अरुण-३ जलविद्युतमा उच्चस्तरीय भ्रमण, ‘अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्छ’

बिजमाण्डू
२०७९ फागुन २५ गते १७:४५ | Mar 9, 2023
अरुण-३ जलविद्युतमा उच्चस्तरीय भ्रमण, ‘अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्छ’

काठमाडौं। नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो-प्यासिफिक) एने-म्यारी ट्रेवेलियनले निर्माणाधीन ९०० मेगावाटको अरुण ३ जलविद्युत परियोजनाको भ्रमण गरेकी छन्।

Tata
GBIME
Nepal Life

उनले संखुवासभामा निर्माण भइरहेको परियोजनाको विद्युत गृहस्थल तथा ट्रान्सफर्मर बेको अवलोकन गरेकी छन्। उनले नेपालले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा अभुतपूर्व उपलब्धी हासिल गर्ने तर्फ अघि बढेको भन्दै खुसी व्यक्त गरिन्।

उनले जलविद्युत उत्पादनमा नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभको चर्चा गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्वपूर्ण भूमिका रहेको चर्चा गरिन्।

अरुण-३ जलविद्युत परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले विकासको काम गरिरहेको छ। परियोजनाको उत्पादन तर्फको हालसम्मको भौतिक प्रगति करिब ६१.२ प्रतिशत छ।

विकासकर्ता स्वयमले परियोजना विद्युत गृहदेखि भारतको सीतामढीसम्म ४०० केभी क्षमताको कुल २५३ किमी लामो अन्तरदेशीय प्रसारणलाइन निर्माण गरिरहेको छ र सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

परियोजनास्थल भ्रमणका क्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण-३ जलिवद्युत परियोजना नेपालमा ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण कोशेढुंगा भएको बताए।

उनका अनुसार लगानी बोर्डले कोभिड- १९ महामारीको कठिन समयमा पनि परियोजना कार्यान्वयन जारी राख्‍न आवश्यक सबै सहजीकरण गरेको थियो। उनले लगानी बोर्डलाई मित्र राष्ट्र बेलायतले दिँदै आएको सहयोगको प्रशंसा गरे।

ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठुला जलविद्युत परियोजनाहरूले यस क्षेत्रको विद्युतको माग सम्बोधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे। उनले क्षेत्रीय विद्युत व्यापारलाई सार्थक बनाउन दक्षिण एसियाली देशहरूबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए।

अरुण-३ जलविद्युत परियोजनास्थल उच्चस्तरीय भ्रमण टोलीमा राज्यमन्त्री ट्रेवेलियन सहित नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिट, एफसीडीओ डेभलपमेन्ट डाइरेक्टर पीपा बर्ड, लगानी बोर्ड नेपाल तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो।