
काठमाडौं। लगानीकर्तासँग पैसा नहुँदा म्युचुअल फण्ड अंकित मूल्य १० रुपैयाँ भन्दा कममा आएको छ। अंकित मूल्य भन्दा कममा आएपनि लगानीकर्ता छैनन्।
सानिमा इक्विटी फण्ड र सानिमा ग्रोथ फण्ड बाहेक बाँकी सबैको पछिल्लो कारोबार मूल्य १० रुपैयाँभन्दा कम छ। अंकित मूल्य पनि नपाउँदा योजनाहरु भारी छुटमा उपलब्ध हुन थालेका छन्। तर खरीदकर्ता किन्न लालायित छैनन्।
मागै नहुँदा प्राय: सबै म्युचुअल फण्ड प्रति इकाई खुद सम्पत्तिको मूल्य(न्याभ) भन्दा कममा कारोबार हुँदैछन्। झन्डै २४ प्रतिशतको छुट मूल्यमा पाउँदा पनि योजनाहरुको मूल्य १० रुपैयाँ भन्दा कम छ।
२३.८५ प्रतिशतको डिस्काउन्ट रेटका कारोबार हुँदै गरेको सनराइज ब्लुचिप फण्डको पछिल्लो कारोबार मूल्य ७.९ रुपैयाँ छ। त्यही योजनाको न्याभ ९.५८ रुपैयाँ पुगेको देखिन्छ।
सर्वाधिक १२.४५ रुपैयाँ न्याभ रहेको सानिमा इक्विटी फण्ड प्रति इकाई मूल्य १० रुपैयाँ माथि छ। साढे १० रुपैयाँमा किनबेच हुँदै गरेको सो योजना अहिले १५.६६ प्रतिशत छुटमा किन्न सकिन्छ।

कोष व्यवस्थापकहरु नेपालमा पुँजीगत लाभ खोज्ने लगानीकर्ताको बाहुल्यताले म्युचुअल फण्डको प्रतिको आकर्षण न्यून देखिएको विश्लेषण गर्छन्। ‘हाम्रो सेयर बजारमा लगानीकर्ता लाभांशभन्दा पुँजीगत लाभ बढी चाहन्छन्। म्युचुअल फण्डको कारोबारमा पुँजीगत लाभ त्यति प्रभावकारी देखिँदैन,’ एनआइसी एसिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले भने।
सीइओ रायमाझीका अनुसार बन्दमुखी योजना नेपालमा मात्रै नभएर विश्वव्यापी रुपमै प्राय २० प्रतिशतको छुटमा किनबेच हुने गर्छन्। भन्छन्,’प्रतिफलको समय नजिकिए लगत्तै माग बढेर योजना प्रिमियममा कारोबार हुन थाल्छन्।’
यसबीच ३२ सय नाघेको सेयर परिसूचक समायोजन भएर १९३८.६२ को विन्दुमा सीमित छ। झन्डै १३०० अंक बजारले गुमाइसक्यो। लगानीकर्ताको खर्बौ पुँजी क्षयीकरण भएको अवस्था छ। तर लगानीकर्ता म्युचुअल फण्डलाई बजारको उतारचढावलाई थेग्ने उपकरण बाहेकको उपयोग देख्दैनन्।
प्रोफेशनलहरु द्वारा सञ्चालित म्युचुअल फण्डमा लगानीकर्ताको इच्छा घट्नु आफैमा असामान्य रहेको विश्लेषकको टिप्पणी छ। बजार अनुकुल लगानी रणनीति बनाउनेहरु प्रतिको अविश्वाशले सेयर बजारमा अपरिपक्क लगानी भित्रिने उनीहरु बताउँछन्।
बन्दमुखीको तुलनामा लगानीकर्ताको झुकाब खुलामुखिीयोजनामा बढि हुने तर्क गर्छन्। ‘ खुलामुखी योजना पूर्णतया न्याभ मूल्यमा कारोबार हुन्छ। जसलाई बजारको घटबढले कुनै फरक पर्देन,’ सीइओ राइमाझीले भने, ‘नेपाली बजारमा खुलामुखी योजनाको गतिविधि कम देखिएपनि अन्तर्राष्ट्रिय बजारमा यी योजनाहरुलाई बढी तरल र कारोबार योग्य मान्ने प्रचलन छ। योजना व्यवस्थापकबाट सहजै खुलामुखी कारोबार हुन्छ।’
बन्दमुखी योजनाको समयावधि सकिए लगत्तै खुलामुखीमा रुपान्तरण हुने अन्तर्राष्ट्रिय अभ्यास नेपालको सेयर बजारमा नहुँदा पनि लगानी उन्यत्र पलायन हुन थालेको उनको बुझाइ छ। भारतीय सेयर बजारमा पनि सो अभ्यास भेटिन्छ। भारतमा ३० अर्ब ८८ करोड भारुको कोष रहेको बन्दमुखी एचडीएफसी म्युचुअल फण्ड खुलामुखीमा परिणत भएको थियो।
यस्तो व्यवस्थाले नयाँ लगानीकर्ताहरू योजनामा थप लगानी गर्न अनुमति पाउँछन्। त्यही खुलामुखी योजनालाई बन्दमुखी योजनामा रुपान्तरण गर्ने व्यवस्था विभिन्न मुलुकमा भएको पाइन्छ।