सेयर बजार घट्दा ४ मर्चेन्ट बैंक नोक्सानीमा, अरु कम्पनीको पनि नाफा घट्यो

अन्जना सुवेदी
२०७९ चैत्र ३ गते ०७:३४ | Mar 17, 2023
सेयर बजार घट्दा ४ मर्चेन्ट बैंक नोक्सानीमा, अरु कम्पनीको पनि नाफा घट्यो

काठमाडौं। सेयर बजार खुम्चिँदा चालु आर्थिक वर्षको ६ महिनामा चार मर्चेन्ट बैंक नोक्सानीमा गएका छन्। धितोपत्र बोर्डले आस्वा शुल्क १० रुपैयाँबाट एक रुपैयाँमा झारेपछि ती बैंक थप समस्यामा परेका हुन्।

Tata
GBIME
Nepal Life

नेपाल धितोपत्र बोर्डका अनुसार सम्पन्न क्यापिटल, प्रोभिडेन्ट क्यापिटल, आर्क्स् क्यापिटल र गरिमा क्यापिटल नोक्सानीमा गएका हुन्। सबैभन्दा धेरै गरिमा क्यापिटल ७६ लाख ६४ हजार नोक्सानीमा छ। आर्क्स् २८ लाख ८ हजार, प्रोभिडेन्ट मर्चेन्ट २६ लाख ६१ हजार र सम्पन्न १० लाख ५५ हजार नोक्सानीमा छन्।

बोर्डमा २३ वटा मर्चेन्ट बैंकले पुससम्मको वित्तीय विवरण पेस गरेका छन्। चारबाहेक १९ वटा मर्चेन्ट बैंकको पनि नाफा खुम्चिएको छ।

ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले बिजमाण्डूसँग भने,’पहिला आइपीओको आम्दानी थियो। अहिले बोर्डको ढिलासुस्तीले आइपीओ नै छैन। आस्वा शुल्क १० रुपैयाँबाट १ रुपैयाँमा झरेको छ। त्यसैको प्रभाव हो यो।’

उनका अनुसार धेरैजसो कम्पनीको लाभांश घट्दा त्यसको प्रभाव पनि परेको छ। एनएमबि क्यापिटलकी सूचना अधिकारी स्मृति महर्जनले आर्थिक मन्दीको प्रभाव मर्चेन्ट बैंकमा परेको जिकिर गरिन्। उनले भनिन्,’आस्वाबाट आउने हाम्रो आम्दानी नै घटेको छ। बजार घट्दा म्यूचुअल फन्डबाट आउने आम्दानी पनि घटेको छ। साथै पछिल्लो समय सेबोनले कुनैपनि कम्पनीको आइपीओ निष्काशन गर्न स्वीकृति दिएको छैन। व्यवसाय नभएपछि नाफा घट्नु स्वभाविक हो।’

धितोपत्र बोर्डले लगानीकर्ताबाट सी-आस्वा शुल्क अधिकतम ५ रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्था गरेको छ। जसमध्ये धितो निष्काशन तथा बिक्री प्रबन्धकले त्यसबाट १ रुपैयाँ मात्रै लिन पाउँछन्।

वित्तीय विवरण अनुसार निष्कासन गरेका कम्पनीहरुको खुद नाफा १.७३ प्रतिशतदेखि ८६.१६ प्रतिशतसम्म घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म नबिल इन्भेष्टमेन्ट कम्पनीले सर्वाधिक नाफा कमाएको छ। गत वर्षको तुलनामा १.७३ प्रतिशतले नाफा घटेपनि कम्पनीले पुस मसान्तसम्म ५ करोड ९७ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ८ लाख नाफा आर्जन गरेको थियो।

एनएमबि क्यापिटलले ४ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको तुलनामा ५३ प्रतिशतले कम हो। गत वर्ष कम्पनीले ९ करोड ३१ लाख बढी नाफा कमाएको थियो।

गत वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म एनआइबीएल एस क्यापिटलको नाफा ६५.५५ प्रतिशत, सानिमा क्यापिटलको नाफा २४ प्रतिशत, लक्ष्मी क्यापिटलको २१ प्रतिशत र बिओके क्यापिटलको नाफा २४ प्रतिशतले घटेको छ।