नागरिक लगानी कोषलाई अनलाइन प्रणालीले वित्तीय कारोबार सहज, लगानीका क्षेत्र बढाउन जोड



२०७९ चैत्र ४ गते १५:१८
नागरिक लगानी कोषलाई अनलाइन प्रणालीले वित्तीय कारोबार सहज, लगानीका क्षेत्र बढाउन जोड


काठमाडौं। अर्थमन्त्रालयका राजस्व सचिव डा.रामप्रसाद घिमिरेले नागरिक लगानी कोषले सञ्चालन गरेको अनलाइन प्रणालीले कोषको कारोबारमा सहजता आएको बताएका छन्। कोषले ३३ औँ वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले विद्युतीय सरकारी लेखा प्रणालीबाट तथ्यांक लिन थालेपछि त्रुटि कम हुन थालेको बताए।

TATA
GBIME

प्रतिस्पर्धी संस्थाको तुलनामा कोषप्रति आकर्षण बढ्दो रहेको धारणा पनि उनले राखे। कार्यक्रममा कोष संचालक समितिका अध्यक्ष प्राडा.सूर्यबहादुर थापाले कोषले आफूलाई अझ सुदृढ बनाउदै राष्ट्रिय आकांक्षा पुरा गर्ने तर्फ काम गरिरहेको बताए।

मुलुकको आर्थिक वृद्धिदरमा टेवा पुर्‍या उन एवं रोजगारी सिर्जना गर्न कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार निर्माण जस्ता उत्पादनशील क्षेत्रमा लगानीलाइ विस्तार गर्दै लैजानुपर्नेमा उनले जोड दिए।

कोषका कार्यकारी निर्देशक रमण नेपालले चालु आर्थिक वर्षको पुस मसान्तसम्म कोषको खुद बचत परिचालन रकम २ खर्ब ६ अर्ब १९ करोड रुपैयाँ रहेकोमा उक्त अवधिमा कोषले २ खर्ब ५ अर्ब ६९ करोड रुपैया लगानी गरेको जानकारी दिए। कोषले लगानी गर्दा सुरक्षित र प्रतिफल मुखी राष्ट्रिय गौरव र प्राथमिकताका परियोजना छान्नुपर्ने विषयलाई प्राथमिकता दिई पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी बढाउदै आएको पनि उनले बताए।  

कोषको काठमाडौं उपत्यका बाहिर विराटनगर, पोखरा, बुटवल, अत्तरिया र सुर्खेतमा शाखा सञ्चालनमा रहेको जानकारी समारोहमा दिइयो।

प्रविधि प्रणालीमा व्यापक सुधारका लागि कोषले नयाँ सफ्टवेयर सञ्चालनमा ल्याइसकेको बताउदै नेपालले भने ‘राष्ट्रसेवक कर्मचारीहरुको कोषमा जम्मा गर्नुपर्ने रकम प्रणालीबाट सिधै जम्मा हुने व्यवस्था गरिएको छ। सबैलाई सापटी तथा अन्तिम भुक्तानी कनेक्ट आइपीएसमार्फत बैंक खातामा पठाउने व्यवस्था गरिएको छ। निजी क्षेत्र तथा अन्य संगठित संस्थाहरुको रकम संकलन अनलाइन प्रणालीबाटै गर्ने व्यवस्था मिलाइएको छ।’

कार्यक्रममा नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष सुरेश चालिसे र नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष देवनारायण गुरागाईले कोषले काम गर्नुपर्ने विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराए।   


Sunrise Bank