डिजलमा मट्टितेल मिसावट गर्ने ४ वटा ट्यांकरलाई ६ महिना ढुवानी गर्न निषेध

बिजमाण्डू
२०७९ फागुन २८ गते ०७:४६ | Mar 12, 2023
डिजलमा मट्टितेल मिसावट गर्ने ४ वटा ट्यांकरलाई ६ महिना ढुवानी गर्न निषेध

काठमाडौं। ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट गर्ने ४ वटा ट्यांकरलाई ६ महिनासम्मको लागि कुनै पनि ढुवानी गर्न निषेध गरिएको छ।

Tata
GBIME
Nepal Life

नेपाल आयल निगमको केही दिन अघि बसेको बैठकले डिजलमा मट्टितेल मिसावट गर्ने ४ वटा, ढुवानी व्यवसायी र चालकहरुलाई कारबाही गर्ने निर्णय गरेको हो।

निगम उपनिर्देशक विनितमणि उपाध्यायका अनुसार उक्त निर्णय अनुसार ४ वटा ट्यांकरलाई ६ महिनासम्मको लागि ढुवानीमा रोक लगाउने र चालक तथा सह-चालकलाई आजीवन निगमको ट्यांकर चलाउन रोक लगाइएको छ।

कारबाहीमा पर्नेहरुमा नवदुर्गा आयल स्टोर्सको नाममा रहेको मे १ ख २१४९, माता पाथीभरा आयल स्टोर्सको नाममा रहेको मे १ ख २१५१, उत्तरगंगा यातायात प्रालिको नाममा रहेको ना ७ ख १५०७ र रिजाल आयल सप्लायर्स एन्ड ट्रेडर्सको नाममा रहेको ना ७ ख ६९७४ नम्बरको ट्यांकर रहेका छन्।

यस्तै, चालकहरुमा रचित भट्टराई, डिल्लीराम हुमागाई, विनोद भट्टराई र बिकिरण राई रहेका छन्। यसैगरी, सहचालकहरु प्रज्वल बस्नेत, राजेश मण्डल, प्रदीप श्रेत्री र मनोज कुमाल रहेका छन्। यी ८ जना चालक तथा सहचालकले आजीवन निगमको ट्यांकर तथा ढुवानी गर्न नपाउने गरी निलम्बन गरिएको उपाध्यायले बताए। उनका अनुसार हाल एक जना चालकलाई प्रहरीकोमा जिम्मा लगाइएको र ३ जना चालक अझै फरार रहेका छन्।

मट्टितेल मिसावटको कारण डिजलको गुणस्तरमा खस्किने भएकाले निगमलाई यसबाट हुने आर्थिक नोक्सानी ढुवानीकर्ताबाट असुल उपर गर्ने उपाध्यायले बताए।

फागुन १३ गते भारतको सिलिगुडीबाट झापाको चारआली डिपोमा ल्याइएको ४ वटा ट्यांकरमा भएको ८० हजार डिजलमा चालकको मिलेमतोमा मट्टितेल मिसावटको शंका लागेपछि कारबाही र परीक्षणको प्रक्रिया अगाडि बढाइएको थियो।

घटनाको छानबिन गर्न निगमले ३ सदस्यीय समिति गठन गरेको थियो। सो समितिले नेपाल आयल निगमको केन्द्रीय ल्याबमा नमुना परीक्षण गर्दा ८० हजार लिटर डिजलमा मट्टितेल मिसावट भएको प्रमाणित गरेको थियो।

त्यपछि निगमले ४ वटा ट्यांकर चालक र ढुवानी व्यवसायीलाई कारबाही गर्ने तयारी थालेको थियो।