
काठमाडौं। यातायात व्यवस्था विभाग फागुनसम्म सबै सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न असफल भएको छ।
विभागले गत मंसिरमा नै सूचना जारी गरेर फागुनसम्म सबै सरकारी गाडीमा इम्बोस्ड जडान गर्ने घोषणा गरेको थियो। तर जम्मा ८ हजार सरकारी गाडीमा मात्रै इम्बोस्ड जडान भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक २८ गतेको बैठकले संचालन रहेका सबै सरकारी स्वामित्वका सवारीसाधनमा फागुनसम्म इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने निर्णय गरेको थियो।
त्यसपछि आम नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनिवार्य गर्ने योजना विभागको रहेको थियो। सरकारी गाडीले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसुची २ अनुसार निर्णय भएको थियो।
विभागका अनुसार ठेक्का भएदेखि अहिलेसम्म ६ वर्षको अवधिमा कुल ४२ हजार ८ सय ७३ सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान भएको छ।
ती कर्मचारीका अनुसार तर फागुनसम्म लगभग ८ हजार सरकारी सवारीसाधानमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ। बागमतीमा ७ हजार १ सय १७, गण्डकीमा ३ सय ९६ र लुम्बिनी प्रदेशमा सरकारी सवारीतर्फ २ सय ३८ सवारीमा मात्र जडान गरिएको छ। हाल बागमतीमा, गण्डकी र लुम्बिनी प्रदेशमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ।
सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नभएको विभागका निर्देशक इन्जिनियर रामचन्द्र पौडेलले बताए।