
काठमाडौं। इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियानका विजेतालाई प्रदान गरिने घर सार्वजनिक गरेको छ। इसेवाले ६ महिनाअघि ‘मेरो डिजिटल देश’ अभियान सुरुवात गरेको हो। यस अभियानमा इसेवा मनि ट्रान्सफरमार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले काठमाडौंमा घर जित्ने छन्।
कम्पनीले हालैमात्र विजेता बन्ने सेवाग्राहीलाई प्रदान गर्ने घर सार्वजनिक गरेको हो। ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर कम्पनीले बम्पर उपहारस्वरुप प्रदान गर्नेछ।
कम्पनीले यो योजना २ महिनाका लागि थप गरी २०८० साल जेठ ६ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त अवधिमा इसेवा मनी ट्रान्सफरमार्फत रकम पठाउँदा बम्परमा योजनामा स्वतः सहभागी हुने बताइएको छ।
‘विदेशमा रहनु भएका नेपालीहरुको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान गर्नको लागि यो योजना दुई महिना थप गरिएको छ,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘यो योजनामा उत्साहजनक सहभागिताका साथै उहाँहरुले अभियान केही थप गर्नका लागि गर्नुभएको अनुरोधलाई मध्यनजर गर्दै अवधि थप गरिएको हो। साथै यसबाट धेरैभन्दा धेरै नेपालीहरु काठमाडौंमा घर जित्ने मौकामा सहभागीसमेत हुन सक्नुहोस् भन्ने् हाम्रो कामना छ। बम्पर उपहारको छनोट प्रक्रिया २०८० साल जेठ १२ गते गरिने छ।’
इसेवा मनी ट्रान्सफरले इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। इसेवाले सेवाग्राहीलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा १ लाख १२ हजारभन्दा बढी क्यास प्वाइन्टमार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आएको छ।