा उनले भने, ‘उद्योगी व्यवसायीका समस्या समाधान गर्नका लागि चन्द्रजीको सारथी भएर काम गर्न अहिले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु।’

उनले अहिले महासंघको पुरानो साख जोगाउनुपर्ने समय आएको भन्दै त्यसका लागि चन्द्र ढकालको टीममा आफू वरिष्ठ उपाध्यक्ष भएर काम गर्न लागेको जिकिर गरे। श्रेष्ठले अहिले उद्योगी व्यवसायीहरु एक नभएकै कारणले निजी क्षेत्रको मुद्दामा चासो नदिएको भन्दै अबका दिनमा समग्र उद्योगी व्यवसायी एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताए।

‘अहिले हामी उद्योगी व्यवसायीहरु आन्दोलनमा छौं। तर, सरकारले हाम्रा माग सम्बोधन गर्न चासो देखाएका छैन,’ उनले भने, ‘देशको अर्थतन्त्र चलायमान बनाउन ७० प्रतिशतभन्दा बढी योगदान दिने निजी क्षेत्रलाई सरकारले उपेक्षा गर्नु भनेको हाम्रो दुर्भाग्य हो।’

अहिले देखिएको बैंक ब्याजदरको समस्या बैंक र ऋणीमा भन्दा पनि नियामक निकायले गर्दा भएको भन्दै उनले यस विषयमा तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्नुपर्ने बताए। ‘अहिलेको मुख्य समस्या नियामक निकायमा छ किनकि नियम कानून बनाउँदा सरकारले बैंकलाई बढी संरक्षण दिएको छ,’ उनले भने।

यसैगरी अहिले विश्वव्यापी रुपमा देखिएको आर्थिक मन्दीको समस्याले गर्दा नेपाललाई पनि ठूलो असर परेको र अबका दिनमा उद्योगी व्यवसायीको उधारो नउठ्ने समस्या पनि उत्तिकै बढ्दै गएको उनको भनाइ थियो।

‘हामी अहिले उधारोमा चलेका छौं। यदि त्यो रकम उठेन भने कसले जिम्मेवारी लिने?,’ उनले भने, ‘यस्ता समस्या समाधान गर्न महासंघले नेतृत्व गर्नुपर्छ तर मलाई लाग्न अहिले महासंघको कार्यशैली बहुसंख्यक उद्योगी व्यवसायीको हितमा छैन।’