धरान एक्स्पोमा पर्यटनमन्त्रीले दिए मौलिक पर्यटनमा जोड, धार्मिक स्थल र सप्तकोशीलाई उपयोग गर्नुपर्ने

बिजमाण्डू
२०७९ फागुन २१ गते ११:१५ | Mar 5, 2023
धरान एक्स्पोमा पर्यटनमन्त्रीले दिए मौलिक पर्यटनमा जोड,  धार्मिक स्थल र सप्तकोशीलाई उपयोग गर्नुपर्ने


काठमाडौं। सुनसरी उद्योग वाणिज्य संघले धरान पर्यटन प्रवर्द्धनलक्षित ‘धरान एक्स्पो २०७९’ आयोजना गरेको छ। एक्स्पोको समापनका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले धरानमा  नेपाली मोडलको पर्यटनमा जोड दिनुपर्ने बताए।

Tata
GBIME
Nepal Life

उनले पूर्वका धार्मिक स्थल र सप्तकोशी जलमार्गलाई उपयोग गर्दै धरानलाई पर्यटन हब बनाएर स्वदेशी उत्पादनको बजारीकरण गर्न आवश्यक रहेको धारणा राखे। धरान व्यापारिक र पर्यटन केन्द्र भएकाले पर्यटनको हबको रूपमा विकास गरी त्यसलाई स्वदेशी उत्पादनको बजारीकरणको केन्द्र पनि बनाउन सकिने उनको भनाई छ।

‘यस भेगका उत्पादनको आफ्नो स्वाद र संस्कार संस्कृतिको रूपमा नेपाली मोडल बनाएर नेपाली उत्पादनलाई बजारीकरण गर्न आवश्यक छ। नेपाली स्रोत साधनलाई सामूहिक रूपमा सञ्चालन गर्दै प्रविधि मैत्री किसान, उद्यमी, व्यापारी सबै पर्यटनको दिगो विकासमा लाग्न आवश्यक छ।’ मन्त्री किराँतीले भने।

यसैगरी पूर्वमन्त्री मीन विश्वकर्माले धरानमा लगानी पलायन हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले उद्योगी व्यवसायीलाई स्थानिय उत्पादनको ब्राण्डिङमा समेत जोड दिन सुझाव दिए।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले धरान क्षेत्रको विकासको लागि एकीकृत अवधारणा आवश्यक रहको बताए। पर्यटन  विकासका लागि पूर्वको स्थानीय परिकारसँगै समग्र पर्यटन प्रवर्द्धनमा पर्यटन बोर्डले विभिन्न कार्यक्रम गर्दै आएको जानकारी दिए।

यो क्षेत्रमा हिल स्टेशनको अवधारणा अनुसार पूर्वाधार विकास गर्न सके छिमेकी मुलुकबाट थुप्रै पर्यटक नेपाल ल्याउन सकिने उनले बताए।

यसैगरी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले उत्पादनमुखी व्यापार, व्यवसायीले लगानी गरेर कमाएको पुँजीलाई धरान बाहिर लैजान नपाउने नियम बन्न आवश्यक रहेको बताए।

फागुन ११ गतेदेखि शुरु भएको एक्पोमा पर्यटन सम्बद्ध १५ सहित विभिन्न १३० वटा स्टल रहेको सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए।