संस्थागत निक्षेपकर्ताको ब्याज घटाएर ऋण सस्तो पार्ने प्रधानमन्त्रीको आश्वासनपछि आन्दोलन स्थगित

बिजमाण्डू
२०७९ फागुन ३० गते १९:४४ | Mar 14, 2023
संस्थागत निक्षेपकर्ताको ब्याज घटाएर ऋण सस्तो पार्ने प्रधानमन्त्रीको आश्वासनपछि आन्दोलन स्थगित


काठमाडौं। ऋणको ब्याजदर एकल अंकमा हुनुपर्ने मागसहित राष्ट्र बैंकको कार्यालय घेरिरहेका व्यवसायीलाई प्रधानमन्त्रीले ब्याज घटाउने आश्वासन दिएपछि बुधबारबाट आन्दोलन फिर्ता हुने भएको छ।

Tata
GBIME
Nepal Life

मोरङका व्यवसायीहरुले गत शनिबार पत्रकार सम्मेलन गर्दै आफ्नो मागहरु सार्वजनिक गरेका थिए। आइतबारदेखि आन्दोलन थालेका उनीहरुले दुई दिनयता बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रिय कार्यालय घेराउ गर्न थालेका थिए।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले व्यवसायीलाई डाकेर ब्याज घटाउने आश्वासन दिएका छन्। प्रधानमन्त्री दाहालले संस्थागत निक्षेपकर्ताको ब्याज दर कम गरेर भएपनि ऋणको ब्याज घटाउने आश्वासन दिएका हुन्।

त्यसपछि मोरङका उद्यमी-व्यापारी मत्थर भएका हुन्।  उनीहरुले बुधबारबाट आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। चर्को ब्याज दरले ब्यापार ब्यवसाय बन्द भएको, आम्दानी नभएका कारण ऋण तिर्न सकस भएको उनीहरुको भनाइ थियो।

बैंकहरुले पनि निक्षेपको ब्याज दर घटाउन थालिसकेका छन्। चैतबाटै बैंकहरुको निक्षेपको ब्याज दर घट्दैछ। निक्षेपको ब्याज दर कम भएपछि आधार दर घटेर ऋण पनि सस्तो हुन्छ।

अहिले साधारण मुद्दतिको ब्याज जति हुन्छ संस्थागतको बढिमा दुई प्रतिशत बिन्दु कम गर्नु पर्ने ब्यवस्था छ। अहिले बाणिज्य बैंकहरुले साधारण मुद्दतिमा  ११ प्रतिशत ब्याज दिइरहेका छन्। यस हिसाबले संस्थागत निक्षेपकर्ताले ९ प्रतिशत ब्याज पाउने छन्।

प्रधानमन्त्री दाहालले संस्थागत निक्षेपकर्तालाई दिने ब्याज दर अझ घटाउने बताएका हुन्। संस्थागत निक्षेपकर्ताका रुपमा सरकारी निकाय कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सार्वजनिक संस्थानहरु, नेपाली प्रहरी, नेपाली सेना, विभिन्न कल्याणकारी कोष, नेपाल टेलिकमलगायतले बैंकमा पैसा राखेका हुन्छन्।

निजी क्षेत्रबाट बीमा कम्पनी, बिभिन्न निजी क्षेत्रका कम्पनीहरुले पनि पैसा राखेका हुन्छन्। प्रधानमन्त्रीले प्रतिबद्धता जनाएजस्तो निजी क्षेत्रको कम्पनीहरुको ब्याज घटाउन राष्ट्र बैंकले नै निर्देशन जारी गर्नु पर्छ। सरकारी संस्थानहरुको ब्याज घटाउन सरकारी पहलले मात्र संभव हुँदैन। अन्तत: ब्याजको निर्णयमा राष्ट्र बैंकले नै सघाउनु पर्ने हुन्छ।