
काठमाडौं। अन्नपूर्ण हेलिकोप्टर २० करोड रुपैयाँमा बिक्री भएको छ। पर्यटन व्यवसायी ज्ञानेन्द्र श्रेष्ठले यो कम्पनी किनेका हुन्। यो कम्पनी दोस्रो पटक बिक्री भएको हो।
यसअघि सुरज लामाको समूहले रविन्द्र बस्नेतलाई यो कम्पनी बेचेका थिए। पर्यटन मन्त्रालयबाट उडान इजाजत पाएको पाँच वर्षमा दुई पटक कम्पनी बिक्री भइसकेको छ।
‘सुरुमा यो कम्पनीले एनओसी पाएलगत्तै रविन्द्र वस्नेत लगायत समूहलाई विक्री गरिएको थियो। अहिले यो कम्पनी पुनः विक्री भएको छ,’ प्राधिकरणका एक अधिकारीले भने,’यो वर्ष व्यवसाय गर्न चुनौतिपूर्ण रहेको व्यवसायीले बताएका छन्। उडान संचालन नै गर्न धौधौ भएपछि कम्पनी बिक्री भएको हो।
यस अघि डेमोन्स्ट्रेशन फ्लाइटको चरणमा रहेको रोयल त्रिलोक हेलिकोप्टर विक्री भएको थियो। रोयल त्रिलोक गत माघको अन्तिम सातामा विक्री भएको हो।
प्राधिकरणबाट नो अब्जेक्शन सर्टिफिकेट ‘एनओसी’ पाइसकेको यो कम्पनी डमोन्स्ट्रेशन फ्लाइटको चरणमा रहेको थियो। ‘यो हेलिकोप्टर कम्पनी नाम ‘त्रिलोक’ नाम हटाएर मारवाडी समुदायले छुट्टै नाम दिएर संचालनमा ल्याउने तयारी गरेको जानकारी आएको छ,’ प्राधिकरणका एक कर्मचारीले भने।
यो कम्पनीले तीन वर्षअघि लाइसेन्स पाएको थियो। विराटनगरका अनिल गौतमले पर्यटन मन्त्रालयमा हेलिकोप्टर चलाउने भन्दै आवेदन दिएका थिए।
तीन हेलिकोप्टर लाइसेन्स प्रक्रियामा
एकातिर व्यवसाय नभएर कम्पनी बिक्री भइरहेको छ भने अर्कोतिर हेलिकोप्टरको लाइसेन्सका लागि आवेदन दिनेको पनि लर्को लागिरहेको छ।
पर्यटन मन्त्रालयमा सगरमाथा, धौलागिरी, ग्रीन हेलिकोप्टर कम्पनीको लाइसेन्स प्रक्रिया अगाडि बढिरहेको छ। मन्त्रालयले ती कम्पनीको आर्थिक तथा प्राविधिक अध्ययन गरिरहेको छ। स्रोतका अनुसार कतिपय व्यक्तिले राजनीतिक लविङका आधारमा लाइसेन्स लिने र पछि बिक्री गर्ने काम पनि भइरहेको छ।
‘अहिले संचालनमा रहेका कम्पनीलाई पनि संचालन खर्च धान्न कठिन छ। ९ वटा कम्पनीको ३० वटा हेलिकोप्टर छ,’ एक पूराना हेलिकोप्टर व्यवसायीले भने, ‘सिजनका बेलामा व्यापार गरेर बस्नुपर्ने अवस्था छ। यस्तो अवस्था देख्दादेख्दै हेलिकोप्टरको अनुमति माग्दै आवेदन दिने काम भइरहेको छ। यो भनेको लाइसेन्स लिएर बिक्री गर्ने प्रवृति हावी भएको हो।’